ए हजुर, तपाईको नगर २० वर्षपछि कस्तो हुन्छ ?

Newslaya Home

ए हजुर, तपाईको नगर २० वर्षपछि कस्तो हुन्छ ?

- हिमाल दाहाल
बिहीबार २९, भदौ २०७४

स्थानिय सरकार यतिखेर बजेट योजना बनाउन व्यस्त छ । सबैजसो नगरमा कुन कामको लागि कति बजेट छुट्याउने भनेर योजना बनिरहेको छ । बजेटमा आम्दानी र खर्चको अनुमान गरिन्छ । तर बजेट आम्दानी र खर्चको बाँडफाँड मात्र होइन, नगरले आगामी वर्ष के गर्ने भन्ने योजनाको विस्तृत रुप पनि हो । किनकी बजेट सम्म बनिसक्दा सानातिना योजनाहरुको समेत अनुमान गरिसकिएको हुन्छ । त्यसैले बजेट विनियोजन र नीति तथा कार्यक्रमले नगर वा गाउँलाई दिशानिर्देश गर्छ । यो पटक नगरै पिच्छे विभिन्न विषय प्राथमिकतामा छन् । तर नगरको अत्यावश्यक एउटा कुरा अझै प्राथमिकतामा परेको छैन, त्यो हो गुरुयोजना निर्माण ।
नगर विकासको लागि सबैभन्दा पहिला गुरुयोजना चाहिन्छ । मानिस बिहान घरबाट हिड्दा दिनभरको योजना बनाएर हिड्छ । एउटा व्यक्तिको एक वर्ष, पाँच वर्ष वा २० वर्षको योजना हुन्छ भने नगरको योजना किन नबनाउने ? नगरलाई कस्तो बनाउने, कहिलेसम्म बनाउने, कसरी बनाउने, किन बनाउने र आवश्यक खर्च कसरी जुटाउने भन्ने जस्ता प्रश्नको जवाफ नगर नेतृत्वले खोज्नुपर्छ । 
त्यसको उत्तर दिने भनेको गुरुयोजना नै हो । गुरुयोजनाले वर्षौंपछिको नगरको स्वरुप परिकल्पना गरेर त्यहाँसम्म जाने बाटो बनाउने र कुन समयमा के काम गर्ने भन्ने निर्णय गर्नुपर्छ । आज पूर्वका ठूला नगर भनिने विराटनगर, इटहरी, धरान पनि किन नगर बन्न सकिरहेका छैनन् ? एउटा नगर वा शहरमा हुनुपर्ने गुणहरु यी शहरमा छैनन् । 
त्यसै बिचमा गएको स्थानिय तहको चुनावमा जानेर वा नजानेर दलका नेताहरुले स्मार्ट सिटी बनाउने भनेर भनिदिए । तर यी ठूला तीन शहरहरु स्मार्टको स पनि बन्न सकेका छैनन् । सिंगापुर आफूलाई स्मार्ट नेशन बनाउने सोँचमा मात्र छ । सन् २०२५ सम्ममा आफूलाई स्मार्ट सिटी बनाउने योजना साथ विश्वका २८ वटा शहर लागिपरेका छन् भने हामी विकासोन्मुख देशका फेसबुक मात्र चलाउन जान्ने नेताले स्मार्ट सिटी भनिरहँदा हामीले पत्याइदिइयौं । अहिलेसम्म फोहोर व्यवस्थापन गर्न नसकेको शहरलाई स्मार्ट सिटी बनाउँछु भन्नेहरुलाई हामीले सोध्न सकेनौं, ‘तिमीले भनेको स्मार्ट सिटीमा फोहोर पनि पर्छ ?’ भनेर ।
विकासको सपना देख्नु नराम्रो होइन । तर आफ्नो औकात कति छ, त्यसअनुसारको योजना बन्न सके त्यो साकार हुन्छ । अनि हाम्रो औकात के हो, विकाससम्म पुग्ने हाम्रो दूरी कति हो र त्यसलाई कति समयमा कसरी नाप्ने भन्ने योजना चाहिन्छ । त्यो योजना नै गुरुयोजना हो ।

