​साढे ३३ केजी सुन प्रकरण, निलम्वनमा परेका डिएसपी केसीलाई कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा लाग्यो

Newslaya Home

​साढे ३३ केजी सुन प्रकरण, निलम्वनमा परेका डिएसपी केसीलाई कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा लाग्यो

सोमबार १७, बैशाख २०७५

विराटनगर । साढे ३३ केजी सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा निलम्वनमा परेका डिएसपी लाई कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा लगाइएको छ । गत शनिबार पक्राउ गरी विराटनगर लगिएका प्रजित केसी लाई आइतबार अदालतमा उपस्थित गराइएको हो ।

जिल्ला अदालत मोरङबाट अनुसन्धानका लागि उनलाई थप तीन दिन थुनामा राख्ने म्यादसमेत लिइएको बताइएको छ । यसअघि वहालवाला प्रहरी अधिकृतहरु प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, डिएसपी संजय राउत, सई बालकृष्ण सञ्जेललाई पनि संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको बताइएको छ ।

सो प्रकरणमा २८ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । पूर्व डिआईजी गोविन्द निरौलालाई पनि संगठित अपराध र कर्तव्य ज्यानको मुद्दा लागेको छ ।

गत ७ माघमा यूएईबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै आएको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । सोही घटनासँग सम्बन्धित तीनजनाको शंकास्पद मृत्यु र गायब पारिएको सुनबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।