​जब मेरो बलात्कार गरेर आँखा फोडियो ...

Newslaya Home

​जब मेरो बलात्कार गरेर आँखा फोडियो ...

अस्मिता विक
आइतबार १९, कार्तिक २०७४

मेरो घर भोजपुर जिल्लाको दक्षिणी भेगमा रहेको दुम्माना गाविसको वडा नम्बर ९ को आम्चोकमा पर्छ । तीन पाथी धान फल्ने बारीले धानेको ३ जना दाजुबैनीको परिवार छ । फुसले छाएको बाँसको टाटीले बेरेको घरमा बास छ । आर्थिक अवस्था कमजोर भएकाले मेरो १८ वर्षको दाईले स्कुल पढ्न पाएन । १७ वर्षकी दिदी कक्षा ८ मा पढ्दैछिन् । मेरो उमेर १४ वर्ष भयो, तर मैले आजसम्म स्कुल टेक्न पाएकी छैन । 
म पाँच महिनाकी हुँदा बुबाले छाडेर हिड्नुभयो । अहिलेसम्म फर्किनुभएको छैन । एक वर्षको हुँदा आमाको मृत्यु भयो । हामीले आमाबुवाको माया पाउन सकेनौं । बडाबुबाको सहारामा हुर्किएका हामीले एक वर्षअघि मात्रै आफ्नै जग्गामा टहरो बनाएर बस्न सक्यौं । खेतमा अधियाँ गरेर जेनतेन जिविकोपार्जन गर्दै आएका थियौं ।
घरभन्दा १० मिनेटको दूरीमा सन्तोष श्रेष्ठको घर पर्छ । उसको र हाम्रो घरलाई धारापानी खोलाले छुट्टाएको छ । नजिकै जंगल छ ।
त्यो दिन धान काट्ने समयमा म दाजु र दिदीसहित छिमेकीलाई पर्म लगाउन धान काट्न गएका थियौं । दिउँसो १२ बजे तिर धान काटिसकेर खाजा खाई वरि दिउँसो १ बजे तिर म घर फर्किन लागेको थिएँ । घरमा गाई बस्तु भएकाले अलिकती घाँस काटेर लिएर जाने सोचेँ । घाँस काट्न जंगल गएको बेलामा सन्तोष पनि टुप्लुक्क त्यहाँ आयो । मेरो हात समातेर जबरजस्ती गर्न खोज्यो । उम्किन खोज्दै मैले दाजुलाई भन्दिन्छु भनेँ । तर उसले कुटपिट गर्यो । नमाने मारिदिने धम्की दियो र मेरो बलात्कार गर्यो । मलाई असह्य पीडा भयो ।
रुँदै सबैलाई भन्दिन्छु भनेँ । ऊ झन् आक्रोशित भयो अनि मेरो आँखा फुटाईदिनको लागि चिथोर्न खोज्यो । देब्रे आँखा आधा निस्क्यो पनि । मलाई कति पीडा भयो, म शब्दमा व्यक्त गर्न सक्दिनँ । मै बसेको गाउँ, म हिडेको बाटो, मैले देखेका रुख, खोला, घर सबै विरानो लाग्न थाले । एकातिर ममाथि भएको बलात्कार, अर्कोतिर ज्यानै लिने गरी भएको आक्रमणबाट म जसोतसो बाँचेर फुत्केँ ।
पर्म सकिए पछि दाजु गाउँ घुम्न जानुभएको थियो । दिदिले घरमा पुगेर मलाई खोजि । तर ६ बजे मात्र उसले मलाई भेटिछे । घर भित्रको एक कुनामा रुँदारुँदै म बेहोस भएको रहेछु । मेरो अनुहार भरि चिथोरेको घाउचोट थियो रे । अनुहार रगतले रातै भएको थियो रे । 
उसले उज्यालोमा मेरो अनुहार हेर्न खोजी । तर हेर्न नसकेर घरबाहिर निस्की । त्यही बेलामा माईला बडाबुबाका नातिले मेरो अनुहार हेरे । तर ऊ पनि चिच्याउँदै निस्कियो । भदै चिच्याएको सुनेर दिदिले म मरेँ भन्ने सोचिछे । एक छिनपछि दाजु भाउजु (माईला बडाबुबा छोरा र बुहारी) आएर हेर्दा लुगा भरि रगतै रगत आँखामा चोट लागेको मेरो हालत देखेर दाजु बेहोस भएर आँगनमा ढल्यो । 
मेरा दाजु (माईला बडाबुबाका छोरा) ले आम्चोकको मेडिकलमा पुर्याउनुभएछ । त्यहाँ उपचार हुन नसकेपछि धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएछ । होस आएपछि प्रहरीले सोधपुछ गर्यो । मलाई भन्न अफ्ठ्यारो लाग्यो । त्यसैले मैले भिरबाट लडेर घाइते भएको बताएँ ।
