‘वडालाई बजेटकै कमी छ’ (अन्तर्वार्ता)

भुपेन्द्र बराल इटहरी उपमहानगरपालिका वार्ड नं. ९ का वडाध्यक्ष हुन् । वडाध्यक्षको रुपमा जिम्मेवारी सम्हालेको डेढ वर्षपछि वडाको प्रगती र अन्य विषयमा उनीसँग न्यूजलयकी सरिता भण्डारीले गरेको कुराकानीको सार प्रस्तुत गरिएको छ:
आजभोली के गर्दै हुनुहुन्छ ?
आजभोली म वडामा बसेर ९ नम्बर वडाका जनताहरुको कार्य अगाडी बढाउँदै छु ।
वडाको विकासको अवस्था कस्तो छ ?
पहिलेको भन्दा धेरै राम्रो भएर आएको छ । हामीले गर्नुपर्ने कामहरु गर्दैछौँ । नगरबाट आएको बजेटलाई परिमार्जन गर्दैछौं । नयाँ बजेटहरु बनाउँदै छौँ र यसलाई कार्यान्वयन गर्दैछौं ।
कुन कुरालाई पहिलो प्राथमिकता दिनु भएको छ ?
हाम्रो पहिलो प्राथमिकता बाटो रहेको छ । यसलाई हिलो मुक्त बनाउनलाई ग्राभेल गर्दैछौं । काँही काँही टाली ओछ्याउने पिच गर्ने पनि गर्दैछौं ।
अहिले वडाका समस्याहरु के के छन् ?
वडाका समस्याहरु धेरै छन् । बाटो निर्माणको लागि बजेटको कमि छ । सिंहदरबारको अधिकार घर गाउँमा भनेको थियो त्यो परिपुर्ती हुन सकेको छैन । हामीसँग इन्जिनियर, सब–इन्जिनियरहरु, अमिनहरु सबै कुरा हुनु पर्छ । त्यो कुरा अहिले सम्म भएको छैन । वडा कार्यालयको भवन निर्माण भएको छैन ।
वडाको विषयलाई लिएर को कोसँग के के आग्रह गर्नु भएको छ ?
हाम्रो पहिलो बाटो भनेको नगरपालिका नगर प्रमुख, उप प्रमुख, प्रदेश केन्द्रहरुलाई हामी माग तथा आह्वान गर्छौ । हाम्रो माग गर्ने पहिलो माध्यम भनेको नगरपालिका नै हो । नगरपालिकाकै संयोजनमा हामी अगाडी बढ्छौँ ।
के भयो भने वडाको विकास चाँडो हुन्छ ?
सबैभन्दा पहिलो कुरा त वडामा बजेट आउनु प¥यो । अहिले अर्थको नै कमि भएको छ । धेरै पहिलेका समस्याहरु धेरै छन् । बाटाहरु बिग्रेका छन् । ती बाटाहरुलाई बनाउनु पर्ने पिच गर्नु पर्नेछ । बिजुली बत्ति, पानीको व्यवस्थापन, शिक्षाका कार्यक्रमहरु ल्याउनुपर्ने छ । त्यस्तै अस्पतालहरु चाहियो, यस्तै यस्तै थुप्रै विकासका कार्यहरुछन् ।
अन्य वडाभन्दा ९ नं. वडामा के विकास भएको छ ?
हामीले बाटो बनाउने, हिँडन अफ्ठ्यारा बाटाहरुलाई ग्राभेल बनाउने कार्यहरु गरिरहेका छौँ । ती कार्यहरु तीव्र गतिमा भइरहेका छन् । यो इटहरी हस्पिटललाई धेरै सुधारिएको अवस्था छ । जनता मा.वि.लाई बजेट आएको छ । त्यहाँ हामीले सि.सि क्यामेराहरु पनि जडान गरेका छौँ ।
अन्त्यमा कसलाई के भन्न चाहनुहुन्छ ?
अहिले सम्म भएका कामहरु राम्रै भइरहेका छन् भन्ने हामीले अपेक्षा गरेका छौँ । वडावासीबाट सकारात्मक सहयोगको अपेक्षा राख्दछौं ।