​यी हुन् हारेका ठूला नेता

Newslaya Home

​यी हुन् हारेका ठूला नेता

सोमबार २५, मङि्सर २०७४

काठमाडौं । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म आएको नतिजाअनुसार ठूला पार्टीका प्रभावशाली नेताहरु पनि पराजित भएका छन् । 
यसरी पराजित हुनेमा एमाले र माओवादी केन्द्रका उपाध्यक्षदेखि राप्रपाका अध्यक्षसम्म छन् । यस्तै, पराजित हुनेमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि छन् । यस निर्वाचनमा पराजित हुनेमा बाम गठबन्धनका सूत्रधार भनिएका नेताहरुसमेत परेका छन् । 
रामचन्द्र पौडेलः तनहुँ क्षेत्र नंं. १ बाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन् । उनलाई किसानकुमार श्रेष्ठले पराजित गरेका हुन् । विजयी श्रेष्ठले ३४ हजार चार सय ८९ मत ल्याए भने पौडेलले २७ हजार छ सय ७५ मतमा चित्त बुझाए । 

बामदेव गौतमः एमाले उपाध्यक्ष बामदेव गौतम पनि यो निर्वाचनमा पराजित भएका छन् । बर्दिया क्षेत्र नं. १ बाट चुनावी मैदानमा उत्रिएका गौतले कांग्रेसका सञ्जय गौतमसँग हार बेहोरेका हुन् । सञ्जयले ४४ हजार आठ सय २९ मत प्राप्त गर्दा गौतमका पक्षमा ४४ हजार ७६ मत खसेको थियो । देशैभर वाम गठबन्धनको लहर चलिरहेका बेला गौतम भने पराजित भएका हुन् । गौतम बाम गठबन्धनका सूत्रधार समेत हुन् । 

नारायणकाजी श्रेष्ठः एमाले नेता बामदेव गौतमलाई जस्तै बाम गठबन्धन माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि फापेन । श्रेष्ठ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित भएका हुन् । भट्टराईले ३१ हजार आठ सय सात मत ल्याउँदा श्रेष्ठले २४ हजार नौ सय ३३ मत ल्याए । श्रेष्ठ पनि बाम गठबन्धनका सूत्राधार हुन् । 

शेखर कोइरालाः मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला पनि यो निर्वाचनमा हार बेहोर्न बाध्य भएका छन् । उनी एमाले नेता लालबाबु पण्डितसँग पराजित भएका हुन् । पण्डितले ३३ हजार नौ सय ४१ मत प्राप्त गर्दा कोइरालाले ३३ हजार दुई सय ६६ मत पाए । 

डा. रामशरण महतः नुवाकोट क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका नेता डा. रामशरण महत प्रतिनिधिसभा सदस्यका लागि पराजित भएका छन् । उनलाई माओवादी केन्द्रका हितबहादुर तामाङले भारी मतान्तरले पराजित गरेका हुन् । तामाङले ३६ हजार ४७३ मत ल्याँउदा महत २७ हजार नौ सय २० मतमा खुम्चिएका थिए । 

अर्जुन नरसिंह केसीः केन्द्रको राजनीतिमा प्रभाव राख्ने नुवाकोट क्षेत्र नं. २ का अर्जुन नरसिंह केसी पनि यो निर्वाचनमा पराजित भएका छन् । एमाले नेता नारायण खतिवडाले उनलाई पराजित गरेका हुन् । खतिवडाले ३६ हजार आठ सय ९२ मत ल्याउँदा केसी २६ हजार तीन सय ३५ मतमा सीमित भए ।   

महेश आचार्यः कांग्रेस नेता महेश आचार्य पनि निर्वाचनमा पराजित हुने उमेदवार हुन् । मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार बनेका आचार्य माओवादी केन्द्रका अमनलाल मोदीसँग पराजित भएका हुन् । मोदीले ३३ हजार पाँच सय २९ मत प्राप्त गर्दा आचार्यको पक्षमा २६ हजार आठ सय मत खसेको थियो । 

