विराटनगरमा बेलुकी दश बजेसम्म व्यवसाय संचालन गर्ने वातावरण बनाउने लालबाबु पण्डितको घोषणा

Newslaya Home

विराटनगरमा बेलुकी दश बजेसम्म व्यवसाय संचालन गर्ने वातावरण बनाउने लालबाबु पण्डितको घोषणा

शनिबार ०१, पुष २०७४

विराटनगर। एमालेका पोलिटब्यूरो सदस्य एवं मोरङ क्षेत्र नं ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले नयाँ प्रविधियुक्त उद्योग स्थापना गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लग्नुपर्ने बताएका छन्।
उद्योग संगठन मोरङद्वारा आयोजित प्रतिनिधि तथा प्रदेशसभाका  नवनिर्वाचित सदस्यलाई स्वागत तथा सम्मान कार्यक्रममा पण्डितले विराटनगरको व्यापार वृद्धिकालागी स्थानीय बजार बेलुकी १० बजेसम्म सञ्चालनका  लागि सुरक्षाको प्रबन्ध मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मोरङ क्षेत्र नं ३ बाट नवनिर्वाचित सांसद भानुभक्त ढकालले प्रतिपक्षको सहमतिका आधारमा आगामी पाँच वर्षभित्र राष्ट्रलाई समृद्धि दिने दृढता व्यक्त गरे। माओवादीकेन्द्रबाट मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले उत्पीडन, गरीबी र सुकुम्बासी समस्या समाधान गर्न मुख्य ध्यान केन्द्रित रहेको बताए । साथै विराटनगरलाई अन्तरराष्ट्रिय मापदण्डअनुसारको शहर निर्माण गरिने वताएका छन् । 
पूर्वसञ्चारमन्त्री तथा नेपाली काँग्रेस मोरङ क्षेत्र नंं २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य डा मीनेन्द्र रिजालले प्रदेश नं १ का सबै प्रदेश सदस्यको सहमतिमा विराटनगरलाई राजधानी र विराटनगर विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउनुपर्ने बताउँदै चक्रपथको कालोपत्रे, सिँचाइ तथा तटबन्ध निर्माणमा जोड दिए भने एमालेबाट मोरङ क्षेत्र नं १ मा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले  आगामी दिनमा कृषिको व्यवसायीकरण र स्वरोजगार अभियान सुरु गर्ने बताए। 
कार्यक्रममा उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्यायले यस क्षेत्रको विकासका लागि १७ बुँदे ज्ञापनपत्र नवनिर्वाचित सदस्यलाई बुझाएका छन्।