​प्रदेशसभा तर्फको समानुपातिक परिणाम बिहीबार साँझ

Newslaya Home

​प्रदेशसभा तर्फको समानुपातिक परिणाम बिहीबार साँझ

बिहीबार ०६, पुष २०७४

इटहरी । गत मंसिर महिनामा सम्पन्न प्रदेशसभाको निर्वाचनको समानुपातिक तर्फको परिणमा निकाल्ने काम अन्तिम चरणमा पुगेको छ । 
सातवटै प्रदेशको समानुपातिकतर्फका सम्पूर्ण परिणामको प्रस्ताव बिहीबार साँझसम्म निर्वाचन आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले आयोगसमक्ष पेस गर्ने तयारी छ । समानुपातिकतर्फका निर्वाचन अधिकृतसमेत रहेका आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले प्रदेशको परिणाम निकाल्ने काम बिहीबार सकाउने लक्ष्य राखेको बताएका छन् । ‘सकेसम्म बिहीबार साँझ शुक्रबार सम्ममा सबै प्रदेशका समानुपातिकतर्फको परिणाम आयोगसमक्ष पेश गर्नेछौं,’ पौड्यालले भने, आयोगले निर्णय गरेपछि प्रदेशगत रूपमा कुन दलले कति सिट पाएको र त्यसमा समावेशी समूहबाट प्रतिनिधित्व गर्ने संख्या तोकेर दलहरूलाई पठाइने बताइएको छ । 
आयोगसमक्ष पेस गरिने प्रस्तावमा प्रदेशगत रूपमा कुन दलले कति मत पाए, कुल मतको डेढ प्रतिशत ’थ्रेसहोल्ड’ कटाएकामध्ये कुन दलले कति सिट पाउने, डेढ प्रतिशत मत नकटाएका दल र तिनले पाएको मतलगायत विवरण समेटिने बताइएको छ । प्रतिनिधिसभातर्फ समानुपातिकको परिणाम दिन संवैधानिक र कानुनी जटिलता आएपछि आयोगले प्रदेशसभाको परिणाम पहिले सार्वजनिक गर्न लागेको जनाएको छ । राष्ट्रिय सभाको निर्वाचन नभई समानुपातिक सूचीबाट कुन दलले कति महिला पठाउनुपर्ने यकिन संख्या तोक्न आयोगलाई समस्या भएको छ । संविधानमा संघीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधिसभा) मा प्रतिनिधित्व प्रत्येक राजनीतिक दलबाट निर्वा्चित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने प्रावधान रहेको छ । प्रतिनिधिसभामा प्रत्यक्षबाट र राष्ट्रिय सभामा निर्वा्चित हुने सदस्यहरूमध्येबाट कुनै दलको एकतिहाइ सदस्य महिला निर्वा्चित हुन नसके त्यस्तो राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य निर्वा्चित गर्दा आफ्नो दलबाट संसद्मा निर्वा्चित हुने कुल सदस्यको कम्तीमा एकतिहाइ महिला सदस्य हुने गरी निर्वा्चित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। दलहरूले उम्मेदवार छनोट गरेर पठाउँदा संविधान र कानुनअनुसार समावेशी सिद्धान्तको प्रतिनिधित्व र क्रमआबद्धताको प्राथमिकताअनुसार मिलाएरै पठाउनुपर्ने सचिव पौड्यालले बताए ।