दमननाथ ढुंगानाः दमननाथ ढुंगाना पनि यो निर्वाचनमा पराजित भएका छन् । भक्तपुर क्षेत्र नं. २ बाट एमाले युवा नेता महेश बस्नेतसँग उनी पराजित भएका हुन् । बस्नेतले ३६ हजार चार सय १३ मत ल्याएर विजयी हुँदा ढुंगानाका पक्षमा १८ हजार छ सय ३५ मतमात्रै खस्यो । 

कृष्णप्रसाद सिटौलाः नेपाली कांग्रेसको राजनीति केन्द्रमा रहेका नेता कृष्णप्रसाद सिटौला पनि यो निर्वाचनमा फराकिलो मतान्तरले पराजित भएका छन् । झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि लडेका उनलाई राप्रपाका राजेन्द्र लिङदेनले पाखा लगाएका हुन् । लिङदेनको पक्षमा ४४ हजार छ सय १४ मत खस्दा सिटौलालाई  ३१ हजार एक सय ५६ मतदाताले मात्रै भोट खसाले । 

विश्वप्रकाश शर्माः झापाबाटै कांग्रेसका अर्का प्रभावशाली नेता विश्वप्रकाश शर्मा पनि यो निर्वाचनमा हार भोग्न बाध्य भएका छन् । कांग्रेसका युवा नेता शर्मा माओवादीका नेता राम कार्कीसँग पराजित भएका हुन् । झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उठेका शर्माले ३३ हजार तीन सय १० मत ल्याए भने कार्कीलाई ३६ हजार १७३ मत खसेको थियो । 

विमलेन्द्र निधिः नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधी पनि यो निर्वाचनमा पराजित भएका छन् । धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि लडेका निधी राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग पराजित भएका हुन् ।  महतोले ३० हजार सात सय ५० मत पाउँदा निधीका पक्षमा २७ हजार आठ सय ४७ मत मात्रै खसेको थियो । 

आरजु राणा देउवाः प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा कांग्रेसकी प्रभावशाली नेतृ आरजु राणा देउवा पनि पराजित भएकी छिन् । कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उठेकी उनलाई एमालेका नारदमुनी रानाले पराजित गरेका हुन् । रानाले २७ हजार दुई सय दुई मत ल्याएर विजयी हुँदा राणाले २२ हजार तीन सय २२ मत पाइन् । 
               
खगराज भट्टः माओवादी केन्द्रका नेता खगराज भट्ट पनि पराजित उमेदवार हुन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका भट्ट डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उठेका थिए । देउवाको पक्षमा २८ हजार ४४ मत प्राप्त हुँदा भट्टले २१ हजार एक सय १५ मतमा चित्त बुझाए । 

दीपकुमार उपाध्यायः नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय पनि पराजित उमेदवार हुन् । कपिलवस्तु क्षेत्र नं. १ बाट पराजित भएका उनी माओवादी केन्द्रका नेता चक्रपाणी खनालसँग प्रतिस्पर्धामा थिए । खनालले २९ हजार सात सय ९९ मत ल्याउँदा उपाध्याय २८ हजार आठ सय ५३ मतमा सीमित भए । उपाध्याय भारतका लागि नेपालको राजदूतबाट राजीनामा दिएर चुनावमा उठेका थिए । 
कांग्रेसकै गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार तथा रमेश लेखकको चुनावी परिणाम आउन बाँकी छ । 

कमल थापाः मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा खडा भएका राप्रपा अध्यक्ष कमल थापा पनि यो निर्वाचनमा पराजित भएका छन् । एमालेका कृष्ण दाहालले उनलाई पाखा लगाएका हुन् । दाहालले ४० हजार छ सय ३१ मत ल्याउँदा थापा ३४ हजार छ सय ५८ मतमा नै सीमित हुन पुगे । 

पशुपतिशमशेर राणाः राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा पनि सिन्धुपालचोक– २ मा पराजित भए । उनलाई नेकपा एमालेका युवा नेता शेरबहादुर तामाङले ३८ हजार चार सय एक मत ल्याएर हराए । राणाले ३० हजार तीन सय ६९ मत ल्याए ।