स्रोत नहुँदा ​मेचीनगरका बासिन्दा खोलाको पानी पिउन बाध्य

Newslaya Home

स्रोत नहुँदा ​मेचीनगरका बासिन्दा खोलाको पानी पिउन बाध्य

आइतबार १६, बैशाख २०७५

झापा । पिउने पानीको स्रोत नहुँदा मेचीनगरका तीन वटा वडाका करिब साढे चार हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । 

मेचीनगर नगरपालिका– १, २ र ३ नं वडामा बासोबास गर्ने ४५५० घरपरिवारका १६ हजार बसोबास रहेको स्थानमा पानीको समस्या रहेको नपाका सूचना अधिकृत अशोक भेटवालले जानकारी दिए ।  

पानीको स्रोत नहुँदा वर्षौंदेखि खोलाको पानी पिउन बाध्य भएको मेचीनगर–२ की लक्ष्मी चापागार्इंले बताइन् । पानीको समस्या समाधानका लागि पटक पटक पहल गरे पनि सुनुवाइ नभएको चापागार्इंको गुनासो छ । चापागार्इंका अनुसार स्थानीय तहको चुनावमा पनि पानीको समस्या उठाइएको थियो तर पानीको समस्या समाधान भएको छैन । अझ वर्षायामको समयमा त आकाशे पानी थापेर प्रयोगमा ल्याइने चापागार्इंले बताए । 

नगर क्षेत्रभित्र तीन ठूला खानेपानी आयोजना सञ्चालन भए पनि आफूहरुका लागि कहीँकतैबाट पहल नहुँदा यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि पानीको समस्या भोग्दै आएको अर्का स्थानीयवासी संगीता खड्काले बताइन् । वर्षौंदेखि खोलाकै पानी पिउँदै आएका अर्का स्थानीय यामबहादुर विश्वकर्माले पीडा सुनाए, ‘यही खोलामा शव जलाउने गरेका छौँ, यही खोलाको पानी पिउन बाध्य छौँ । अंगार पन्छाएर पानी पिउनुपर्छ।’ 

वि सं २०५३ मा नगरपालिका बनेको मेचीनगरले २० वर्ष बितिसक्दा पनि यस क्षेत्रका बासिन्दाको समस्या समाधान गर्न सकेको छैन ।