नेविसंघको अल्टिमेटमपछि टेलिकमको योजना परिमार्जन

Newslaya Home

नेविसंघको अल्टिमेटमपछि टेलिकमको योजना परिमार्जन

शुक्रबार १४, बैशाख २०७५

काठमाडौँ । अनधिकृत रुपमा विद्यार्थी सहुलियतको सिमकार्ड वितरण गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ ।  संघले विरोध जनाएसँगै नेपाल टेलिकमले आफ्नो योजनामा परिमार्जन गर्ने भएको छ ।

नेपाल टेलिकमलाई राजनीतिकरण नगर्न नेविसंघको २४ घण्टे अल्टिमेटमपछि टेलिकमले यस्तो निर्णय लिएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेर सिमकार्ड वितरण गरेको भन्दै बुधबार नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको अखिल क्रान्तिकारीले टेलिकमको ध्यानाकर्षण गराएको थियो ।

नेपाल टेलिकमकी महाप्रवन्धक कामिनीराज राजभण्डारीले ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझ्दै तत्काल यथार्थ बुझेर निर्णय पुनराबलोकन गर्ने बताएकी थिइन् ।नेविसंघको २४ घण्टे अल्टिमेटम नबित्दै टेलिकमले छानविन समिति गठन गर्दै संघका प्रतिनिधिसँग वार्ता गरेको जनाएको छ । वार्ता समितिमा नेविसंघको तर्फबाट महामन्त्री कुन्दनराज काफ्ले, केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेताहरू भागवत रेग्मी, निरन्जन थापा, सिजर भट्ट , हरी आचार्य, सुमन पाण्डे लगायतकोे उपश्थिती रहेको थियो ।

विहिबार वार्ता पश्चात् टेलिकमका प्रमुख व्यवस्थापन अधिकृत प्रदीपराज उपाध्यायले नेविसंघ केन्द्रिय समितिको नाममा पत्राचार गर्दै सहुुलियतको सिमकार्ड वितरणमा भएको राजनीतिकरणप्रति ध्यानाकर्षण भएको र उक्त काम रोकिएको जनाएको छ ।