सीमास्तम्भ गाड्ने क्रममा अवरोध, पुग्यो नापी विभागको टोली सीमा

Newslaya Home

सीमास्तम्भ गाड्ने क्रममा अवरोध, पुग्यो नापी विभागको टोली सीमा

आइतबार ०७, माघ २०७४

काठमाडौ । भारत संयुक्त सीमा सर्भे टोलीले सीमाक्षेत्रमा सीमास्तम्भ (पिल्लर) गाड्ने क्रममा अवरोध भएपछि नापी विभागको टोली वीरगन्ज पुगेको छ । वीरगन्ज महानगरपालिका–१ छपकैयामा नेपाली किसानको जमिन सीमास्तम्भ गाड्ने क्रममा सीमापार भएको भन्दै विवाद भएको थियो ।  विवाद भएसँगै स्थलगत अनुगमनमा नेपालतर्फको नापी विभाग टोली वीरगन्ज पुगेको हो । टोलीमा नापी विभागका निर्देशक अनिल मरासिनी र अर्का निर्देशक दामोदर ढकाल रहेका छन् ।
प्राविधिक रूपमा नक्सांकन मिले÷नमिलेको अध्ययन गर्न र विवाद निरूपणका लागि यथार्थ बुझ्न स्थलगत अनुगमनमा टोली कार्यस्थलमा पुगेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए । ‘सीमा मिचिएको निवेदन पाएपछि तुरुन्त काम रोक्न निर्देशन दिइएको हो, यथार्थ प्रस्ट भएपछि काम अघि बढ्छ,’ प्रजिअ सिंहले भने, ‘एकधुर जमिन पनि तलमाथि नहोस् भनेर उजुरी पर्नासाथ काम रोकेर माथिल्लो निकायमा जानकारी गराइएको हो ।’
नेपाल–भारत सीमा सर्वे टोलीले गरेको काममा कमजोरी छ या स्थानीयवासीले वास्तविकता नबुझेका हुन् भन्ने वास्तविकता बुझ्न कार्यस्थलमा आएको नापी विभागका निर्देशक मरासिनीले बताए । नेपाल–भारत सीमा सर्वे टोली नेपालतर्फका प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले भने सीमास्तम्भ नम्बर ३९२ अन्तर्गतका सहायक पिल्लरहरू नदीको बहाव परिवर्तनसँगै केही तलमाथि परेको र प्राविधिक विषय नबुझेकै कारण समस्या देखिएको बताए । केन्द्रबाट आएको नापी विभागका निर्देशकले नेपालीको नापनक्सामा भएको जमिन सीमामा परेको भए आवश्यक कागजपत्र जाँच गरी तथ्यांक संकलनपछि सर्भे डिपार्टमेन्टमा पठाउने बताए । सन् १८१६ का आधारमा भएका सीमा निर्धारण र नेपालमा भने २०२२ सालमा मात्र जनताले जमिन उपभोग गरेका आधारमा लालपुर्जा बनेकाले जमिन सीमामा परे÷नपरेको स्थलगत अनुगमन गर्न नै आफूहरू स्थलमा पुगेको उनले बताए । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत दुई वर्षदेखि चितवनको बाल्मीकि आश्रमबाट सुरु भएको सीमास्तम्भ मर्मत र नयाँ नर्मिाणको काम भइरहेको छ । यो काम नेपालतर्फ सर्वे विभागको टोलीले गरिरहेको छ भने भारततर्फ नापी विभाग र एसएसबीले गरिरहेको छ ।
वीरगन्ज महानगरपालिका–१ छपकैयामा १०÷१२ जनाभन्दा बढीको नम्बरी जग्गा मिचिएको स्थानीयहरुले दाबी गरेका छन् ।