​यसरी गरौं बाढी क्षेत्र र बाढी पीडितको व्यवस्थापन

Newslaya Home

​यसरी गरौं बाढी क्षेत्र र बाढी पीडितको व्यवस्थापन

- मीना श्रेष्ठ
बिहीबार २२, भदौ २०७४

२०७२ को महाभुकम्पले हल्लाएको मन राम्रोसँग थिग्रन पनि नपाउँदै पूर्वी तराईमा अर्को विपत्ति आइपुग्यो । त्यो पनि अचानक ।
‘विपत्ति बाजा बजाएर आउँदैन’ भन्ने भनाई यो पटक पूर्वी तपाईमा आएको बाढीले पुष्टि गर्यो । बेखबर आएको बाढीले धेरैलाई बेघर बनाइदियो भने कतिलाई बेपत्ता बनायो । धेरैको आँखै अगाडि घर बगायो । कतिले एउटा हातमा काखे छोरा र अर्को हातमा श्रीमती समाइरहेको बेलामा श्रीमतीसँगको हात छुटेपछि श्रीमती बेपत्ता भएको बिलौना गरे । बगेर आएको काठ मुनी कुहिएको लास भेटिएको अवस्था कस्तो भयो होला ?
बच्चाको बर्थ डे को रमाइलोमा रमाइ रहँदा खोला पनि पाहुना बनी घर भित्र पसेर सबै सोहोरेर लगिदिन्छ भन्ने के थाहा ? अनि त्यही गाउँमा मोबाइलमा दिदी सँग कुरा गरीरहेकी सानुमाया लाई के थाहा कि खोलाले बगाएर लान्छ तर जिन्दगी खोलासँग जुधेर खोलालाई जितेर फर्केर आउँछ भनेर ।
कहिँ छोराछोरी जोगाउन जाँदा जीवन सकियो, कोहि घरको दराज जोगाउन जाँदा बगेर गए । गोठमा बाँधेर राखेको गाई वस्तुको मायाले गोठमा आइपुगेकाहरुको जिन्दगी पनि फुकेर गयो । 
क्षती भएको घर परीवार कहालीलाग्दो पिडाबाट गुज्रिएका छन्, उनीहरुको मन मष्तिष्कमा कहिल्यै नमेटिने घाउ लागेको छ । यो घाउमा जस्तोसुकै मल्हम लगाय पनि निको हुने छैन । खाटा मात्रै बस्नेछ । क्षतीग्रस्त घरमा बस्न योग्य भय पछी जनजीवन सामान्य हुँदै आएको छ, तर केही परिवारहरु आफन्त विहिन छन् । सदस्य विहिन छन् । इटहरीको यो विपत्तीलाई मैले निकै नजिकबाट नियालेँ ।
विपत्तिमा विभिन्न संघ सस्थाहरु अनेकौं खाले सहयोग लिएर बाढी पीडितकोमा पुगे । कतै खाध्यान्न, कतै लत्ताकपडा । युवा संघ नेपालले पनि विभिन्न स्थानमा श्रम शिविर सञ्चालन गर्यो । क्षतीग्रस्त घरहरुलाई बस्न योग्य बनाउन सामुहिक रुपमा खटियो । यस्तो सहयोगले त्यहाँका युवा र स्थानियहरुलाई साहस दियो । धन्न ! तपाईं हरु आउनु भयो भगवान बनेर भन्दै खुशी व्यक्त गरेको सुन्न पाइन्थ्यो । 
बाढी अनेकौं कोणबाट बहसमा आयो । खोलाका किनारमा बस्ती बस्नु, गाउँ निर्माण हुनु कत्ति जायज र कत्ति नाजायज थिए ? यी कुरामा वास्तवमै बहस हुन जरुरी छ । हिजोको दिनमा यति ठूलो ठुला बाढी आयका थिएनन् । हिजो ४० को स्पिडमा दौडिरहेको खोला आज १४० को स्पिडमा ठूलो परिणाममा पानी बोकेर दौडिँदा वरपरका घर र गाउँ बगाउनु स्वभाविक हो । 
