​मतगणना अधिकृत परिवर्तन गर्न भगवतीको माग

Newslaya Home

​मतगणना अधिकृत परिवर्तन गर्न भगवतीको माग

बदर मतलाई सदर गरिएको दाबी
सोमबार २५, मङि्सर २०७४

इटहरी । सनुसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना रोकिएको छ । मतगणनाका क्रममा बदर मतलाई सदर गरिएको भन्दै वाम गठबन्धनले मतगणना कार्य बहिस्कार गरेपछि मतगणना रोकिएको हो । 
वाम गठबन्धनबाट उम्मेदवार बनेकी एमाले नेतृ भगवती चौधरीका प्रतिनिधि विनोदकुमार चौधरीले मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीमा पत्र लेखि सदर गरिएको बदर मत नघटाएसम्म मतगणना सुचारु हुन नसक्ने उल्लेख गरेका छन् । 
२९६, ३२१, ३४६, ३७१ र ३९६ नम्बर का मतपेटिकामा रुख चिन्हमा मतदान गरेको मतपत्र अर्धकट्टी सहित भेटिएको तथा औंठा छाप लगाएको पाइएकोमा त्यस्तो मतलाई पनि कांग्रेसको पक्षमा जोडिएको पत्रमा उल्लेख गरिएको छ । मतगणना अधिकृतको मिलेमतोमा बदर मतलाई समेत कांग्रेसको पक्षमा जोडिएकाले बदर मत घटाएर मतगणना अधिकृत परिवर्तन नगरेसम्म मतगणना सूचारु गर्न नसकिने पत्रमा उल्लेख गरिएको छ । 
यस क्षेत्रमा सुरुदेखि नै एमाले उम्मेदवार भगवती चौधरीले अग्रता कायम गरेकोमा पछिल्लो समय कांग्रेस उम्मेदवार विजयकुमार गच्छादारले मतअन्तर छोट्याउँदै लगेका छन् । यस क्षेत्रमा २०७० सालको संविधानसभा निर्वाचनमा समेत धाँधली गरि विजयकुमार गच्छदारलाई जिताएको बताउने गरिएको छ ।