​५० वर्षदेखि अलपत्र रहेको राजविराजस्थित विमानस्थल अब चाँडै सञ्चालनमा आउने

Newslaya Home

​५० वर्षदेखि अलपत्र रहेको राजविराजस्थित विमानस्थल अब चाँडै सञ्चालनमा आउने

आइतबार १६, बैशाख २०७५

राजविराज । करीब ५० वर्षदेखि अलपत्र रहेको सप्तरीको राजविराजस्थित विमानस्थल अब चाँडै नै सञ्चालनमा आउने भएको छ । 

उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष अरुण प्रधानले उक्त विमानस्थलको पक्की धावनमार्ग निर्माण लगायतका सम्पूर्ण कार्य अन्तिम चरणमा रहेकाले वैशाखको अन्तिममा विमान सञ्चालनमा ल्याइने बताए । विसं २०१६ मा तत्कालीन यातायात मन्त्री स्व. गणेशमान सिंहद्वारा शिलान्यास गरिएको राजविराज विमानस्थल लामो समयदेखि अलपत्र रहँदै आएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना प्रमुख रामएकवाल महतोले सप्तरीवासीको बहुप्रतिक्षित योजनाका रुपमा रहेको उक्त विमानस्थलमा एक हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइ पक्की धावन मार्ग, ६० मिटर चौडाइ र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडा मोटर चल्नेबाटो निर्माण भइसकेको जानकारी दिए ।

विमानस्थलमा नाला तथा केही ठाउँमा भत्काइएको घेराबारको काम र टावर मर्मत सम्भार भइरहेको, पक्की धावनमार्गमा लाइनिङ कार्य जारी रहेकाले मौसमले साथ दिए वैशाखको अन्तिममा विमान उडाउन सकिने महतोले बताए ।

वैशाखको अन्तिम सातातिर बुद्ध एयरलाइन्सले परीक्षण उडानका लागि रुचि देखाएको र लामो समयको प्रतीक्षापश्चात् विमानस्थलमा विमान सञ्चालन हुने निश्चित भएको महतोले जानकारी दिए । 

तत्कालीन मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन भएको केही दिनभित्रै उक्त विमानस्थलमा सेवा बन्द भएको थियो । कच्ची धावनमार्ग र अन्य भौतिक पूर्वाधार निर्माण नहुँदा विमानस्थल गाईबस्तु चराउने गौचरनमा परिणत भएको थियो ।

सप्तरीवासीको दबाबपछि सरकारले निर्माण कार्यलाई प्राथमिकतामा राख्दै बजेट छुट्याएपछि २०७३ सालमा उक्त विमानस्थलको टेण्डर आह्वान भएको थियो ।

विमानस्थलको चौडाइ अझै बढाउनुपर्ने र धावनमार्गको दुवैतर्फ खाली जग्गा राख्नुपर्ने भएकाले करीब २२ बिघा जग्गा खरिद गर्नुपर्ने अवस्था रहेको महतोले बताए ।

पर्यटन मन्त्रालयले उक्त जग्गा खरिदका लागि रु ५२ करोड विनियोजन गरिसकेको भए पनि अर्थमन्त्रालयले निकासा नदिँदा सो जग्गा खरिदको प्रक्रिया अघि बढ्न नसकेको महतोले जानकारी दिए ।

राजविराज विमानस्थल सञ्चालनमा आएपछि जिल्लाको पर्यटन प्रवद्र्धनका साथै आर्थिक समृद्धिमा मदत मिल्ने जिल्लास्थित उद्योग वाणिज्य संघका उपाध्यक्ष शंकर दासले विश्वास व्यक्त गरे । सदरमुकाम राजविराजबाट तीन किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा सो विमानस्थल रहेको छ ।