​सुरक्षाकर्मी आफ्नै हाकिमको घरमा कामदार, प्रधानमन्त्री ओलीले दिए फर्काउन निर्देशन

Newslaya Home

​सुरक्षाकर्मी आफ्नै हाकिमको घरमा कामदार, प्रधानमन्त्री ओलीले दिए फर्काउन निर्देशन

शुक्रबार ०९, चैत २०७४

काठमाडौं । १५ हजार सुरक्षाकर्मी आफ्नै हाकिमको घरमा घरेलु काम गर्न बाध्य रहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई एक साताभित्र फिर्ता गर्न गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिए पछि यो कुरा बाहिर आएको हो ।
निर्देशनलगत्तै गृह मन्त्रालयले हाकिम तथा भीआईपीको घरमा कामदार बसेका सुरक्षाकर्मीको विवरण खोजी थालेको छ । यसको लागि सहसचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ ।
सुरक्षामा खट्नुपर्ने सुरक्षाकर्मी हाकिम एवं उच्चपदस्थकहाँ घरेलु कामदारको रूपमा रहँदा राज्यको लगानी खेर गइरहेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिवहरूले ओलीको ध्यानाकर्षण गराएका थिए । 
प्रहरी, सेना, निजामती, पूर्वमन्त्री, उच्चपदस्थ पदाधिकारी, व्यापारिक प्रतिष्ठान, उच्च सुरक्षा अधिकारीका आफन्त तथा साथीभाइले समेत सोर्सफोर्समा प्रहरी र सेनालाई घरेलु कामदार बनाउँदै आइरहेका छन् ।
अहिले प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारी, आफन्त, पूर्वमन्त्री, नेता तथा व्यापारीकहाँ गरी झन्डै नौ हजार सुरक्षाकर्मी छन् भने सेनाका हाकिमकहाँ झन्डै ६ हजार सैनिक सुरक्षाकर्मी घरेलु कामदारको रूपमा कार्यरत छन् ।
सबैजसो बहालवाला डीएसपीदेखि आईजीपीसम्मले दुईदेखि तीन जनासम्म सुरक्षाकर्मीलाई घरेलु कामदारको रूपमा राख्दै आएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज नेउपानेले सुरक्षाकर्मी खटाउनेसम्बन्धी कुनै स्पष्ट कार्यविधि नभए पनि प्रहरी मुख्यालयको नीति र जिल्लास्थित सुरक्षा समितिको निर्णयअनुसार सुरक्षा थ्रेटको आधारमा उच्च अधिकारी र भीआईपीलाई सुरक्षाकर्मी उपलब्ध गराउने गरिएको जानकारी दिए ।