अब ७ प्रदेशबाटै लाइसेन्स बितरण हुने

Newslaya Home

अब ७ प्रदेशबाटै लाइसेन्स बितरण हुने

मङ्गलबार २५, पुष २०७४

काठमाडौं । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकारमातहत रहने यातायात कार्यालयबाट लाइसेन्स वितरण थालिने जानकारी दिए ।
काठमाडौं र देशका केही सीमित सहरबाट मात्र लाइसेन्स वितरण हुँदै आएकाले सर्वसाधारणले सास्ती खेप्नु परेको छ । बर्सेनि लाखौं व्यक्ति लाइसेन्स लिन इच्छुक देखिए पनि न्यून संख्यामा मात्र लाइसेन्स जारी हुँदै आएको छ । जसका कारण आवेदन खुल्नासाथ यातायात कार्यालयमा लाइसेन्सको फर्म लिनेको लामो भीड लाग्ने गरेको छ । फलस्वरुप लाइसेन्स प्रक्रिया जटिल र सकसपूर्ण भएको भन्दै यातायात विभाग पनि विगत लामो समयदेखि आलोचित हुँदै आएको छ ।
समयमा लाइसेन्स प्रक्रिया सुरु नभएका कारण पछिल्लो समय बिनालाइसेन्स सार्वजनिक सवारी चलाउने क्रम बढ्दै गएको छ । केही वर्षयता भएका ठूला दुर्घटनाका पछाडि पनि जटिल र सुस्त लाइसेन्स वितरण प्रक्रियालाई कारक औंल्याइएको छ । सरकारले तयार पारेको पछिल्लो प्रस्ताव कार्यान्वयनमा आए सर्वसाधारणले अहिले भोगिरहेको सास्तीबाट केही हदसम्म मुक्ति पाउने अपेक्षा गरिएको छ ।
प्रस्तावमा सातवटै प्रदेशमा साबिकका १४ वटै अञ्चलमा भएको जस्तै यातायात व्यवस्था कार्यालय रहनेछन् । ती कार्यालयले सवारी अनुमतिपत्र जारी गर्नेदेखि नवीकरण र करसमेत उठाउनेछन् । सांगठनिक संरचनाका सम्बन्धमा सुझाव लिन उक्त प्रस्ताव सामान्य प्रशासन मन्त्रालय पठाइएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि प्रदेशले सवारी लाइसेन्स जारी गर्ने बाटो खुल्नेछ ।
प्रस्तावमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको अञ्चलको अधिकार प्रदेशलाई दिने गरी संशोधन गरिने उल्लेख छ । त्यसका लागि आवश्यक कानुन, मापदण्ड र निर्देशिकासहितको तर्जुमा गरिएको ती अधिकारीले जानकारी दिए । प्रस्तावअनुसार सवारी दर्ता गर्ने, लाइसेन्स जारी गर्ने र सवारी कर उठाउने अधिकार पनि प्रदेशको हुनेछ । त्यसैगरी प्रदेशभित्रका सडक रुटको अनुमति पनि प्रदेश सरकारबाट जारी हुनेछ ।