​ट्यांकर चालक आन्दोलित, अमलेखगन्ज डिपोमा तेलको लोड ठप्प, नेपालको पेट्रोल पम्पमा लामो लाइन

Newslaya Home

​ट्यांकर चालक आन्दोलित, अमलेखगन्ज डिपोमा तेलको लोड ठप्प, नेपालको पेट्रोल पम्पमा लामो लाइन

सोमबार २१, जेठ २०७५

बारा । भारतीय शहर रक्सौलमा आफ्ना सहकर्मी कुटिएको विरोधमा ट्यांकर चालक आन्दोलनमा उत्रेपछि डिपोमा लोड अनलोड ठप्प भएको छ । बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा आइतबारबाट लोड अनलोड रोकिएको हो ।

रक्सौलबाट नेपाल आउने ट्यांकर चालकलाई भारतीय प्रहरीले बिना कारण पिटेको भन्दै ट्यांकर चालक आन्दोलित भएका हुन् । भारतीय प्रहरीले बिना कारण आफूलाई ज्यान मार्नेसम्मको धम्की दिएका कारण असुरक्षित भएको भन्दै ट्यांकर चालक निगम डिपोको गेट अगाडि धर्नामा बसेका छन् ।
रक्सौल नाका बन्द गरेर सोनवर्षा नाका सुचारु गर्नुपर्ने उनीहरुको माग छ । सुरक्षित महशुस नहुन्जेल ट्यांकर लोड अनलोड नगर्ने चालकले बताएका छन् ।
पेट्रोलियम ढुवानी महासंघका उपाध्यक्ष एवं वीरगञ्ज पेट्रोलियम ढुवानी संघका कार्यकारी अध्यक्ष सुरेन्द्र श्रीवास्तवले भारतबाट पेट्रोलियम पदार्थ नेपाल ल्याइपुर्याउँदा भारतीय सुरक्षा निकायले ज्यादती गर्ने गरेको बताए ।

उनले भने, ‘रक्सौलबाट सुनौली पुग्दासम्म निकै जाम हुने गरेको र अति प्रज्वलनशील पदार्थ भएका कारण छिटो डिपोमा पुर्याउन खोज्दा त्यहाँको सुरक्षा निकायले पटक पटक हाम्रो चालकहरुलाई कुटपिट गर्ने गर्छन् ।’

भारतबाट नेपाल मालसामान ढुवानीको प्रमुख नाका रक्सौलमा निकै भिडभाड हुने गर्छ । जसका कारण सगौलीदेखि रक्सौल पुग्न जाममा पर्दा ६ दिनभन्दा बढी लाग्ने गरेको चालकहरु बताउँछन् ।

लोड अनलोड ठप्प भएको खबरपछि नेपालमा भने इन्धन प्रयोगकर्ताहरु इन्धन अभाव हुने डरले आत्तिएका छन् । तर इन्धन अभाव नहुने नेपाल आयल निगमले जनाएको छ ।

यता निगमका उपप्रबन्धक रामहरी निरौलाले आन्दोलित पक्षसँग वार्ता गरी कार्यसञ्चालनका लागि आपूmले पहल गर्ने बताए । नेपालमा सबैभन्दा बढी इन्धन आयत हुने रक्सौल नाका र क्षेत्रीय डिपो अमलेखगन्जबाट ट्यांकर लोड अनलोड ठप्प बनेपछि देशका विभिन्न भागमा इन्धन आपूर्ति प्रभावित भएको छ ।