​अफिसमा काम गर्दा गर्दै यस्तो व्यायाम गर्नुहोस्, स्वस्थ रहनुहोस्

Newslaya Home

​अफिसमा काम गर्दा गर्दै यस्तो व्यायाम गर्नुहोस्, स्वस्थ रहनुहोस्

सोमबार ०४, मङि्सर २०७४

अफिसमा घन्टौं काम गर्दा शरीरका विभिन्न अंगहरूमा पीडा हुन्छ । यसलाई लामो समय बेवास्ता गर्दा गम्भीर रोग पनि लाग्न सक्छ । अफिसमा कम्प्युटरमा काम गर्दा गर्दा कहिलेकाहीँ कुर्सीबाट उठ्न पनि भ्याइँदैन ।
कार्यालयमा कुर्सीमा बसेर लगातार आठ घन्टा काम गर्दा गर्दन, काँध र कम्मर दुख्ने समस्या देखा पर्दछ । त्यसैले स्वस्थ रहनका लागि आराम अनि १० मिनेट जतिको व्यायाम गर्नैपर्छ । जस्तै
सही बसाइः अफिसको कुर्सीमा बस्ने तरिका नै सबै समस्याको जरो हो । काम गर्दा काँध र कम्मर झुकाउने गरी बस्दा काँध, गर्दन र मेरुदण्डको हाडका समस्या आउन थाल्छ । त्यसैले बीचबीचमा उठ्ने र बस्दा पनि शरीर सिधा राख्ने बानी बसाल्नुहोस् ।

कम्मरः दाहिने गोडालाई देब्रे गोडामा क्रस गरेर बस्नुहोस् र कम्मरलाई विपरीत दिशामा घुमाउनुहोस् । त्यसैगरी देब्रे गोडालाई दाहिने गोडामा क्रस गर्नुहोस् । कम्मरलाई पछिल्तिर पनि झुकाउनुहोस् । यसो गर्दा कम्मर अररो हुन पाउँदैन ।

गर्दनः कुर्सीमा बसीबसी आफ्नो गर्दनलाई १५ सेकेन्डसम्म माथि अनि अर्को १५ सेकेन्डसम्म तल पार्नुहोस् । त्यसपछि गर्दनलाई दाहिनेतर्फ घुमाएर बिस्तारै देब्रेतर्फ घुमाउनुहोस् । यो प्रक्रिया दोहोर्याइरहनुहोस् । यसो गर्दा गर्दन अररो हुन पाउँदैन ।

अनुहार र आँखाः आँखाको नानीलाई दायाँबायाँ, तलमाथि र गोलो गरी घुमाउनुहोस् । अनि दश सेकेन्डसम्म छतमा हेरिरहनुहोस् । त्यसपछि भुइँमा हेर्नुहोस् अनि अलि परको भित्तोमा हेर्नुहोस् । त्यसपछि आधी मिनेटका लागि आँखा बन्द गर्नुहोस् । अब हत्केला घोटेर तताउनुहोस् र आँखामाथि १० सेकेन्डसम्म राख्नुहोस् । हत्केलालाई आँखा र अनुहारमा दल्नुहोस् । यसो गर्दा थाकेका आँखा र सुस्त भएको अनुहार ताजा हुन्छ ।

मुख र कानः मुख फुलाएर हावा भर्नुहोस् अनि हावालाई केही सेकेन्डसम्म दायाँबायाँ घुमाउनुहोस् । त्यसपछि पाँचचोटि मुख खोल्ने र बन्द गर्ने गर्नुस् । दुबै कानलाई माथि र तल तीनचोटि तान्नुहोस् । हातका दुई औंलाहरूलाई कैंची जस्तो बनाएर कानमा घोट्नुहोस् । यसो गर्दा तपाईंको आलस्य पनि भाग्छ ।

व्यायाम गर्नु र अफिसमा फिट बस्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ । तर कुनै पनि व्यायाम बिस्तारै गर्नुपर्छ । हतारहतारमा व्यायाम नगर्नुहोस् । व्यायामले नै थाकिने स्थिति आउन नदिनुहोस् ।
तपाईं चुस्त शरीर चाहनुहुन्छ भने अफिस पुग्नुअघि यसो बिहानीपखको हावा खानुहोस् । भारी खाना खाएर व्यायाम पटक्कै नगर्नुहोस् । पानी र ग्रीन टी पिइरहनुहोस् । सीटमाथि घरिघरि उठ्नुहोस् ।