​‘प्रहरीको विकल्प खोजेरै भए पनि बगरकोटलाई सुरक्षा दिनुपर्छ’

Newslaya Home

​‘प्रहरीको विकल्प खोजेरै भए पनि बगरकोटलाई सुरक्षा दिनुपर्छ’

-दिनेश गजमेर
आइतबार १५, पुष २०७५

व्यवसायीहरु धरानमा लगानी गर्न चाहन्छन् तर सुरक्षा नै चुनौतीका रुपमा रहन्छ । बदलिदो समय संगै धरानले नाईट लाईफ खोजिरहेको छ, नाईट लाईफका लागि व्यवसायीहरु करोडौं रुपैया लगानी गरेर व्यवसाय संचालन गर्न पनि तयार छन् तर सुरक्षाको अनुभुति खोजिरहेको छ ।

पछिल्लो सयम धराने युवाहरु तथा बाहिरबाट आएका पाहुनाहरुका लागि रमाईलो गन्तव्य बगरकोट बनेको छ । आधुनिक किसिमका रेष्टुरेन्टहरु संचालनमा छन्, अझै थपिने क्रम पनि बढ्दै गएको छ । सेकुवा व्यापारले चर्चा बढाएको बगरकोटमा सेकुवा व्यवसायीहरुले करोडौं रुपैयाको लगानी गरेका छन् । 

वगरकोटमा हिजोआज खुलेका लाउञ्ज एण्ड बारले काठमाण्डौको ठमेल भन्दा कम लाग्दैन । एका तिर व्यवसायीको लगानी बढ्दै गएको छ अर्को तिर सुरक्षा प्रदान गर्न नसक्ने भन्दै सुरक्षाकर्मीहरु रातको १० बजे देखि नै बन्द गराउँदै हिड्ने गरेका छन् ।

धरानले बगरकोटलाई  नाईटलाईफ को रुपमा खोजिरहेछ । साँझ पर्न थाले पछि बगरकोटमा भिड बढ्न थाल्छ, रेष्टुरेन्ट, होटलहरुको व्यवसाय शुरु हुन्छ । साँझ ५ बजे देखि संचालन भएका रेष्टुरेन्टहरु करिब ६ घण्टा संचालन भए पछि व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गर्न बाध्य हुन्छन् । 

कारण प्रहरीको अल्टिमेटम समय नै रातको ११ बजे भएकाले । रेष्टुरेन्ट भित्र खादै गरेको ग्राहकहरु पनि प्रहरीको डरले खाना नै नसकि निस्कन बाध्य बन्छन् । प्रहरीको साथ र सहयोग भएमा बगरकोट पर्यटनका लागि मुख्य आकर्षणको केन्द्र बन्न सक्ने त्यहाँका व्यवसायीहरुको अपेक्षा छ तर प्रहरी भन्छ रातको ११ कटयो भने पक्राउ परिन्छ । 

बगरकोटलाई नाईट लाईफको रुपमा विकाश गरिने र धरानको भानुचौंकमा नाईट मार्केटको चर्चा भर्खर मात्रै चर्चा पाएको होईन् । डेढ वर्ष अघि धरान उपमहानगरपालिकाले जनप्रतिनिधी पाए संगै नाईटलाईफ र नाईट मार्केटको चर्चा चलेको हो । 

तत्कालिन प्रमुख स्व. तारा सुब्बाले भानुचौंकमा नाईट मार्केट चलाउने र एकिकृत रुपमा धरानकै नाईट लाईफको रुपमा बगरकोटलाई विकाश गर्ने अवधारण माथि बहस चलाएका थिए । त्यसैलाई अहिलेका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले पनि बेला बेला नाईट लाईफ र नाइट मार्केटको चर्चा चलाउने गर्नुभएको छ ।  

