​कोशी टप्पुको हात्तीको घाँटीमा सेटलाइट रेडियो कलर

Newslaya Home

​कोशी टप्पुको हात्तीको घाँटीमा सेटलाइट रेडियो कलर

सेटलाईट निगरानीपछि हात्ती आतंक केही मथ्थर
आइतबार ०९, पुष २०७४

इटहरी । कोशी टम्मपू बन्य जन्तु आरक्षमा रहेको घर पालुवा हात्ती सोभाकलीसँग संसर्गका लागि आउने जंगली हात्ती माकुनालाई आरक्षले घाँटीमा सेटलाईट रेडियो कलर लगाएपछि यस क्षेत्रमा हात्तीआतंक रोकिएको छ । आरक्ष भित्रको हात्तीसारमा रहेको सोभाकलीसँग दिनहँु लहसिन थालेको माकुनाको कारण आरक्ष प्रशासन र स्थानीय समेत आक्रान्त बनेका थिए ।
सोभाकलीसँगको संसर्गपछि खानेकुरा खोज्न गाउँ पस्दा हात्तीले ठूलो क्षति पुर्याउनुका साथै मानिस पनि मार्ने गरेको थियो । मंसिरको पहिलो सातामात्र सुनसरी र सप्तरीमा ४ जनालाई हात्तीले मारेपछि हात्तीको खबर बुझ्न र अनुगमन गर्न बन्यजन्तु विभाग, कोशीटप्पु बन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक तथा प्राविधिक सहयोगमा सेटलाईट रेडियो कलर लगाइएको हो । माकुनालाई डार्ट गरेर रेडियो कलर बाँधिएको कोशीटप्पु बन्यजन्तु आरक्षकका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।
साहका अनुसार हात्तीलाई रेडियोकलर बाँधेपछि अहिले उदयपुरको भागलपुर तिर हात्तीले आफ्नो बथान सारेको छ । त्यसैले अहिले आरक्ष वरपर हात्तीको आतंक केही मथ्थर भएको छ । आरक्ष भित्र जंगलक्षेत्र कम हुनु र हात्तीलाई रोक्न सक्ने बार नहँुदा आरक्षबाट हात्ती बस्तीमा छिर्ने र वितण्डा मच्चाउने गर्छन ।
अघिल्लो बर्ष हात्तिले छ जनाको ज्यान लियो भने अहिले मंसिरमा मात्र चार जनाको ज्यान लिएको छ । जाडो मौसममा आरक्ष भित्र सुख्खा हुने भएकाले खानेकुरा खोज्न हात्ती गाउँ पस्ने गर्छ । जाडोमा हुस्सु लगोको बेला हात्ती नदेखिने भएकाले हात्तीले मानिसलाई सजिलै आक्रमण गर्ने गरेको वार्डेन साहले बताए ।
मंसिर ११ गते सोमबार कोशी गाउँपालिका वडा नं. ३ की ४५ बर्षीया सेवियादेवी सरदार र वेचनदेवी सरदारको हात्तीको आक्रमणमा परि मृत्यु भएको थियो । हात्तीले आक्रमण गर्दा ६० बर्षीया विन्दादेवी सरदार गम्भीर घाईते भएकी छन् । आरक्षबाट दाउरा लिएर फर्कीएका तीनैजनालाई उखुबारीमा लुकेको हात्तीले आक्रमण गरेको थियो । त्यसैगरी सप्तरीको कञ्चनरुप वडा नं. १० की ७० बर्षीया फूलुवादेवी यादवको पनि हात्तीकै आक्रमणबाट मृत्यु भयो । घरमा बसीरहेका बेला हात्तीले आक्रमण गर्दा फुलुवादेवीको मृत्यु भएको हो । यस्तै सुनसरी बराह वडा नं. ९ श्रीलंका टापुका रविलाल उराँवको पनि आक्रमणमा परि मृत्यु भयो । 
माकुनाले तीन जनाको ज्यान लिएपछि चितवन राष्ट्रिय निकुञ्जबाट भेटनेरियन पुरुषोत्तम पाण्डेको नेतृत्वमा आएको टोलीले डार्ट गरी सेटलाईट रेडियो कलर लगाएको हो । 
आरक्ष कार्यालयको बरिपरि माकुना आएमा आरक्षमा रहेको एन्टेनामा संकेत स्वरुप बत्ती र आवाज दुवै आउँछ । त्यसपछि आरक्षले माइकिङ गर्दै स्थानीयलाई सचेत रहन आग्रह गर्छ । हात्तीबाट स्थानीयलाई जोगाउन यसका अलावा जनचेतनाको काम पनि आरक्षले गरिरहेको वार्डेन साहले बताए ।
हात्तीलाई गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरी, सप्तरी र उदयपुर क्षेत्रमा विद्युतीय तारबार लगाउने तयारी भइरहेको छ । प्रकाशपुर र मधुवन क्षेत्रमा विद्युतीय तारबार लगाइसकिएको छ ।
आरक्षको जंगलमा ११ वटा जंगली हात्ती रहेका छन् । आरक्ष रहेको सुनसरी, सप्तरी र उदपयुर जिल्लाका मध्यवर्ती क्षेत्रमा १४ हजार ८ सय ६५ घरका ८४ हजार ४ सय २३ जना मानिस बसोबास गर्छन् ।
राज्यले जंगली जनावरले घाइते बनाएमा अधिकतम दुई लाख क्षतिपूर्ति र मृत्यू भएमा १० लाख क्षतिपूर्ति दिने गरेको छ ।