क्यान्सरसँग जुध्दै बासुदेव मुनाल

Newslaya Home

क्यान्सरसँग जुध्दै बासुदेव मुनाल

शनिबार २४, भदौ २०७४

काठमाडौ । जय नेपाल  ! आउ मेरा प्यारा प्यारा भाई बैनी हो, रेडियो नजिक आउ अब सुरु हुन्छ तिमीहरुकै बाल कार्यक्रम ,
सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रममार्फत बालबालिका बिच प्रस्तुत हुने हाम्रा पुराना रेडियो प्रस्तोता बासुदेव मुनाल बिरामी भएका छन् । मुनालको घाँटीमा क्यान्सर  (पाइरोफ़ोम साइनस) भएको पुष्टि भएको छ । गत आइतबारदेखि भक्तपुर क्यान्सर अस्पतालमा मुनालको उपचार भइरहेको छ । राष्ट्रको निधिका लागि सेवाभाव राख्दै सम्पूर्ण उपचार खर्च मिनाहा गर्ने भक्तपुर अस्पतालले जनाएको छ ।
घाँटी दुखेर उपचार गर्न जाँदा क्यान्सरको लक्षण देखिएको सुपुत्र गायक मोहित मुनालले बताए । बाबाको उपचारमा संलग्न डा .उज्ज्वल चालिसेले क्यान्सर भएको पुष्टि गरेको मोहितले बताए ।  ११ बर्ष अघि उनलाई एक्कासी लडेर ब्रेन ह्याम्ब्रेज भएको थियो ।
बि.स. २००६ सालमा बिराटनगरमा जन्मिएका उनले रेडियो नेपालमा ४ दशक बिताएका थिए । रेडियो नेपालबाटै उनले आफ्नो करियर सुरु गरेका हुन् । रेडियो नेपालको बाल कार्यक्रमले नै उनलाई बालबालिका बीच मात्र नभएर सिङ्गो नेपाली समाजमा नै रेडियो प्रसारणको एक सफल हिरो बनायो, सूचना र संचारको क्षेत्रमा एक लोकप्रिय कार्यक्रम प्रस्तोताको रुपमा चर्चित वनायो।
चर्चित गायक, गीतकारको परिचय बेग्लै छ उनको । थुप्रै लोक शैलीका गीतहरु गाएका छन् । पानी खाने निउंले तिम्रो घरमा आउँला, लालुपाते फुलेर लाल भयो, बाँसुरीको धुनमा मादलुको तालमा, झम झम इष्टकोट ९ पाण्डव सुनवार सँग युगल  आदि उनका धेरै चलेका लोक गीतहरु हुन् जसले उनलाई लोक संगीतको क्षेत्रमा गायक बासुदेव मुनाल भनेर चिनिने गरिएको छ ।