​खाना खाँदा ध्यान दिनुपर्ने कुराहरु

Newslaya Home

​खाना खाँदा ध्यान दिनुपर्ने कुराहरु

सोमबार ०३, पुष २०७४

हामी सबै स्वास्थ्य राम्रो होस् भन्ने चाहन्छौं तर ससानो कुरामा ध्यान दिँदैनौं । खाना खाँदा आरामसँग चपाइचपाइ खानुपर्छ । त्यतिखेर हडबडी गर्दा स्वास्थ्यलाई हानि पुग्छ । यहाँ हामी खाना खाँदा के के कुरामा ध्यान पुर्याउनुपर्छ भन्ने विषयमा चर्चा गर्दैछौं । 
खानुअघि हात धुने
आजकल बाटोमा हिँड्दा हिँड्दै खाना खाने चलन बढेर गएको छ अनि हात धुनु जरूरी ठानिन छोडेको छ । तर तपाईं सुस्वास्थ्य चाहनुहुन्छ भने खानुअघि राम्ररी हात धुने गर्नुहोस् । 

व्यायाम गरेलगत्तै नखाने
तपाईं व्यायाम गर्नुहुन्छ भने त्यो गरेलगत्तै पछि खाना खानुहुँदैन । शरीरको तापक्रम सामान्य अवस्थामा आएपछि मात्र खाना खानुहोस् । 

भोक लागेपछि मात्र खाने
भोक नलागिकनै खाएको खानाले शरीरलाई नोक्सान गर्छ । त्यसलै भोक लागेपछि मात्र खाना खानुहोस् र एकैचोटिमा थुप्रो खाना पनि नखानुहोस् । अलि अलि गरेर खाना खानुभयो भने मज्जाले पच्छ र मोटोपनको खतरा रहँदैन । 

नियमित अन्तरालमा खाने
खाना खाँदा कम्तीमा ६ घन्टाको अन्तराल हुनुपर्छ । त्यतिखेरसम्म भोजन मज्जाले पचिसक्छ । बिहान नास्ता गरेको राम्रो । पौष्टिक नास्ता लिनुहोस् । रातिको खाना सात बजेअगाडि नै खानुहोस् । ढिलो डिनर गर्दा राम्ररी पच्न पाउँदैन र पेटसम्बन्धी समस्या आइलाग्छ । 

बसेरै खाना खाने
बसेर खाना खाँदा मात्र पाचन दुरुस्त रहन्छ अनि कब्जियत र एसिडिटी जस्तो समस्याले सताउँदैन । सुखासनमा बसेर भोजन गरेको राम्रो हुन्छ । 

चपाएर खाने
खाना खाँदा ध्यान दिनुपर्ने सबभन्दा महत्त्वपूर्ण कुरा भनेको चपाई चपाई खानु हो । यसो गर्दा भोक बढ्छ, खाना मज्जाले पच्छ, कब्जियत हुँदैन अनि दाँत पनि बलियो हुन्छ । 

पौष्टिक खाना खाने
खाना खाएर मात्र हुँदैन । त्यसमा सबै पौष्टिक तत्त्वको सन्तुलन हुनुपर्छ । खानामा स्वादका साथ पौष्टिकता पनि समावेश गर्नुहोस् ।

शरीर सञ्चालनका लागि भोजन अत्यन्तै आवश्यक हुन्छ तर यो भोजनले स्वास्थ्यलाई कति फाइदा पुर्याउँछ भन्ने कुरा खाने तरिकामा भर पर्छ । सही तरिकाले खाएको भोजनले शरीरलाई तन्दुरुस्त र बलियो राख्छ भने हतारमा खाएको खानाले शरीर कमजोर बनाउँछ ।