​‘नेपालको लागि सहयोग जुटाउने अभियानमा छु’ (भिडियो सहित)

Newslaya Home

​‘नेपालको लागि सहयोग जुटाउने अभियानमा छु’ (भिडियो सहित)

‘म बस्ने शहर बर्कलीलाई म इटहरी भन्छु, सबैले सरको इटहरीमा आउने भनेर भन्छन् ।’
बुधबार १३, मङि्सर २०७४

इटहरीमा कुनै बेला साइकल चढेर ट्युसन पढाउँदै हिड्ने शिक्षक राजेन थापा अहिले अमेरिकाको क्यालिफोर्नियाका प्रतिष्ठित व्यक्ति हुन् । १४ वर्ष भयो उनले नेपाल छाडेको । त्यस बिचमा उनी अमेरिकामा सफल व्यापारी मात्र बनेका छैनन्, लायन्स क्लब इन्टरनेशनल ४ सी३ को डिस्ट्रीक्ट गभर्नरको रुपमा अमेरिकाका लायन्स सदस्यका नेतासमेत बनेका छन् । अमेरिकामा कुनै नेपाली यसरी लायन्सको गभर्नर बनेको यो पहिलो अवसर हो । उनै थापा अहिले नेपाल भ्रमणमा छन् । आफ्नो गृह नगर इटहरी आएका बेलामा उनको संघर्ष, सफलता र अमेरिकी र नेपाली अनुभव बारे न्यूजलयका लागि हिमाल दाहालले गरेको भिडियो अन्तर्वार्ताको सार :
 इटहरीमा लामो समय काम गरेर अहिले अमेरिकामा हुनुहुन्छ, इटहरीदेखि अमेरिकासम्मको यो संघर्षको यात्रालाई कसरी सम्झनुहुन्छ ?
संघर्ष गर्नुपर्छ, जुझारु हुनुपर्छ, भीडमा हराउनु हुदैन । भीडमा हराउने हो भने भीडमा जानु हुँदैन भन्न मन पराउने मान्छे म । म आफ्ना विद्यार्थीलाइ पहिले पनि त्यहि भन्थेँ र अहिले पनि त्यहि भन्छु । त्यसको उदाहरण आफै हुनु पर्छ भन्ने सन्दर्भमा सन् २००३ मा मलाई एउटा अवसर मिल्यो र त्यो अवसर लिएर अमेरिकाको क्यालिफोर्नियाको बर्कलिन शहरमा पुगेँ ।
त्यहाँ गएर आफ्नो पारिवारिक व्यवस्थापन, व्यवसायको व्यवस्थापनको काम गरिसकेपछि समाजलाई नेतृत्व गर्नुपर्छ भनेर अघि सरेँ अनि लायन्सको नेतृत्व पंक्तीमा उभिएँ । म बोल्न मन पराउने अनि मित्रतालाई गाढा बनाउनुपर्छ भन्ने मान्छे । त्यहाँ लायन्सका साथीहरुसँग भिज्दै गएँ । त्यही क्रममा नेतृत्व गर्न सक्ने एउटा व्यक्तिको रुपमा स्थापित भएर संघर्ष गर्दै आज यो पदमा आउन सकेको हो ।
 नेपालमा, त्यसमा पनि राजधानी भन्दा बाहिरबाट सिधै अमेरिकामा गएर स्थापित हुन कत्तिको सजिलो अथवा गाह्रो पर्यो ?
सजिलो पटक्कै छैन । तर जुझारुपन चाहिन्छ र वाक शक्ति चाहिन्छ । भाषामा दक्षता चाहिन्छ । सञ्चार गर्न सकिएन भने आफूले आफूलाई चिनाउन सकिदैन । अमेरिकामा अंग्रेजी बोल्नुपर्ने, अंग्रेजी विषय मेरो मनपर्ने र सानोदेखि पढेको अनि पढाएको विषय भएकोले अमेरिकामा भाषा मेरो लागि त्यती बाधक रहेन ।
वाक शक्ति र तर्कसंगत प्रस्तुतिकरण गर्ने क्षमताका कारण त्यहाँका साथिहरुले मलाई ‘यु क्यान बि अ ग्रेट लिडर’ भनेर प्रोत्साहित गर्नुभयो । साथीहरुले मलाई पुल्पुल्याउनुभयो र अलिकति संघर्षमै म त्यो ठाउँमा पुगेँ ।
 अमेरिकामा नेपालीप्रति हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?
