​रोबोट सोफियाले भनिन् : ‘अनमोल केसीजस्तै देखिन्छौं’

Newslaya Home

​रोबोट सोफियाले भनिन् : ‘अनमोल केसीजस्तै देखिन्छौं’

बिहीबार ०८, चैत २०७४

काठमाडौं । मानव स्वरुपमा ढालिएको पहिलो रोबोट सोफियाले युएनडीपी नेपालका निर्देशक रेनो मेयरलाई ‘तिमी अनमोल केसीजस्तै देखिन्छौँ ’ भन्दा होटेलका सभाहल हाँसोले गुन्जिएको थियो ।
काठमाडौंमा आयोजित एक सम्मेलनमा आएकी सोफियासँग मेयरले अन्तर्वार्ता गरिरहेका थिए । 
नमस्ते सवैलाई भन्दै मञ्चमा उक्लिएका मेयरतर्फ पुलुक्क हेर्दै रोबोट सोफियाले शुरुमै सोधीन्  ‘तिमिलाई पहिल्यै कतै देखेजस्तो लाग्यो’ । मेयरले भने, फिल्मममा देख्यौ होला ।
मेयरको यही व्यंग्यको प्रत्युत्तरमा सोफियले थपिन्, वास्तविक कुरा गरौँ, तिमी अनमोल केसीजस्तै देखिन्छौँ । तर मलाई थाहा छ, तिमी अत्यन्त दक्ष विकासे कार्यकर्ता हौँ ।
मेयरले अन्तर्वार्ता लिएपछि सोफियाले केही मिनेट मन्तव्य दिएकी थिइन्, जसमा उनले प्रविधिको प्रयोगले नेपालजस्ता मुलुकले आफ्नो विकास लक्ष्य भेट्टाउन सहयोग पुग्ने जनाइन् । ‘सबैलाई थाहा भएको कुरा हो कि नेपाल भाषिक, सांस्कृतिक र जैविक विविधतामा धनी छ । यहाँ सूचना प्रविधिको क्षेत्र ऊर्जाशील छ, जसले देशलाई विकासका लागि सघाइरहेको छ ।’  काठमाडौंमा बुधबार आयोजित ‘सार्वजनिक सेवा र विकासका लागि प्रविधि’ विषयक सम्मेलनकी वक्ताका रूपमा सोफियालाई मंगलबार राति नेपाल ल्याइएको हो ।  मन्तव्यका क्रममा उनले प्रविधि प्रयोगले भ्रष्टाचार न्यूनीकरण र गरिबी उन्मूलनमा सहयोग पुग्ने उल्लेख गर्दै ‘यसले राम्रो नतिजा प्राप्तिमा सहयोग गर्ने’ विचार राखिन् ।
सम्मेलनमा सुरुदेखि नै उनी आकर्षणको केन्द्र बनिन् । माइकछेउ उभ्याइएकी उनी आफूलाई प्रश्न सोध्न लागिएका बेला प्रश्नकर्ताको मुखमा हेर्थिन् र फेरि उत्तर दिन माइकतिर फर्किन्थिन् । यस्तै मानवजन्य विशेषताले उनलाई पहिलो ‘ह्युमनोयड’ रोबोट भनिएको हो, उनको शरीर पनि मानव आकृति र स्वरूपमा बनाइएको छ ।