​यस्तो आयो समानुपातिकतर्फको अन्तिम परिणाम

Newslaya Home

​यस्तो आयो समानुपातिकतर्फको अन्तिम परिणाम

आइतबार ०२, पुष २०७४

काठमाडौं । गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको छ । यस्तै दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको छ । यसअनुसार एमालेले पाएको मत कांग्रेसभन्दा ४५ हजार १ सय ५ मत बढी हो । तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ ।
यस्तै चौथो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७२ हजार २ सय ५४ र पाँचौ स्थानको संघीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार २ सय १ मत प्राप्त गरेको आयोगले जनाएको छ । अन्तिम समयसम्म चौथो स्थानमा रहेको समाजवादी फोरमलाई राजपाले उछिनेको हो । यी पाँच दल मात्र राष्ट्रिय दल बनेका छन् ।
राष्ट्रिय दल बन्न नपाएका दलहरुमध्ये सबैभन्दा धेरै मत विवेकशील साझा पार्टीले ल्याएको छ । विवेकशीलले दुई लाख १२ हजार ३ सय ६३ र राप्रपाले एक लाख ९६ हजार ७ सय ८२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३ सय ७७, नयाँ शक्ति पार्टी नेपालले ८१ हजार ८ सय ३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १ सय ३४ मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेसभा सदस्य चुनावमा एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो ।
यसरी छानिनेछन् समानुपातिक सांसद 
मतगणना सम्पन्न भएपछि पनि प्राविधिक र प्रक्रियागत कारण समानुपातिकतर्फको औपचारिक मतपरिणाम सार्वजनिक गर्न भने केही समय लाग्ने भएको छ ।
मतगणना सम्पन्न भएसँगै सम्बन्धित निर्वाचन अधिकृतहरुले लिखित रुपमा निर्वाचन आयोगलाई मतपरिणाम बुझाईरहेका छन् । निर्वाचन अधिकृतले प्राप्त मतपरिणाम निर्वाचन आयोगलाई बुझाईसकेपछि निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ६० मा भएको व्यवस्था बमोजिम मतविभाजक सूत्रबाट सिट बाँडफाँट गरि राजनीतिक दलहरुलाई जानकारी गराउनेछ ।
निर्वाचन आयोगले तोकेको समयभित्र समानुपातिक सिट प्राप्त गरेका राजनीतिक दलहरुले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमध्ये क्रमसंख्याअनुसार नाम सिफारिस गर्नेछन् ।
दलहरुको सिफारिशपछि निर्वाचन आयोगले उम्मेदवारलाई विजयी घोषणा गर्ने र आयोगले नै राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।