अमेरिका आप्रवासीहरुको र अवसरहरुको देश हो । त्यहाँ व्यक्तिको क्षमता, उसले सहकार्य गर्ने व्यक्ति महत्वपूर्ण हुन्छ । समग्र अमेरिकाले फराकिलो आँखाले आप्रवासीहरुलाई हेर्छ । सबैसँग मिलेर अमेरिकी समाज अघि बढ्छ । त्यसैले अमेरिका भएको छ ।
अमेरिका पनि बुझ्नुभो, नेपाल पनि बुझ्नु भो, नेपालको विकासलाई चाहिँ के ले रोकेको होला ?
एउटा सिस्टमको डिजाइन गरेर हिड्ने प्रयास हामी प्रत्येक नेपालीले गर्यौं भने देश बन्छ । पालो पर्खौं भन्ने विश्वास हामीभित्र हुने हो भने हाम्रो देश बन्छ । अमेरिकामा कसैले भनिदिने, सिफारिस गरिदिने चल्दैन । अफिसमा पुगिसकेपछि तेरो यो कागज पुगेन भनेर भनिँदैन । नाम, जन्ममिति सोधिन्छ अनि लाइन लागेर झ्यालमा पुगिसक्दा काम हुन्छ ।
 सिस्टमपछि देश विकासको लागि नेतृत्वको नैतिकता कत्तिको निर्णायक हुन्छ ? तपाई अमेरिकाको राजनीतिक दलका नेताहरुसँग नजिक हुनुहुन्छ, नेपालका नेताहरुलाई पनि बुझ्नुभएको छ, नेपालमा नेताको नैतिकता नभएकै हो ?
अमेरिकाको सबैभन्दा ठूलो शक्ति नै नैतिकता हो । क्याफिलोर्नियाका गभर्नर, बर्कलीको मेयरलगायत त्यहाँका दलका नेताहरुसँग मेरो राम्रो सम्बन्ध छ । काउन्सिलर, गभर्नरसँग उठबस हुन्छ । त्यहाँ अनावश्यक फाइदा लिने चलन गरेको देखेको छैन । नैतिकता नै मुख्य शक्ति हो ।
 तपाई अमेरिकामा स्थापित हुनुहुन्छ । अमेरिका जाने नेपालीहरु तपाईसँग कस्तो आशा गर्छन् । फोनहरु आउँछन् होला, यसो उसो गर्दिनुपर्यो भन्छन् होला । 
प्रशस्त हुन्छ र मलाई त्यसो गर्न मन पर्छ । फोनमा संवाद भएपछि म आफूले सक्दो सहयोग गर्छु । कतिपयले राजेन थापा हाम्रो लागि गड फादर हुनुहुन्छ पनि भन्छन् । तर म आफ्नो बखान गर्न कहिल्यै मन पराउँदिन ।
 तपाईको नेपाल भ्रमण के को लागि ?
