एमाले नेताको उम्मेदवारी रद्द, कांग्रेस उम्मेदवार निर्विरोध

Newslaya Home

एमाले नेताको उम्मेदवारी रद्द, कांग्रेस उम्मेदवार निर्विरोध

शनिबार १३, माघ २०७४

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी रद्द गरेको छ । प्रदेश नं. ४ बाट अपाङ्गता कोटामा उम्मेदवारी दिएका थापाको अपाङ्गता परिचयपत्रको नवीकरण नगरेको पाइएपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन आयोगले जनाएको छ  ।
वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका थापाले उम्मेदवारी दर्तापछि मात्रै परिचयपत्र नविकरण गरेका थिए । अपाङ्गता कोटाबाटै उनका प्रतिस्पर्धी बनेका कांग्रेस उम्मेदवार तनहुँका प्रकाश पन्तले थापाविरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उजुरी दिएका थिए । 
उजुरीमाथि मुख्य निर्वाचन कार्यालय कास्कीले छानबिन गरेर निर्वाचन आयोगलाई उम्मेदवारी रद्द गर्न भनेपछि आयोगले थापाको उम्मेदवारी रद्द गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । थापाको उम्मेदवारी रद्द भएपछि पन्त राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएका छन् । अब प्रदेश नम्बर ४ बाट राष्ट्रियसभाका उम्मेदवार ११ जना मात्र भएका छन् । प्रदेश नम्बर ४ मा वाम गठबन्धनको बहुमत भएकाले थापाले जित्ने निश्चित जस्तै थियो । उनको उम्मेदवारी खारेज भएपछि एमालेलाई एक सिट घाटा लागेको छ ।
पन्तसँगै सबै प्रदेशबाट राष्ट्रियसभाका लागि १८ जना निर्विरोध निर्वाचित भएका छन् । यसअघि मनोनयन दर्ताकै दिन १७ जना निर्विरोध भएका थिए ।