​सवारी चालक अनुमती पत्र अव प्रदेशबाट

Newslaya Home

​सवारी चालक अनुमती पत्र अव प्रदेशबाट

मङ्गलबार २५, पुष २०७४


काठमाडौं । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने तयारी गरेको छ । प्रदेश सरकारमातहत रहने यातायात कार्यालयबाट लाइसेन्स वितरण थालिने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
लाइसेन्स प्रक्रिया जटिल र सकसपूर्ण भएको भन्दै अव प्रदेश सरकारमातहत रहने यातायात कार्यालयबाट वितरण गर्न लागिएको बताइएको छ ।
समयमा लाइसेन्स प्रक्रिया सुरु नभएका कारण पछिल्लो समय बिनालाइसेन्स सार्वजनिक सवारी चलाउने क्रम बढ्दै गएको छ । सरकारले तयार पारेको पछिल्लो प्रस्ताव कार्यान्वयनमा आए सर्वसाधारणले अहिले भोगिरहेको सास्तीबाट मुक्ति पाउने अपेक्षा गरिएको छ ।
प्रस्तावमा सातवटै प्रदेशमा साबिकका १४ वटै अञ्चलमा भएको जस्तै यातायात व्यवस्था कार्यालय रहने र ती कार्यालयले सवारी अनुमतिपत्र जारी गर्नेदेखि नवीकरण र करसमेत उठाउन पाउने छन् । सांगठनिक संरचनाका सम्बन्धमा सुझाव लिन उक्त प्रस्ताव सामान्य प्रशासन मन्त्रालय पठाइएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि प्रदेशले सवारी लाइसेन्स जारी गर्ने बाटो खुल्ने बताइएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको अञ्चलको अधिकार प्रदेशलाई दिने गरी संशोधन गरिने प्रस्तावमा उल्लेख छ । त्यसका लागि आवश्यक कानुन, मापदण्ड र निर्दे्शिकासहितको तर्जुमा गरिएको अधिकारीले जानकारी दिए ।त्यसैगरी प्रदेशभित्रका सडक रुटको अनुमति पनि प्रदेश सरकारबाटजारी हुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेशबाट लाइसेन्स जारी गर्ने गरी त्यससम्बन्धी आवश्यक प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पठाइसकेको जनाएको छ ।