​केन्द्रमा रहेका ८६ हजार कर्मचारी तीन तहमा खटाउने तयारी

Newslaya Home

​केन्द्रमा रहेका ८६ हजार कर्मचारी तीन तहमा खटाउने तयारी

सोमबार २६, भदौ २०७४

काठमाडौं । सरकारले संघीयता कार्यान्वयनसँगै केन्द्रमा रहेका ८६ हजार निजामती कर्मचारी तीन तहमा खाटाउने तयारी गरिरहेको छ । सरकारले यी कर्मचारीलाई संविधानको धारा ३०२ को उपधारा २ अनुसार संघ, प्रदेश र स्थानीय तहमा खटाउने तयारी गरेको हो । 
कर्मचारी समायोजन विधेयक संसद्मा छलफलका क्रममा रहेकाले कर्मचारी खटाउन केही समय लाग्ने सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बताए । 
सामान्य प्रशासन मन्त्रालय र विभिन्न उच्चस्तरीय समितिले सबैभन्दा बढी कर्मचारी स्थानीय तहमा आवश्यक रहेको बताएका छन् । उनीहरुले यसको संख्या ४१ हजारभन्दा बढी हुने आकलन गरेका छन् । त्यसैगरी, प्रदेशमा २० हजार र संघमा २५ हजारसम्म कर्मचारी आवश्यक पर्ने अनुमान उनीहरुले गरेका छन् ।
यी कर्मचारीलाई कर्मचारी समायोजन ऐन आउनासाथ तीन तहमा खटाउन सुरु हुने सामान्य प्रशासन मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी नमराज घिमिरेले बताए । निजामती किताबखानाका अनुसार हाल देशभर मन्त्रालय, विभाग, आयोग र अन्य गरी आठ हजार पाँच सय ८९ कार्यालय छन् ।