शालिग्राम निरौलाको सम्झना

Newslaya Home

शालिग्राम निरौलाको सम्झना

- बाबुराम कार्की
सोमबार ०९, पुष २०७५

रामधुनी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक, समाजसेवी शालिग्राम निरौलाको २०७५ साल पुस १ गते सड्क दुर्घटनामा परि निधन भयो । सहकारीको कामले इटहरीतर्फ जाँदै गर्दा पचरुखीमा ट्याक्टरको ठक्करबाट घटनास्थलमै सदाको लागि यो संसारबाट विदा लिए ।  

घटनापछि एपेक्स हस्पीटलमा उनको शव लगियो । उनको मृत्युबारे कसैले विश्वास गर्न सकेनन् । जब उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवा लगियो, प्रकाशपुरबाट अस्पताल परिसरमा पुगेर प्रत्यक्ष हेरे पछि मात्र पत्याएका थिए ।

मृत्युको खबर सुने पछि दिन भर प्रकाशपुर बजारमा जम्मा भएका मान्छेहरु वेदनामा छटपटाइरहे । उनी लोकप्रिय सामाजिक व्यक्ति थिए । भोलिपल्टको शव यात्रामा सामेल भएका मानिसहरुको संख्याले पनि उनको लोकप्रियता प्रष्ट पारेको छ । 

उनको मृत्युले समग्र प्रकाशपुरलाई नै घाटा भएको टिप्पणी गरिए । 

जन्मेपछि मान्छे मर्छ, यो ध्रुव सत्य हो । तर, मृत्युले व्याक्तिलाई, परिवारलाई र समाजलाई कति असर पा¥यो, त्यो मुख्य कुरा हो । निरौलाको मृत्युका कारण उनकी श्रीमती गीता, भर्खर एघार पढ्दै गरेका छोरा र दुई छोरीले जीवनसाथी र अविभावक गुमाए । 

उनको मृत्युबाट निरौलाले गुन लगाएका धेरै मान्छेहरु मर्माहत भए । मलामीमा सामेल भएका मानिसहरुले उनले गरेका कामको वर्णन गरिरहेका थिए ।
प्रकाशपुर गाउँ नै गाउँले भरीएको विकासको लागी बामे सर्दै गरेको ठाउँ हो । यहाँका अधिकत्तर मानिसहरु कृषि पेशामा आद्ध छन् । प्रकाशपुरमा आज भन्दा १८ वर्ष अगाडी २०५७ सालमा पहिलो पटक बचत तथा ऋण सहकारी संस्था खुल्यो र बैकिङ्ग कारोवार गर्न थाल्यो । त्यही पहिलो सहकारी संस्था रामधुनी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक थिए, शालिग्राम । 

३ हजार ७ सय ३४ सदस्य रहेको संस्थालाई कुशल व्यवस्थापन गरेर लाने जिम्मेवारीलाई उनले गहनताका साथ निभाए । 

अहिले पनि गाउँ घरमा रामधुनी सहकारीलाई धेरैले बैक भन्छन् । प्रकाशपुरमा बैंक नहुँदा खुलेको सहकारीले बैककै काम गरेको थियो । सहकारीको संस्थापक व्यवस्थापक भएर काम गरेका निरौला सबैका विश्वासिला थिए । इमानदार, आँटिला र सबैसँग मिलनसार थिए । उनि गाउँमा भएका समूह समितिमा त्यत्ती नै सक्रिय थिए । त्यहि सहकारीको चेक साट्न इटहरी जाँदा सडक दुर्घटनामा परि भएको निधनले प्रकाशपुर, भोक्राहा, मधुवन र सिङ्गो बराहक्षेत्र नगरपालिका मर्माहत भएको छ । 

शालिग्राम निरौलाको व्यक्तित्व, मिलनसारिताबाट म पनि प्रभावित छु । त्यसैले उनको नामको अघि स्वर्गीय लेख्न हात मानिरहेकोे छैन । तर, मैले भावनामा बगेर स्वर्गीय नलेख्दैमा उहाँ जीवित हुने होईन । उनको प्राण शरीरबाट निस्किएर गएको हो, उनको शरिरलाई आगोले जलाएकै हो । उनकी श्रीमतीले पति वियोगको पीडा खप्नु परेकै हो । उनका छोरा र छोरीले अब बुबाको अविभावकत्व पाउँदैनन् र उनिहरु टुहुरा भएकै हुन् । 

शालिग्राम निरौला स्वर्गीय भएको यो क्षणमा बोधराज निरौला, देवराज मिश्र, महेन्द्र बहादुर खत्री, कसरी सहकारीको काममा लागि पर्नुहुन्छ होला ? झन्डै दुई दशकसम्म रामधुनी बचत तथा ऋण सहकारी संस्था र सामाजिक काममा लागेका शालिग्राम निरौला बराहक्षेत्र नगरपालिका र सुनसरी जिल्लामा परिचित थिए । स्वर्गीय शालिग्राम निरौलाको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।