यो प्रश्न मेरो लागि प्यारो प्रश्न हो । जब मलाई डिस्ट्रीक्ट गभर्नर हुने अवसर आयो, पहिलो नेपाली डिस्ट्रीक्ट गभर्नर अमेरिकामा, यो कुराले मलाई झक्झक्यायो । यो बेला मेरो देश नेपाललाई केही गर्नुपर्छ भन्ने लाग्यो ।
नौ सदस्यीय पावरफुल डेलीगेट्ससहित नेपाल आउने निधो गर्यौं । यो भ्रमणलाई हामीले ‘गुडविल ट्रिप टु नेपाल’ नाम दियौं ।
आउनुअघि धेरै गृहकार्य गर्यौं । एउटा आइ क्याम्प पनि गर्यौं । विभिन्न ठाउँका प्रोजेक्टहरु, हस्पिटलहरु, क्लिनिकहरु बुझ्यौं । नोभेम्बर २ तारेख यता हामीले ४४ वटाभन्दा बढी कार्यक्रम इटहरीबाहिर गर्यौं । दिनमै ६ वटा कार्यक्रम गर्यौं । भोक, तिर्खा, आराम नभनी काम गर्दा त्यसअनुसार माया पनि पायौं ।
विभिन्न ठाउँमा फरक फरक आवश्यकता छन्, ती आवश्यकता कसरी पुरा गर्ने भन्ने कुरा भएको छ । साँघुमा जापान बस्ने अरुण श्रेष्ठले दिएको तीन रोपनी जग्गामा दृष्टिविहिनहरुको लागि तीन लाख डलरको सीप तालिम केन्द्र शिलान्यास गर्यौं । नेपालमा आइ लेजर एउटै मात्र रहेछ, अरु थप्नको लागि तयारीमा छौं ।
 नेपाल भ्रमण गरिसक्दा कति वटा ठाउँमा काम गर्ने योजना बनाउनुभएको छ ?
सात वटा महत्व कामहरु मैले देखेको छु । हामी अमेरिका पुगेपछि त्यसबारे चाँडै बैठक गरेर निर्णय गर्छौं ।
 तपाईको टोलीमा विदेशीहरु पनि हुनुहुन्छ ?
हो । क्याबिनेट सेक्रेटरी आयशा ताके हुनुहुन्छ, जो मेरो बिजनेश पार्टनर पनि हो । त्यस्तै आँखा विशेषज्ञ र मेरो क्याबिनेट कोषाध्यक्ष डा. फुजिकावा र वहाँकी श्रीमती हुनुहुन्थ्यो । यस्तै काइजर हस्पीटलको चिफ डा. कोरि ली अनि वहाँकी श्रीमती शेली लगायत अमेरिकाका विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरु हुनुहुन्थ्यो ।
 वहाँहरुले नेपाल अनुभव चाहिँ कस्तो रह्यो ? तपाईलाई के सुनाउनुभयो ?
वहाँहरु मेरो क्याबिनेटका साथीहरु हुनुहुन्छ । वहाँहरु नेपाल भ्रमणलाई लिएर निकै खुसी हुनुभयो । प्रत्येक वर्ष विश्वका विभिन्न देश जान्छौं, तर नेपालीहरुको आत्मीयता देखेर खुसी लाग्यो भन्नुभयो । यहाँका मानिसहरुले जसरी स्वागत गर्नुभयो, खुसी हुनुहुन्छ । फेरी आउँछौं भन्दै जानुभएको छ । सबैको मन नेपाली दाजुभाई दिदीबहिनीहरुले जित्नुभएको छ ।
 १४ वर्ष अघि तपाईले छाडेर गएको र अहिलेको इटहरीमा के फरक देख्नुभयो ? अब के गर्दा इटहरी राम्रो हुन्छ ?
सन् १९८३ देखि म इटहरीको शिक्षामा संलग्न छु । मैले पढाएका विद्यार्थी धेरै छन् । मेरा विद्यार्थीहरु उच्च पदमा पुगेका छन् ।
मैले यहाँको सेकेण्डरी बोर्डिङ, पिसजोन बोर्डिङमा पढाएँ । जनता क्याम्पस खुलेपछि त्यहाँ पढाएँ । आफ्नै बोर्डिङ मोर्डन प्रिपेरेटरी बोर्डिङमा पनि पढाएँ । त्यतीखेर इटहरी सानो, सुन्दर थियो, एकले अर्कालाई चिन्न सकिन्थ्यो । तर अहिले त्यो परिस्थिती अलि छैन, ठूलो भएको छ र ठूलो हुनु पनि पर्छ । तर व्यवस्थापन पक्षको आवश्यकता छ ।
म जहाँ गएपनि इटहरीको भनेर भन्ने गरेको छु । इटहरीको नगर पितासँगको भेटमा मैले इटहरी र म बसेको बर्कली शहरको भगिनी सम्बन्ध बनाउने प्रस्ताव गरेको छु । इटहरीको ग्रोथ राम्रो छ, अब फोहोर व्यवस्थापन, धुलो व्यवस्थापन, ट्राफिक व्यवस्थापन गर्न लागि पर्नुपर्छ ।
सानो सानो बाटोमा ठूला ठूला ट्रक गुडेको देखियो । साना साना नानीहरु त्यही बाटोमा हिडिरहेका हुन्छन् । यो सेफ्टी हाजार्ड हो । कुनैपनि बेला ठूलो दुर्घटना हुन सक्छ । अमुल्य जीवन त्यसै जान्छ ।
तपाईहरुजस्तो युवा जमातले राजनीतिक नेताहरुलाई दिशा निर्देश गर्नुपर्छ । बाटोमा हटिया बसिरहेको छ । यस्तो अवस्था राम्रो होइन ।
 तपाई संगीतका पारखी पनि हुनुहुन्छ, इटहरीको संगीत विकासको लागि केही योजना छन् ?