सयौँ घर बगाउँदै, हजारौंका सपनाहरू पुरिदिँदै बेघर, बेपत्ता अनि मृतक बनाउने बाढीमा भएको क्षतीको दोष कसको ? हिजोको दिनमा एउटा दलले किनारमा बस्ती बसायो । अर्को दलले बिजुली पुर्याइदियो, टेलीफोन पुग्यो बाटो मर्मत गर्यो । अनि हेर्दाहेर्दै खोलाको किनार सुन्दर बस्ती भयो । त्यहाँ सुरूप संसार निर्माण भएको थियो तर त्यहाँ कल्पना पनि गरीएन कि यति ठुलो बाढी आउँछ र सुन्दर संसारमा बाढीको भेलसँगै आँशुको भेल पनि पस्छ भनेर । 
अब त आँशुहरु ओभाउन थालेका छन् । अब बाढी पीडित लाई त्यहीँ पुन निर्माण कि पुन स्थापित या स्थानान्तरण भन्ने विषयमा पुग्नै पर्छ । सधै त यस्तो विपत्ति नआउला, तर आइगए कति राहत बाँड्ने कति राहतको भरमा कतिन्जेल बाँच्ने ? यस्ता प्रश्न उठाउन जरुरी छ । 
खोलाका छेउमा बस्नेहरु अधिकांश मानिस ‘सुकुम्बासी’को बिल्ला लगाएका हरु छन् । तीमध्ये कति मानिस वास्तविक सुकुम्बासी हुन्, छानविन गर्न आवश्यक छ । वास्तविक सुकुम्बासीको परिचय पत्र लागु गर्न आवश्यक छ । वास्तविक सुकुम्बासीहरु, जो खोलाका किनारमा जीवन जिउन बाध्य छन्, तिनको त्यो जीवन उकास्न आवश्यक छ । 
उनीहरुलाई स्थानान्तरण गरिनुपर्छ, तर उनीहरु जुन वार्डमा छन्, त्यही वार्डमा व्यवस्थित र सुविधाजनक घर निर्माण गरेर स्थानान्तरण गरीनुपर्छ । एउटा २५ तलाको अपार्टमेन्टलाई दुई भागमा राख्दा ५० वटा परीवारलाई बसाउन सकिन्छ । यस्तो गर्दा खोलामा ओगटिएको जति क्षेत्रफल पनि ओगटिँदैन । थोरै जग्गामा धेरै परीवारलाई स्थापित गर्न सकिन्छ । 
स्थानीय सरकारले जग्गा खरीद गरि बनाएको त्यो अपार्टमेन्टलाई सुकुम्बासीहरु लाई किस्ताबन्दीमा बेच्नुपर्छ । घर भाडा तिरे जस्तो गरेर निश्चित अवधीभित्र भुक्तानी भैसकेपछि त्यो त्यही परीवारको नाममा पास गरीदिनु पर्छ । 
मासिक भाडा तिर्नुपर्ने भएपछि त्यहाँ बस्नेहरुले कुनै न कुनै व्यवशाय गर्नैपर्छ । उत्पादनमा सरिक हुनैपर्छ । खोलाको किनारमा बसेर एउटा दुइटा सुगुर पालन गर्नुभन्दा अपार्टमेन्टमा बसेर जग्गा लिजमा लिएर सय वटा सुँगुर पाल्दा व्यवशायिक विकास हुन्छ । 
यसो गरिसकेपछि खोला किनारमा घर बाहेकका अन्य भत्किएका संरचनाहरु, बगाएर किनारमा पछारिएका पुलको भग्नावशेषहरुलाई घेराबारा गरि पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्छ । यस्तो क्षेत्रमा देश तथा विदेशबाट पर्यटकहरु आएर अवलोकन गर्न सक्छन् । बाढी जस्ता प्राकृतिक प्रकोप आउँदा कस्तोसम्म क्षती पुर्याउन सक्छ भन्ने विषयको अध्ययन गर्नको लागि उपयोगि हुन सक्छ । बाँकी भएको भुभागमा सुन्दर हरीयाली पार्क निर्माण गर्न सकिन्छ । यसो गर्दा विपद व्यवस्थापनसँगै पर्यटन प्रवद्र्धन पनि हुनेछ । 
अबको दिनमा खोलालाई कसरी बग्न दिने भन्ने बहससँगै विपत्तीले बगाएको ठाउँलाई सुन्दर हरीयाली पार्क बनाएर विपदलाई शक्तिमा बदल्ने तर्फ पनि ध्यान दिन आवश्यक छ ।
- मीना श्रेष्ठ