गत पुष ६ गते एमएच बिबिक्यु हाउसमा भएको च्यारिटीका लागि सांगितिक कार्यक्रमलाई उदघाटन गर्दै कार्यवाहक प्रमुख भण्डारीले भनेकि थिईन्, बगरकोटलाई नाईट लाईफको रुपमा विकाश गरिनेछ । सोही च्यारिटी कार्यक्रमबाट उठेको रकम हस्तान्तरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले भने ‘कुनै पनि हालतमा ११ बजे भन्दा पछि बगरकोट चलाउन पाईन्दैन्, व्यवसाय चल्न ६ घण्टा धेरै नै हो ।’ 

कवितामा लय हाल्दै अझ थर्काए, ‘अबेर गरे परिन्छ है फेला ।’ डिएसपी तिम्सिनाले जनशक्ति अभावको कारण वगरकोटमा मात्र चौबिसै घण्टा सुरक्षामा प्रहरी खटाउन नसकिने बताए । होटल एशोसिएशन मातहतका होटलहरु धरानमा राती ११ बजेसम्म खुला गर्न दिइएको भन्दै उनले ११ बजेपछि सबै होटलहरु बन्द गर्नुको विकल्प नभएको बताए । 

बगरकोटको चुनौती त्यहाँ आउने ग्राहकहरु हुन् कि प्रहरीले सुरक्षा दिन नसक्नु, बगरकोट व्यवसायीहरुको मनमा खेलिरहने प्रश्न हो । धरान आउने पर्यटकहरुका लागि करोडौं रुपैया लगानी गरेर पहिलो गन्तव्य बनाएका छन् । धरानको आर्थिक कारोबार हुने मुख्य बजार बनाएका छन् । 

संचालनमा रहेका साना ठुला गरि करिब २ सयको हाराहारीमा रेष्टुरेन्ट, होटल संचालन गरि करिब २ हजार युवाहरुलाई रोजगारी दिन सफल भएको छ । वार्षिक रुपमा धरान उपमहानगरपालिकालाई कर बुझाएको छ । तर पनि प्रहरीका अनुसार सुरक्षा दिन नसक्ने स्थान बनेको छ बगरकोट । 

पर्यटनको हब बनाएर आन्तरिक एवं बाह्य पर्यटकहरु भित्रयाउने र आर्थिकरुपमा समृद्ध हुने धरानको सपना हो । त्यसैले करिब २ बर्षअघि निवार्चित भएका जनप्रतिनिधिहरुले धरानको पर्यटन विकास र प्रर्वद्धनलाई जोड दिएका थिए । पछिल्लो समय वगरकोटका व्यवसायीहरुले मात्र होइन, जनप्रतिनिधि र धरानेहरुले महसुस बगरकोटलाई नाईट लाईफको रुपमा विकाश गर्न महशुष गर्दै आएका छन् । 

स्थानीय निकायको विकाश र समृद्धिको खाका कोर्ने अधिकार स्थानीय निकायले पाएको छ । स्थानीय सुरक्षाका लागि नगरप्रहरी परिचालन गर्न सकिन्छ । केही दिन अघि मात्रै धरान उपमहानगरपालिकाले २६ जना नगरप्रहरी परिचालन गरिसकेको छ । त्यसैले अब प्रहरीले सुरक्षा दिन सक्दैन भने उपमहानगरपालिकाले आफै सुरक्षा दिन सक्नुपर्छ ।

नगरप्रहरी परिचालन गरेर भए पनि सुरक्षीत वातावरणमा व्यापार व्यवसाय गर्ने अवसर धरान उपमहानगरपालिकाले व्यवस्था गर्नुपर्छ । सुरक्षाको नाममा आर्थिक समृद्धिलाई टेवा पुरयाउने संरचना तथा व्यापारमा प्रहरीले अवरोध पुरयाउने वातावरणको अन्त्य गर्न धरान उपमहानगरपालिकाको पहल आवश्यक छ । 

संघीयताले केन्द्रिकृत अधिकार जनताको घरदैलो सम्म पुरयाएको दाबी गरेको छ । तर महशुष कसरी गर्ने ? खुल्ला व्यापार व्यवसाय गर्न समयसिमा तोक्ने प्रहरीको गैह्र जिम्मेवारीलाई अधिकार महशुष भएको मान्ने हो र ?