​नेपाली आकाशमा थपिए दुई एयरलाइन्स, जान्नुहोस् कुन–कुन हुन् ?

Newslaya Home

​नेपाली आकाशमा थपिए दुई एयरलाइन्स, जान्नुहोस् कुन–कुन हुन् ?

बिहीबार १७, जेठ २०७५

काठमाडौं । नेपाली आकाशमा दुईवटा अन्तर्राष्ट्रिय एयरलाइन्स थपिएका छन् । थाइल्याण्डको थाइ लायन एयर र ओमनको सलाम एयरले उडान सुरु गर्न लागेका हुन् ।  

थाइल्याण्डको थाइ लायनको ९० प्रतिशत प्रक्रिया पूरा भइसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका उपनिर्देशक सुबास झाले एक महिना भित्र थाइ लायनले नेपालमा उडान भर्ने बताए । 

एयर कन्जेशन कम गर्नका लागि थाइ लायनले प्राधिकरणलाई दिउँसो १ः३० अथवा २ः३०को स्लट माग गरेको तर एयरलाइन्सको लागि ५ः०० देखि ६ः०० बजेको स्लट छुट्टाइएको झाले जानकारी दिए ।

थाइ लायन एयरले साप्ताहिक रुपमा सातवटा नियमीत उडान भर्ने प्रस्ताव गरेको छ । थाइ लायनको एक सय ८९ सिट युक्त बोइङ ७३७–८०० जहाजले बैंककको पुरानो विमानस्थल ‘दोन मुयेङ’ देखि नेपाल सीधा उडान गर्नेछ ।  

ओमानको सलाम एयरले पनि नेपाल उडानका लागि आवेदन दिएको झाले बताए । सलाम एयरले दुई महिना अघि निवेदन पेश गरेपछि सम्पर्कमा भने नआएको झाले जानकारी दिए । सलाम एयरले राती १२ बजेपछि उडान गर्ने प्रस्ताव गरेमा कम्पनीलाई इजाजत दिइने झाले बताए ।

हाल सलाम एयरले ओमानको मस्कट, सलल्हा र सोहरबाट आन्तरिक उडान भर्दै आएको छ भने अन्तर्राष्ट्रिय उडान युएइको दुबाइ, साउदी अरेबीयाको जेद्दा, पाकिस्तानको शैलकोट र कराँची, जर्जियाको त्बील्सी र अजरबैजानको बाकुम लगायत क्षेत्रमा गर्दै आएको छ ।

कम्पनीले सातवटा गन्तब्यमा साप्ताहिक १ सय १६ वटा उडान भर्दै आएको छ । कम्पनीका अनुसार हालसम्म चार लाख यात्रुले सेवा लिइसकेका छन् ।

सलाम एयरले सन् २०१७/ ३० जनवरीबाट आफ्नो व्यवसायिक उडान सुरु गरेको हो ।कम्पनीले हाल १ सय ७४ सिटयुक्त एयरबस ए३२० उडन गर्दै आएको छ ।     
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राती १२ बजेदेखि तीनबजेसम्म नौ वटासम्म अन्तर्राष्ट्रिय उडान अवतरण हुनसक्ने क्षमता रहेको झाले बताए । हालसम्म कुवेतको वातानिया एयरवेज र कतारको कतार एयरवेजले रात्री उडान भर्नका लागि इच्छा देखाएको झाले जानकारी दिए ।  

अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीको एयर टिकट छ महिना अघिदेखि बुकिङ भइसक्ने हुनाले संचालनमा आइरहेका एयरलाइन्स कम्पनीले तत्काल राती १२ बजेपछिको उडान भर्न नसक्ने झाको भनाई छ ।