​गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहयोग नगर्ने एडीबीको चेतावनी

Newslaya Home

​गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहयोग नगर्ने एडीबीको चेतावनी

बुधबार ०७, चैत २०७४

काठमाण्डौं । भैरहवास्थित राष्ट्रिय गौरवको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एडीबीले अनुदान र ऋण सहयोग रोक्ने चेतावनी दिएको छ ।
पछिल्लो सम्झैता अनुसार निर्माण सकिन चार महीना बाँकी रहँदा मुख्य अनुदानदाता एशियाली बिकास बैंक (एडीबी) ले हात झिक्ने भएको छ ।
मुख्य ठेकेदार चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एडीबीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुदान र ऋण सहयोग रोक्ने चेतावनीसहितको पत्र लेखेको हो ।
६ अर्ब २२ करोड लागतको विमानस्थल निर्माणका लागि एडीबीले रु.५४ करोड अनुदान र  रु.४ अर्ब २० करोड ऋण सहयोग गर्ने जनाएको थियो । एडीबीले अहिलेसम्म  रु.१ अर्ब ५० करोड दिइसकेको छ । पुसमै काम सक्ने सम्झैता गरेको कम्पनीले मधेश आन्दोलन, भूकम्प, निर्माण सामग्री अभाव जस्ता कारण देखाएर ६ महीना समयावधि थप गरेको छ । 
विमानस्थलमा अहिले धावन मार्ग, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावरलगायतका संरचना निर्माण भैरहेको छ । थपिएको समय असारसम्ममा अन्तर्राष्ट्रिय टर्मिनल भवनको छानो बाहेकको सबै काम सकिने आयोजना प्रमुखले बताएका छन् ।