​महानगरपालिकाले तोक्यो जनप्रतिनिधीको तलब , वार्षिक थप डेढ करोड आर्थिक भार

Newslaya Home

​महानगरपालिकाले तोक्यो जनप्रतिनिधीको तलब , वार्षिक थप डेढ करोड आर्थिक भार

बुधबार १२, बैशाख २०७५

विराटनगर । महानगरपालिकालाई वार्षिक डेढ करोड रुपैयाँ आर्थिक भार थपिएको छ  । विराटनगर महानगर नगरकार्यपालिकाको वैशाख ९ गते बसेको १४ औं बैठकले वार्षिक एक करोड ४९ लाख ५८ हजार रुपैयाँ आर्थिक भार थपिने गरी जनप्रतिनिधिहरुको पारिश्रमिक निर्धारण गरेको छ ।

बैठकले मेयरदेखि वडा सदस्यसम्मको पारिश्रमिक तोकेको छ । महानगरपालिकाका अनुसार मेयर भीम पराजुलीले मासिक ५० हजार रुपैयाँ पारिश्रमिक, उपमेयर इन्दिरा कार्कीको पारिश्रमिक मासिक ४५ हजार रुपैयाँ निर्धारण गरिएको छ । महानगरपालिकाले वडा अध्यक्षहरुका लागि मासिक ३० हजार रुपैयाँ र नगर कार्यपालिका सदस्यहरुका लागि मासिक १५ हजार रुपैयाँ पारिश्रमिक तोकेको छ  । वडा सदस्यहरुका लागि मासिक ६ हजार पाँच सय रुपैयाँ पारिश्रमिक तोकेको छ ।

वडा सदस्यहरुको माग सम्बोधन गर्दा महानगरपालिकाको कोषबाट ७१ जना वडा सदस्यहरुका लागि वार्षिक ५५ लाख ३८ हजार रुपैयाँआर्थिक भार थपिएको छ ।
स्थानीय तहहरुमा पूँजीगतभन्दा तलब भत्तालगायत शीर्षकमा लागि छुट्याइएको चालू खर्च बढी रहेको छ । महानगरपालिकाले पारिश्रमिक निर्धारण गर्दा चालू खर्च अझ बढ्ने सम्भावना देखिएको छ । १९ वटा वडाहरु रहेको महानगरपालिकामा वडा अध्यक्षहरुका लागि वार्षिक ६८ लाख ४० हजार रुपैयाँ खर्च हुन्छ भने आठ जना कार्यपालिका सदस्यहरुका लागि वार्षिक १४ लाख ४० हजार रुपैयाँ खर्च हुनेछ ।

महानगरपालिकाको आन्तरिक स्रोतले धान्ने गरी पारिश्रमिक निर्धारण गरिएको उपमेयर इन्दिरा कार्कीले बताईन् । अन्य स्थानीय तहले वडा सदस्यहरुको पारिश्रमिक नतोकेपनि महानगरले तोकेको उनले बताईन् । अन्य जनप्रतिनिधिहरुले जस्तै वडा सदस्यहरु पनि निरन्तर काममा खटिएका कारण पारिश्रमिक निर्धारण गरिएको उपमेयर कार्कीको भनाई छ ।