दुर्लभ प्रजातिको गिद्धलाई प्रकृतिमा छोडिदै

Newslaya Home

दुर्लभ प्रजातिको गिद्धलाई प्रकृतिमा छोडिदै

आइतबार १६, पुष २०७४

चितवन चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ डङ्गर प्रजातिका गिद्धले अण्डा कोरल्न थालेका छन् । गिद्धले यस मौसममा १७ वटा अण्डा पारेकामा दुईवटा अण्डा कोरलेर बच्चा निकालिसकेको छ ।  निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले गिद्धको दुईवटा गुँडमा बच्चा देखिएको बताए । गिद्ध रहेको ठाउँमा मानिस जान बन्देज गरिएको छ । 

गतवर्ष गिद्धले १५ वटा अण्डा पारेकामा नौ वटाबाट मात्रै बच्चा कोरलिएको थियो । तीमध्ये आठ वटा जीवितै छन् । ती आठवटा बच्चाको लिङ्ग पहिचान हुन सकेको छैन । गिद्धको डिएनए परीक्षणबाट मात्रै भालेपोथी छुट्याउन सकिने खड्काले बताए । केन्द्रमा ५७ वटा गिद्धमध्ये २५ वटा भाले र २४ वटा पोथी गिद्ध रहेका छन् ।
 
चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डङ्गर गिद्ध संरक्षण गर्न थालिएको हो । यहाँ संरक्षणमा हुर्किएका गिद्धलाई पछि प्रकृतिमा छाडिने योजना रहेको छ । प्रकृतिमा छाडिएका गिद्धलाई रेडियो कलरसमेत जडान गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गिद्ध प्रजनन केन्द्रमा गिद्धको बच्चा कोरल्नुलाई प्रजाति संरक्षणमा महत्वपूर्ण उपलब्धिका रुपमा आफूहरुले लिएको बताए ।