आज ४२ औँ राष्ट्रिय मेलमिलाप दिवस

Newslaya Home

आज ४२ औँ राष्ट्रिय मेलमिलाप दिवस

आइतबार १६, पुष २०७४

काठमाडौं । आज ४२ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाईंदै छ । विपी कोइरालासहित नेपाली कांग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको ४१ वर्ष पूरा भएको छ ।
२०३३ साल पुस १६ गते विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका कांग्रेस नेताहरु राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर आठ वर्षको भारत प्रवासपछि नेपाल फर्किएका थिए  । २०१७ सालमा  राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था सुरु गरेपछि कोइरालासहितका नेतालाई ७ वर्ष जेल चलान गरिएको थियो । जेलबाट छुटेपछि २०२५ सालमा विपीसहितका कांग्रेस नेता भारत प्रवास गएका थिए ।
तर भारतमा पटकपटक अपमानित हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको ठहर गर्दै विपीसहितका नेता पराई भूमिमा बस्नु भन्दा बरु नेपालमा राजासँगै हातेमालो गर्न सकिने निष्कर्ष निकाल्दै नेपाल फर्किएका थिए । तर त्रिभुवन विमानस्थलबाटै कांग्रेस नेताहरुलाई पक्रेर सुन्दरीजल बन्दीगृहमा लगिएको थियो । त्यहि दिनको सम्झनामा पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो ।