छतमा सामान राख्न पाएपछि मंगलबारदेखि बस बुकिङ खुला

Newslaya Home

छतमा सामान राख्न पाएपछि मंगलबारदेखि बस बुकिङ खुला

आइतबार २५, भदौ २०७४

काठमाडौ । दशैमा राजधानीबाट बाहिर जाने यात्रुका लागि यातायात व्यवसायीले मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने भएका छन् । 
बढी भाडा लिन पाउने र हुटमा यात्रु राख्न पाउने आफ्नो माग सरकारले पूरा गर्ने भएपछि बुकिङ खुला गर्ने भएका हुन् । पानीका कारण बिग्रिएका सडक मर्मत गर्ने र छतमा सामान राख्न दिन सरकार सहमत भएपछि बुकिङ खुलाउने विषयमा सहमति बनेको हो ।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा बस, मिनिबस र माइक्रोमा हुट र छत राख्न नपाइने र राखेमा यातायात इजाजतपत्र छ महिनाका लागि निलम्बन र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । 
शनिबार यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायरको उपस्थितिमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघका प्रतिनिधि सहितको बैठकले यस्तो सहमति जुटाएको हो । 
व्यवसायीले सडकको अवस्था सुधार तथा छतमा सामान राख्न पाउनुपर्ने आफूहरुको माग पुरा नभएसम्म टिकट बुकिङ खुल्ला नगर्ने बताउँदै आएका थिए । 
विभागले भने १५ दिन अगाडि टिकट बुकिङको व्यवस्था मिलाउन, सिट संख्या अनुसार यात्रु राख्न, छतमा यात्रुका झोला मात्रै राख्न तथा तोकिएको भाडा दर कायम गरि स्पष्ट उल्लेख भएको टिकट यात्रुलाई दिनुपर्ने लगायत निर्देशन दिदै अग्रिम टिकट बुकिङ नखुलाए कारबाही गर्ने चेतावनी दिएको थियो ।