​लालबाबु पण्डितले चुनावमा कति खर्च गरे होला ?

Newslaya Home

​लालबाबु पण्डितले चुनावमा कति खर्च गरे होला ?

सोमबार ०३, पुष २०७४

इटहरी । भर्खरै सम्पन्न भएको निर्वाचनमा एमाले नेता लालबाबु पण्डित निकै चर्चामा रहे । मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचन लडेका पण्डित सम्भवत सबै भन्दा धेरै नेपाली जनताले जितको कामना गरेका उम्मेदवार थिए । र उनले जनताको कामना र चाहना अनुसार चुनाव पनि जिते । नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालालाई पराजित गर्दै लालबाबु पण्डितले बाजी मारे ।  
निष्ठावान र इमान्दार नेताको रुपमा चिनिएका लालबाबु पण्डितले सामान्यरुपमा  प्रचार–प्रसार र घरदैलो गरेर जनतालाई आफ्नो पक्षमा पारे । निर्वाचनमा करोडौं खर्च गर्ने परिपाटी रहेको अवस्थामा पण्डितले चाहिं कति खर्च गरे होला त ? जो कोहीलाई पनि जिज्ञाशा लाग्न सक्छ । 
एमाले नेता लालबाबु पण्डितले अत्यन्तै न्यून खर्चमा चुनाव जितेका हुन् । उनले निर्वाचन आयोगले जारी गरेको सीमाको आधाभन्दा कम खर्चमा चुनाव जितेका हुन् । पण्डितका स्वकीय सचिव तथा निर्वाचन प्रतिनिधि ओसिम आलमका अनुसार १३ लाख १६ हजार १ सय ७८ रुपैयाँ मात्र चुनाव अवधिभर खर्च भएको छ । 
नेता पण्डितले मतदाता नामावली खरिदमा १५ हजार, सवारीसाधन खर्च २ लाख ४० हजार, सवारी इन्धन ९८ हजार ५ सय ५०, प्रचारप्रसार सामग्री २ लाख ८० हजार ६ सय १५, ढुवानी ३४ हजार ४ सय ६०, गोष्ठी कार्यकर्ता परिचालनमा २ लाख ८ हजार ६४ रुपैयाँ खर्च गरेका छन् । यसैगरी, मिडिया प्रचारप्रसारमा १ लाख ८७ हजार, कार्यालय सञ्चालनमा १ लाख २० हजार ४ सय ७५, प्रतिनिधि परिचालनमा ६२ हजार ५ सय १४ र विविध शीर्षकमा ८३ हजार रुपैयाँ खर्च भएको छ । 
वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली युवाहरुले समेत नेता पण्डितलाई निर्वाचनमा जिताउनका लागि विदेशबाट सहयोग रकम पठाएका थिए । पूर्व सामान्य प्रशासन मन्त्रीसमेत रहेका नेता पण्डितले हार्नु हुँदैन भनेर विदेशबाट सहयोग रकम आएको पण्डितका स्वकीय सचिव आलमले जानकारी दिए । 
पण्डितलाई जिताउनका लागि तेह्रथुममा जन्मिएर हाल अस्ट्रेलियाको सिड्नीमा बस्दै आएकी नेपाली चेली राधिका पोखरेलले एक्लै ५ लाख रुपैयाँ सहयोग गरेकी थिइन् । पण्डितलाई जिताउनमा नेपालमा पढ्दै आएका नेपाली विद्यार्थीहरुले समेत रकम संकलन गरेर सहयोग गरेको आलमले बताए । 
मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका एमाले उम्मेदवार पण्डितले कांग्रेस नेता डा. शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका हुन् । एमाले पोलिटब्युरो सदस्य पण्डित ०७० मा सामान्य प्रशासन मन्त्री भएका थिए । ०४६ र ०५६ को चुनावमा विजयी भएका पण्डित ०६४ को चुनावमा समानुपातिक तर्फबाट सभासद् भएका थिए । आफ्ना काम र शालीन जीवनशैलीका कारण लगातार चर्चामा रहँदै आएका पण्डित सामान्य प्रशासन मन्त्री हुँदा ग्रीनकार्ड, पिआरलगायत विदेशको स्थायी बसोवास अनुमतिपत्र लिएका कर्मचारीलाई सरकारी सेवामा अयोग्य रहने कानुन ल्याउन सफल भएका थिए । उनले नयाँ गाडी किन्न भनेर अर्थ मन्त्रालयबाट निकासा भएको ८० लाख रुपैयाँ फिर्ता गरेर निकै चर्चामा आएका थिए ।