सजिलो छैन, तर नगरी हुँदैन
गुरुयोजना बनाउन सजिलो छैन । यो योजना आगामी पाँच वर्षका लागि मात्र बनाउने होइन । गुरुयोजनाले वर्षौंपछिको शहरको कल्पना गरेर त्यहाँसम्म जाने मार्गचित्र कोर्न सक्नुपर्छ । पाँच वर्षे मेयरको कार्यकालको पहिलो दुई वर्ष गुरुयोजना बनाउँदै बित्न सक्छ । गुरुयोजनाअन्तर्गत गाउँलाई शहर र शहरलाई गाउँ बनाउने योजना पनि पर्न सक्छ । जंगलमा रेल गुडाउनेदेखि खेतबाट सडक दौडाउने सम्मका योजना पर्न सक्छन् । नगरको पहिचान निर्माण गर्नेदेखि मानिसको आवासलाई कहाँ व्यवस्थित गर्ने, नगरको सुविधासम्पन्न पार्क कहाँ राख्ने, जस्ता योजनाहरु गुरुयोजनाले समेट्छ । त्यसैले यो निकै गाह्रो विषय पनि हो ।
तर गाह्रो भनेर चुप लागेर पनि भएको छैन । पहिले नै कसैले टाउन प्लानिङ गरेर फराकिलो बाटो, पार्कको लागि जग्गा, अन्य भौतिक पूर्वाधारको लागि ठाउँ, फराकिलो नाला जस्ता पूर्वाधार बनाइदिएको भए शहरहरु अस्तव्यस्त हुने थिएनन् । बाटो फराकिलो पार्नुपर्ने सकस नै पर्दैनथ्यो । भारतमा ठूला ठूला राजमार्ग बनेका छन् । त्यो हिजो त्यती फराकिलो बाटो चाहिन्छ भनेर कसैले सोचेर राखिदिएकोले सम्भव भएको हो । 
बसपार्क कहाँ, कत्रो बनाउने, सडकलाई कति चौडा पार्ने, एअरपोर्ट, रंगशाला कहाँ बनाउने र त्यसको लागि कति जग्गा किन्ने वा व्यवस्थापन गर्ने भन्ने जस्ता योजनाहरु हिजै बनेको भए, अहिले नगर अति व्यवस्थित भइसक्थ्यो । त्यसैले हिजोको नेतृत्वले गरेको कमी कमजोरीलाई अब सच्याउन आवश्यक छ । खासगरी कर्मचारीले गर्न नसकेको काम स्थानिय सरकारले गर्न सक्नुपर्छ ।

पछि आउने सरकारलाई सजिलो
गुरुयोजना बनाउनको लागि लाखौं रकम र समय लाग्छ । हतार गरेर हुन्न, तर समय छँदैछ भनेर पनि हुँदैन । अहिलेको स्थानिय सरकारले साना तिना काम गर्दै गुरुयोजना मात्र बनायो भने पनि त्यसले आगामी १० वटा सरकारलाई काम गर्न सजिलो बनाइदिन सक्छ ।
गुरुयोजना अनुसार नै काम हुने हुँदा जुनसुकै सरकार आए पनि त्यही योजनालाई कार्यान्वयन गर्छ । यसले वर्षेनी कुन योजनालाई प्राथमिकता दिने भन्ने विवाद र योजना छनोटको टाउको दुःखाइलाई कम्तिमा आगामी १० वर्षसम्मका लागि कम गर्छ ।
हुन त गुरुयोजनाहरुलाई समयसँगै परिवर्तन गर्न सकिन्छ । किनकी भविष्यका योजनाहरु अनुमानमा आधारित हुन्छन् र अनुमान गरेभन्दा फरक समय र परिस्थिती उत्पन्न भएमा पुरानै योजना लागु गर्न खोज्नु दुर्भाग्यपूर्ण हुन्छ । तर अनुमान गरिएको परिस्थिती नै रहीरहेको अवस्थामा कुनै दल वा व्यक्ति विशेषको स्वार्थमा योजना परिवर्तन गर्ने प्रयास हुन सक्छ । तर गुरुयोजनाले त्यस्तो दुष्प्रयासहरुलाई रोक्छ । जस्तै कुनै ठाउँ भएर बाटो बनाउने गुरुयोजना बनाइएको थियो भने कुनै नगरप्रमुख परिवर्तन हुँदैमा बाटो उसको घर वा जग्गाको छेउ भएर घुम्दैन ।

