​एमालेद्धारा सातै प्रदेशका राष्ट्रियसभा उम्मेदवारको नामावली सार्वजनिक

Newslaya Home

​एमालेद्धारा सातै प्रदेशका राष्ट्रियसभा उम्मेदवारको नामावली सार्वजनिक

बुधबार १०, माघ २०७४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटीको बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उम्मेदवारको नामावली सार्वजानिक गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मंगलबारबाट शुरु भएको स्थायी कमिटीको ९६औँ बैठकले नामावली तयार गरेको एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
१ नं प्रदेशबाट पाँच, २ नं प्रदेशबाट एक, ३ नं प्रदेशबाट छ र ४ नं प्रदेशबाट चार गरी जम्मा १६ जनाको नामावली बैठकले तयार गरेको हो । १ नं प्रदेश बाट नैनकला ओझा , खेम नेपाली, हरिचरण सिवाकोटी, परशुमेघी गुरुङ र अगम बान्तवा परेका छन् ।
त्यसै प्रदेश नं २ बाट सुमन प्याकुरेल मात्र परे भने प्रदेश नं ३ बाट पार्वती रावल, उदया शर्मा, सिंहबहादुर वि.क., बलराम बाँस्कोटा, बेदुराम भुसाल र रामचन्द्र राई दनुवार परेका छन् ।
यस्तै प्रदेश नं ४ बाट रामबहादुर थापा, गणेश तिमिल्सिना, शान्ति अधिकारी र दीपा गुरुङ रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघिको बैठकले प्रदेश नं. ५ नं प्रदेशबाट चार, ६ नं प्रदेशबाट पाँच र ७ नं प्रदेशबाट चार गरेर जम्मा १३ जना राष्ट्रियसभा उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो । 
प्रदेश नं ५ बाट रामलखन हरिजन, खिमलाल भट्टराई, मीना बुढा र कोमल वली उम्मेदवार रहेका छन् भने प्रदेश नं ६ बाट कविता बोगटी, नन्दा शर्मा, नरपति लोहार, भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र पुरी छन् । त्यसै गरी प्रदेश नं ७ बाट कमला ओली, इन्दु कडेरिया विष्ट, शेरबहादुर कुँवर, चक्रप्रसाद स्नेही रहेका छन् ।
एमालेले माओवादी केन्द्रसँग तालमेल गरी आगामी माघ २४ गते हुने भनिएको निर्वाचनमा २९ जना सदस्यमा उम्मेदवार दिने तयारी गरेको छ ।