​चतरामा आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न माग, प्रदेश १ मा योग तथा परम्परा चिकित्सा पढाइने

Newslaya Home

​चतरामा आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न माग, प्रदेश १ मा योग तथा परम्परा चिकित्सा पढाइने

बिहीबार ०७, असार २०७५

इटहरी । सुनसरीको चतराधाममा आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न माग गरिएको छ । 

बराहक्षेत्र नगरपालिकामा पर्ने चतरा धार्मिक तथा वैज्ञानिक महत्वले उपयुक्त ठाउँमा रहेको जिकिर गर्दै योग तथा आयुर्वेदका ज्ञाता कृष्णदासजी महाराजले चतरामा विश्वविद्यालय स्थापना गर्न माग गरेका हुन् ।

नेपाल सरकारले बजेटमा समावेश गरेको योगमाया आयुर्वेदिक विश्वविद्यालयका लागि चतरा उपयुक्त रहेकोले पहल गर्न प्रदेश सरकारसमक्ष माग गरेका हुन् । महाराजले अग्र्यानिक तरकारी खेती तथा जडीबुटी खेतीबाट बृहत् रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएका थिए । ‘कृषि तथा जडीबुटीको विकास गर्ने हो भने प्रदेशको समृद्धि सम्भव छ,’ उनले भने, ‘प्रदेश कृषिको विकासमा लाग्ने हो भने कुनै नाकाबन्दीमा समस्या हुँदैन ।’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरु जीवन घिमिरे, जगदीश कुसियत, हिक्मत कार्की, सभामुख प्रदीप भण्डारी, उपसभामुख सरस्वती पोख्रेललगायत सांसद तथा स्थानिय तहका प्रतिनिधिहरु भेला भएको कार्यक्रममा उपस्थितहरुले योगाभ्याससमेत गरेका थिए । 

लुगाको कारण योगाभ्यास गर्न नसकेका मन्त्रीहरु मुखामुख गर्दै हाँसेका थिए । 

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले योग तथा परम्परागत चिकित्सालाई पाठ्यक्रममा समावेश गर्ने बताए । उनी अघिल्लो दिनदेखि नै चतरामा बसेर योग तथा साधना गरेका थिए । उनले सात्विक भोजन तथा व्यवहार परिवर्तन गरेर योग गर्दा रोगहरु निको हुने बताए ।

आयोजित औपचारिक कार्यक्रममा बराहक्षेत्रका मेयर निलम खनालले चतरामा आयुर्वेदिक विश्वविद्यालय को स्थापना तथा चतराको विकासको लागि योजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले चतराको विकासको लागि मास्टर प्लान बनाएरै प्रदेश सरकार लागिपर्ने बताए ।

कोशीको किनार र पहाडको फेदीको बजारका रुपमा रहेको चतरा पछिल्लो समय कृष्णदासजी महाराज तथा बालसन्त महाराजको पहलमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित बनेको छ । यहाँ दुई पटक महाकुम्भसमेत लागिसकेको छ ।