स्थानिय स्रोत साधनको अधिकतम प्रयोग 
राम्रो गुरुयोजनाले स्थानिय स्रोत र साधनको अधिकतम उपयोग गर्छ  । हामीसँग जल, वायु, जंगल, जमिन जस्ता स्रोत र साधनहरु छन् तिनको उपयोग गरेर नगरको आय बढाउँदै विकास निर्माणदेखि शहरीकरणसम्मका काम हुन्छन् । यसैले खेर गइरहेको पानीलाई सदुपयोग गरेर जलविद्युत् निकाल्ने कि माछा पाल्ने कि डुंगामा शयर गर्ने गरी तलाउ बनाउने, पाँच वर्षमा के गर्ने, १० वर्षमा के गर्ने भन्ने योजनाहरु गुरुयोजनाभित्र समेटिन्छन् । 
नगरभित्र जंगल छ भने कति पार्क बनाउने ? जंगललाई कुन विशेषता युक्त बनाउने ? आगामी २० वर्षमा पनि जंगललाई कसरी बढी उपयोगी र घना बनाउने भन्ने योजना बनाउनुपर्छ । जोगबनीदेखि किमाथांका जोडिने गरी सडक बन्दैछ । सडकले भारत–नेपाल–चीन बिचको व्यापारलाई प्रबद्र्धन गर्छ । यो सडक पूर्वका तीन वटा ठूलो नगर भएर जान्छ । सडकलाई आफ्नो नगरको हितमा कसरी प्रयोग गर्ने योजना खै ?
नगरलाई आगामी १० वर्षपछि चाहिने डाक्टर, इन्जिनियर कहाँबाट आपूर्ती गर्ने ? नगरमा १० वर्षमा देशमै आधुनिक विज्ञान प्रयोगशाला बनाउने योजना बनाइयो भने त्यसको लागि आवश्यक जनशक्ति कहाँबाट त्यतीखेरको कति खर्चमा ल्याउने र त्यसको स्रोत कहाँबाट जुटाउने योजनाहरु बनाउन आवश्यक छ । औद्योगिक केन्द्र बनाउने हो भने त्यसको पूर्वाधार कसरी बनाउने र उद्योगलाई आफ्नो क्षेत्रमा खोल्न प्रोत्साहित गर्न कस्ता नीति अपनाउने भन्ने कुरा भविष्यको प्रतिष्पर्धासमेतलाई विचार गरेर आजै योजना बनाउनुपर्छ ।
नगरले सरकारको मात्र मुख ताकेर हुँदैन । आन्तरिक आय कसरी वृद्धि गर्ने, उत्पादन मुलक उद्योग कसरी वृद्धि गर्ने, व्यवशायिक संस्थाहरुलाई कसरी प्रबद्र्धन गर्ने र उनीहरुबाट बढी कर कसरी संकलन गर्ने, योजना बनाउनुपर्छ । बाहिरबाट ऋण वा सहयोग के लिने र कसरी लिने, त्यसको पनि योजना चाहिन्छ । आगामी २० वर्षमा कसको कति ऋण लिने र त्यो कसरी तिर्ने, मोटामोटी अनुमान चाहिन्छ ।

तत्कालका लागि यसो गरौं
गुरुयोजनाको लागि नेतृत्व भिजनरी हुनुप¥यो । भिजन भएर मात्र पनि भएन, व्यवस्थापन सीपसमेत हुनुपर्छ । व्यवस्थापन भनेको अरुबाट काम गराउने कला हो । नेतृत्वले कामको बाँडफाँड सहि तरिकाले गर्ने अनि सहि तरिकाले काम भए, नभएको हेरेर नियन्त्रण गर्ने गर्नुपर्छ । त्यसको लागि अरुलाई विश्वास गर्न र अरुको विश्वास लिन सक्नुपर्छ । नेतृत्वलाई सबै कुराको ज्ञान हुँदैन, नजानेका कुरा जान्ने विज्ञसँग सोध्नुपर्छ ।
नगरमा विभिन्न समितिहरु बनेका छन् । प्रत्येक समितिले बनाउने योजनामा विज्ञहरु सहभागि हुनुपर्छ । सबै पक्षले विश्लेषण गरेर फाइदाजनक योजनाहरुको विस्तृत रुप तयार पार्नुपर्छ । 
जनप्रतिनिधिहरुले आफ्नो ठाउँको आवश्यकता बोध मात्र गर्छन् अनि विवादहरुमा सबैलाई समेटेर लान्छन् । तर उनीहरु आवश्यकता पूरा गर्ने विकल्पहरु र त्यसको व्यवहारिक, आर्थिक, भौतिक पक्षबारे जानकार हुँदैनन् । त्यो जानकारी विज्ञले दिन्छन् ।
यसरी व्यवस्थित तवरले गुरुयोजना बनाएर काम गर्न सके नेतृत्व सफल हुन्छ । अनि गुरुयोजना नबनुन्जेल भने तात्कालिन योजना बनाउनुपर्छ । स्थानिय सरकारले पहिलो नगर सभामा यी कुराहरुलाई प्राथमिकतामा राख्नुपर्छ :

  • नगरको आफ्नो सुविधासम्पन्न सुचना केन्द्र (नगरको नक्सादेखि अन्य आवश्यक विषय समेटिने गरी)
  • ढल तथा नालाको व्यवस्थापन
  • सुविधासम्पन्न अस्पताल
  • फ्रि वाइफाई वा सुलभ वाइफाइ 
  • व्यवस्थित बसपार्क र बस स्टेण्डहरु
  • दुई वर्षभित्र धुलौटे सडकलाई ग्राभेल र ग्राभेललाई पक्की 
  • नगरका कुनै पनि सडक भत्केको वा खाडल परेको तीन दिनभित्र मर्मत गरिसक्ने कार्ययोजना
  • प्रत्येक वडामा पार्क, चिल्ड्रेन पार्कहरु
  • फोहोर व्यवस्थापनको लागि व्यवस्थित ल्याण्डफिल्ड साइड र प्रभावकारी संयन्त्र
  • करका दायरामा वृद्धि र कर तिर्नेलाई विशेष सुविधा
  • उत्पादनमुलक उद्योगहरुलाई प्रोत्साहन
  • जातीय र साँस्कृतिक संग्रहालय
  • सुविधासम्पन्न स्टेडियम
  • नविन र नगर विकासका नयाँ आइडियाहरुलाई प्रोत्साहन
- हिमाल दाहाल