पैसा, पद, प्रतिष्ठामा कांग्रेस : नेता महत

Newslaya Home

पैसा, पद, प्रतिष्ठामा कांग्रेस : नेता महत

शनिबार २४, भदौ २०७४

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले बिपीको विचारलाई अवलम्बन गर्नुभन्दा पनि पैसा, पद, प्रतिष्ठा र सत्तामा बढी ध्यान दिएर नेपाली कांग्रेस पछाडि परेको बताएका छन् ।
नेपाली कांग्रेस मध्यपुर थिमि नगर कार्य समितिले शनिबार भक्तपुरमा गरेको बिपी कोइरालाको १०३ औँ जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान राजनीतिक परिप्रेक्षमा बिपीको विचारको सान्दर्भिकता विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
पार्टीका नेता तथा कार्यकर्ता पद र प्रतिष्ठाका लागि मात्रै दौडधुप गर्ने प्रबृत्ति हाबी भएको बताउँदै उनले अहिले सत्ता, पैसा र पद मै हालालुछ हुन थालेको  र ६–६ महिनामा सत्ता परिवर्तन भइरहे पछि यस्तो भएको बताए ।
यसरी देश अगाडि बढे आगामी दिन सजिलो नहुने बताउँदै उनले सत्ता, पद, पैसा र प्रतिष्ठाका लागि मरिमेट्ने प्रबृत्ति त्याग्नु पर्ने बताए । 
पूर्वअर्थमन्त्री समेत रहेको महतले स्थानीय तहका पदाधिकारीले भत्ता, सेवा र सुविधामा मात्रै ध्यान दिने गरेको र विकास बजेट समेत त्यसैमा सकिएको भन्दै  चिन्ता व्यक्त  गरे । बिपी र गणेशमानले सत्ता र पदलाई त्यागेर पार्टीलाई शिरोपरी गरेजस्तै काँग्रेसको मूल्य र मान्यतालाई स्मरण गर्दै नेता, कार्यकर्ता अगाडि बढ्नु पर्ने उनले बताए ।