​तत्काल निर्वाचन परिणाम पेश गर्न आयुक्तलाई दबाब

Newslaya Home

​तत्काल निर्वाचन परिणाम पेश गर्न आयुक्तलाई दबाब

बुधबार ०५, पुष २०७४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् । बुधबार बिहानमात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका दुई अध्यक्षले मध्याह्न १२ बजे निर्वाचन आयोगका प्रमुख आयुक्त डा.यादवलाई लाजिम्पाटस्थित दाहाल निवासमा बोलाएर तत्काल निर्वाचन परिणाम पेश गर्न दबाब दिएका हुन् ।
हालै दुई चरणमा सम्पन्न प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको भएपनि समानुपातिकतर्फको परिणाम भने सार्वजनिक गरिएको छैन ।  परिणाम सार्वजनिक नगर्दा सरकार गठनलगायतका विषय रोकिएका छन् ।
दुई अध्यक्षसँगको भेटमा प्रमुख आयुक्त डा.यादवले बढीमा एक हप्ताभित्र प्रतिनिधि र प्रदेशसभा दुबैको रिपोर्ट बुझाउने बचन दिएका छन् ।
यसअघि डा. यादवले राष्ट्रिय सभा र प्रतिनिधिसभाको पूरै रिपोर्ट संविधानतः एकैपटक बुझाउनुपर्ने व्यवस्था रहेको बताउँदै आएका थिए । ओली र दाहाललाई भेट्न डा.यादव एक्लै पुगेका थिए ।
भेटपछी डा.यादवले राजनीतिक निकासका लागि आफूले दुई अध्यक्षलाई भेटेको प्रतिक्रिया दिएका छन् । यादवले सके एक दुई दिनभित्रै नभए बढीमा एक हप्ताभित्र प्रदेश र प्रतिनिधिसभाको रिपोर्ट बझाउने बताएका छन् ।