१२ गते आकस्मिक कक्षमा उपचार भैसके पछि लाई आँखा विभागमा रिफर गरियो । आँखा विभागका चिकित्सकले चेकजाँच गर्ने क्रममा शंका गरे । चिकित्सकलाई लाग्यो भिर बाट लडेर आँखा यसरी फुट्दैन ।
चिकित्सकले चेकजाँचका क्रममा पटक पटक लाई आँखा कसरी फुटेको भनेर सोधे तर मैले बताउन चाहेकी थिइन । अन्ततः मैले चिकित्सक सामु सबै यथार्थ बताएँ । चिकित्सकहरु उपचार गर्न पछि हटे । 
प्रहरीलाई उजुरी गरे पछि मात्रै उपचार अघि बढाउने बताए पछि चिकित्सकले नै प्रतिष्ठान अन्तर्गतको प्रहरी बिटका सई तिलक गिरीलाई घटना बारे जानकारी गराए । त्यस पछि मात्रै मेरो परिवारहरुलाई पनि मेरो बलात्कार भएको थाहा भयो ।
तुरुन्तै इलाका प्रहरी कार्यालय धरानको सुचनाबाट भोजपुर जिल्ला प्रहरी कार्यालय हुँदै बालङखा चौकी र बयाङ थानाले सोही दिन बलात्कारी सन्तोष श्रेष्ठलाई नियन्त्रणमा लियो । कानुनी प्रक्रिया अघि बढाएको छ ।
फोटोसहित घटनाको विषयमा सामाजिक सञ्जालमा सार्वजनिक भए पछि पत्रकार र स्थानीय नेताहरुले सहयोगका लागि आव्हान गरे । केही सहयोगी मनहरुले सहयोग दिए । धरान १८ वडाकी वडा सदस्य जमुना त्रिखत्री, धरान १६ की शकुन्तला त्रिखत्रीको पहलमा प्रतिष्ठानले निःशुल्क उपचार गरिदिने व्यवस्था गरिदिएको छ । 
स्थानीय महिला सञ्जाल, महिला संघसंस्थाहरुले सहयोग गरिरहेका छन् भने उपचारका लागि देश विदेशबाट सहयोग रकम आइरहेको छ । उपचार भइरहेको छ ।
सन्तोष पक्राउ परेको ७ दिन बितिसकेको छ । घटना लगत्तै पुगेको विश्वकर्मा कल्याण सेवा समितीका पदाधिकारी, पत्रकारहरुको टोलिलाई कुनै पनि हालतमा कारवाही गर्ने प्रतिबद्धता प्रहरीले जनाएको थियो । प्रहरीले सन्तोषलाई जबरजस्ती करणी गर्न खोजेको र कर्तव्य ज्यान सम्बन्धीको मुद्धा लगाउने तयारी गरिरहेको छ तर उसले बलात्कार गर्न खोजेको होइन, गरेकै हो । बलात्कार गरेर आँखा फोड्न खोजेको हो । 
प्रहरीले सन्तोषलाई सार्वजनिक गर्न मानिरहेको छैन । जिप्रका धनकुटाले प्रहरी निरिक्षकको नेतृत्वमा अनुसन्धान टोलि बनाएको थियो । अनुसन्धानबाट के खुलेको छ त्यो पनि सार्वजनिक भएको छैन । घटनालाई मोडेर बलात्कारीलाई छुट्कारा दिन खोजिएको छ कि भन्ने शंका लागेको छ ।
दलित गैह्र सरकारी संस्था, मानवअधिकारवादी संघसंस्था कसैले पनि भनेजस्तो चासो देखाएका छैनन् । दलित संघसस्थाहरुलाई घटनाको विषयमा जानकारी गराउँदा उपचारका लागि सहयोग गर्न नसक्ने बरु कानुनी उपचारका लागि वकालत गर्न सकिन्छ भन्ने जवाफ दिए, तर पनि अहिले सम्म कुनै पहल देखिएको छैन । 
सामाजिक सञ्जालमार्फत् मेरो अवस्था सार्वजनिक भए पछि सहयोगी मनहरु बढेका छन् । सबैको ध्यान सहयोगमा केन्द्रित भईरहेको छ तर कानुनी उपचारका लागि ध्यान पुग्न सकिरहेको छैन । अब प्रहरी प्रशासनले मेरो घटनालाई गम्भीरता पुर्वक लिइदिनुहोस् । दोषिलाई सार्वजनिक गरि अदालती प्रक्रियामा पुर्याउन सबै एकजुट भइदिनुहोस् । ताकि आज ममाथि जस्तो भयो, भोलि अरु कोहीमाथि यस्तो आक्रमण नहोस् ।

(बालिका र उनका परिवार सँगको कुराकानीमा आधारित रहेर दिनेश गजमेरले यो सामाग्री तयार पारेका हुन्, गोपनियताको लागि बालिकाको नाम परिवर्तन गरिएको हो ।)