भारतमा तेलको भाउ घटिरहँदा नेपालमा चाहिँ किन बढ्यो ?

Newslaya Home

भारतमा तेलको भाउ घटिरहँदा नेपालमा चाहिँ किन बढ्यो ?

सोमबार २१, जेठ २०७५

काठमाडौँ । नेपालमा तेलको मूल्य बढेको छ । पेट्रोल ११३ रुपैया प्रतिलिटर पुगेको छ । नेपालमा इन्धन भारतबाट आउने गरेको छ । 

तर भारतमा भने आजभोलिको समयमा तेलको मुल्य घटिरहेको छ । पाँच दिनमा मात्रै पेट्रोलको मूल्य घटिरहेको छ । तर नेपालमा भने बढिरहँदा नेपालीहरु आक्रोशित समेत भइरहेका छन् ।

तर यसो हुनु स्वभाविक छ । किनकी नेपालमा तेलको भाउ तब बढ्छ, जब भारतीय आयल कर्पोरेशनले मूल्यसूची पठाउँछ । मूल्यसुचीमा बढी मूल्य छ भने तेलको भाउ बढ्छ । घटेको छ भने नेपालमा त्यही मूल्यसुचीको आधारमा भाउ घटाइन्छ । 

त्यसो भए भारतमा भाउ घटिरहँदा नेपालमा चाहिँ किन बढेको त ?
यसको खास कारण भनेको भारतीय आयल निगमले हरेक महिनाको दुई पटक नेपाल आयल निगमलाई मूल्यसूची पठाउँछ । उसले हरेक महिनाको १ तारिखदेखि १५ सम्मको मूल्य विश्लेषणसहितको सूची एक पटक र १६ तारिखदेखि महिनाको अन्तिमसम्मको मूल्यसूची अर्को पटक पठाउँछ । 

भारतले मे अन्तिममा पठाएको मूल्य विश्लेषण सूचीमा त्यहाँ पेट्रोलियम पदार्थको भाउ बढेको थियो । मे १४ देखि २८ सम्म भारतमा तेलको मूल्य लगातार उकालो लागेको थियो । त्यसैले भारतबाट आएको रिपोर्टमा पनि बढेको मूल्य आयो । त्यही आधारमा नेपालमा भाउ बढाइयो । तर मे २८ यता भारतमा इन्धनको भाउ घटिरहेको छ । तर बढेको समयको मूल्यसुची नेपालले पाएकोले भारतमा भाउ घटिरहँदा नेपालमा तेलको भाउ बढेको हो ।

नेपालले प्रत्येक महिनामा दुई पटक मूल्य समायोजन गर्ने गरेपनि भारतीय बजारमा भने दैनिक मूल्य समायोजन गरिन्छ । 

यसरी नेपालमा तेलको भाउ १५ दिनसम्म स्थिर रहन्छ तर भारतमा घटबढ भइरहन्छ । यस्तोमा कुनै दिन भारतमा  तेलको भाउ नेपालको भन्दा बढी हुन सक्छ । यस्तो अवस्थामा नेपालबाट तेल तस्करी भएर भारत जाने गर्छ ।