राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ता आज हुँदै

Newslaya Home

राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ता आज हुँदै

बुधबार १०, माघ २०७४

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता आज सात वटै प्रदेशमा गरिँदैछ । दर्ताका लागि आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ । आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुले सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत मनोनयन पत्र दर्ता गराउन सक्नेछन् ।
प्रदेश नम्बर १ को मोरङको विराटनगर, प्रदेश नम्बर २ को धनुषाको जनकपुरधाम, प्रदेश नम्बर ३ को ललितपुर, प्रदेश नम्बर ४ को कास्कीको पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारकोे नागरिकताको प्रतिलिपी, मतदाता नामावलीमा नाम समावेश गरिएको निस्सा, सरकारी कर्मचारी भए राजीनामा स्वीकृत भएको पत्र, १० हजार रुपैयाँ धरौटी तिरेको रसिद र दलीय उम्मेदवार भए आधिकारिक ब्यक्तिको हस्ताक्षरसहितको पत्र मनोनयन दर्ताका लागि पेश गर्नुपर्ने प्रावधान रहेको छ ।
भोलि उम्मेदवारको विरोधमा उजुरी दिने र उक्त उजुरीमाथि छानबीन गरी १४ गते निर्वाचन कार्यालयले नामावली प्रकाशन गरी सोही दिन उम्मेदवारी फिर्ताका लागि समय दिइनेछ । माघ १५ गते भने उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।
गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाका प्रमुख र उपप्रमुख एवम् प्रदेश सभाका सांसद मतदाता रहको राष्ट्रिय सभाको निर्वाचन अगामी माघ २४ गते विहान १० देखि ३ बजेसम्म हुनेछ । स्थानीय तहका प्रमुख÷उपप्रमुख एक हजार पाँच सय छ तथा प्रदेश सभाका पाँच सय ५० गरी दुई हजार ५६ जना मतदाता छन् ।
निर्वाचन प्रयोजनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।