अहिले मैले देखिरहेको छु, राजु केसी, दामोदर जी, राम धामी जीहरु सामुहिक नेतृत्व लिएर संगीत साधना प्रतिष्ठानको निर्माण भइरहेको छ । प्रतिष्ठानको भवनको लागि मैले अमेरिकाबाट पनि आर्थिक सहयोग पठाएको थिएँ । युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलीमा म्युजिक स्कुल छ । यो विश्वकै राम्रो युनिभर्सिटी हो । त्यहाँका विद्यार्थी यहाँ ल्याउने, यहाँका त्यहाँ लाने एक्स्चेन्ज गर्न सकिन्छ ।
तर त्यसको लागि सेफ्टी र पूर्वाधार चाहिन्छ । आजको जमानामा कहाँ जाँदैछु, कुन रुममा म बस्छु, त्यो पनि हेर्छन् । त्यसैले नेपालमै प्राइभेट सेक्टरको यति ठूलो लगानीमा भइरहेको कामको लागि अमेरिकामा संगीत साधनाको सपोर्ट ग्रुप बनाउने छु ।
म इटहरीलाई अत्यन्त माया गर्छु । म बस्ने शहर बर्कलीलाई म इटहरी भन्छु, सानफ्रान्सिस्कोलाई म विराटनगर भन्छु । सबैले सरको इटहरीमा आउने भनेर भन्छन् ।
अमेरिकामा फण्ड रेज गर्न गाह्रो छैन । भुईँचालो, बाढी आउँदा मन रोयो, तर दौडेर आउन सक्दैनौं, आफ्नो बाध्यता छ । मैले फण्ड रेज गरेर पैसा पठाइदिएँ । प्राकृतिक विपत्ती स्वभाविक हो, तर सँगसँगै व्यवस्थापन पनि गर्नुपर्छ ।
 अन्तिममा यहाँलाई नेपालमा चिन्ने र शुभचिन्तकहरुलाई के भन्नुहुन्छ ?
मैले इटहरी र नेपाल छाडेको छैन । मैले एक धुर जग्गा पनि बेचेको छैन । घर, स्कुल केही छाडेको छैन । समयले माग्यो भने म फर्किन पनि तयार छ । इटहरीलाई केही गर्नुपर्छ भन्ने मसँग छ । मेरो स्कुल चलेकैछ । १४ वर्षको अवधिमा म ६ पटक आएको छु । तर यो पटक भने केही प्रभाव पार्ने गरी आएको छु । नेपालको लागि सहयोग जुटाउने अभियानमा छु ।
म नेपाल फर्किँदा इटहरीलाई नै केही दिने हो । त्यतीबेला साइकल चढेर घरघर ट्युसन पढाउने मान्छे म हुँ । आठ सय रुपैयाको तलबबाट सुरु गरेको जीवन यही हो । मलाई गर्व लाग्छ । नगरपालिकाका मेयर मैले पढाएको विद्यार्थी हो । जता हेर्यो, त्यतै मैले पढाएका विद्यार्थी छन् । म इटहरीबाट टाढिएको छैन । म गर्वका साथ आफूलाई इटहरीको छोरो भन्न चाहन्छु ।