प्रदेश सांसदको तलब कति ?

Newslaya Home

प्रदेश सांसदको तलब कति ?

आइतबार ०७, माघ २०७४

काठमाडौं । प्रदेशसभा सदस्यहरुले आइतबार सपथ लिएका छन् । उनीहरुले तत्कालै बैठक बसेर काम थाल्नेछन् । तर अहिलेसम्म उनीहरुको तलब तोकिएको छैन ।
कतिपय प्रदेश सांसदहरुले चुनावका बेला आफूले जितेमा तलब भत्ता नलिने र आफूले पाउने तलब भत्ताको रकम बिभिन्न ठाउँमा सहयोगमा लगाउने आश्वासन समेत दिइसकेका छन् ।
प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेश सांसदका सभामुख, उपसभामुख र सांसदहरुको तलबभत्ता तोकिएको छैन । स्थानीय जनप्रतिनिधि कै तलब भत्तासमेत तोकिएको छैन ।
संविधानले प्रदेशका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र सांसदहरुको तलब प्रदेश कानुन बमोजिम हुने भनेको छ ।
प्रदेशले कानुन बनाएर तलब भत्ता नतोकेसम्म प्रदेश सरकारले नै उनीहरुको तलबभत्ता तोक्ने व्यवस्था संविधानले गरेको छ । प्रदेश सांसदहरु निर्वाचित भएको मितिदेखि तलब पाउन योग्य भएपनि प्रदेश सरकार नबनेसम्म उनीहरुको तलब भत्ता तोकिने छैन ।
फागुन ३ गतेभित्र सबै प्रदेशमा मुख्यमन्त्रीहरु चयन भइसक्नेछन् । मुख्यमन्त्री चयन भएसँगै प्रदेश सरकार गठन हुनेछ । प्रदेश सांसदबाट कानुन नबनेसम्म प्रदेश सरकारले प्रदेशका पदाधिकारीहरुको तलब भत्ता तोक्नेछ । 
सबै प्रदेशका सांसद, मन्त्री र मुख्यमन्त्रीहरुको तलब एउटै हुने छैन । हरेक प्रदेशले आफ्नो आर्थिक क्षमता, साधन स्रोत र सामर्थ्य हेरेर पदाधिकारीहरुको तलब तोक्न स्वतन्त्र छन् । 
मुख्यमन्त्रीकै तलब पनि प्रदेशको क्षमता अनुसार तोकिनेछ । यो अधिकार संविधानले सम्बन्धित प्रदेश सांसदलाई नै दिएको छ ।