फरक छन्, बाढी पीडित महिला र किशोरीका समस्या

Newslaya Home

फरक छन्, बाढी पीडित महिला र किशोरीका समस्या

–रञ्जु सिग्देल
सोमबार १९, भदौ २०७४

इटहरीमा साउन–२७ गते बाढी आउँदा हामी सबै डुबानमा थियौं । म धरानमा थिएँ, आफ्नै घर डुब्यो भनेर राती थाहा पाएँ । तर इटहरी आइपुग्दा बिहान ९ बज्यो । बिहान कसैको फोन लागेन । रातिदेखि नै नेटवर्क बन्द थियो । म सिधै बूढी खोला गएँ । त्यसपछि प्रणामी मन्दिर पुगें । त्यहाँ पीडितहरु थिए । एक्लै भिजिट गरें ।  
त्यही दिनदेखि उद्योग वाणिज्य संघ र नगरपालिकाको पहलमा विपत्मा परेकाहरुका लागि कम्बल र खाद्यान्न वितरण थाल्यौं । जनता स्कुल, राधाकृष्ण मन्दिर, सरस्वती स्कुललगायतका ठाउँमा बाढी पीडितहरु छरपष्ट थिए । उनीहरुलाई विभिन्न संघ–संस्थाको पहलमा सुरक्षित ठाउँमा राखिएको थियो । सबै ठाउँमा राहत लिएर पुग्न सक्ने अवस्था पनि थिएन । बाटो बिग्रिएको थियो । पानी परिरहेको थियो । 
 हामी महिला दिदी बहिनिहरुको समस्याप्रति बढी चिन्तित भयौं । दुई दिनसम्म त वास्ता भएन । त्यसपछि हामीले शिविरमा बसेकाहरुलाई ध्यान दियौं । त्यहाँ महिलाहरु, साना बच्चा सहित, किशोरी र गर्भवती महिलाहरु धेरै देख्यौं । हामीले उनीहरुसँग कुरा गर्न थाल्यौं । विपत्मा परेका महिला तथा किशोरीहरुले समस्या शेयर गर्न थाले । एउटै कोठामा महिला, पुरुष सँगै बस्दा समस्या भयो भन्ने कुरा गरे । हाम्री छोरी तरुनी छ, हामीलाई समस्या छ भन्ने कुरा गरे ।  फेर्ने लुगा सबैतिरबाट आइसकेको थियो । तर महिला र किशोरीलाई आवश्यक छ भन्ने बुझेर १० हजार रुपैयाँ बराबरको सेनेटरी प्याड वितरण गर्यौं । हामी खनार गयौं । त्यहाँ स्यानेटेरी प्याड प्रयोग गर्ने तरीका नै थाहा थिएन । उनीहरु कपडा प्रयोग गर्थे ।
त्यो वितरण गर्न जाँदा उनीहरुले हामीसँग भित्रि लुगा छैन भनेर गुनासो गरे । त्यसपछि  एक सेट भित्री लुगा लिएर खनार, प्रणामी मन्दिर, राधाकृष्ण मन्दिर, सरस्वती पार्टी प्यालेसलगायतका ठाउँमा वितरण गर्यौं । हामीले त्यसरी भित्रि लुगा लगेर वितरण गर्दा सरस्वती पार्टी प्यालेसमा रहेका मरिक टोलका किशोरीहरु धेरै खुसी भए । तपाईहरुले हाम्रो मनको कुरा बुझिदिनुभयो भनेर भने । खुसी भएर धन्यवाद दिए । 
शिविरमा गर्भवती महिलाहरु थिए । डेलिभरी डेट कटेर बसेका दुई जना भेटेँ । एक जनालाई तुरुन्तै अस्पताल पठायौं । बच्चा भएर फेरी शिविरमा आए । त्यहाँ सुत्केरीहरु पनि थिए । तर उनीहरुका लागि कतैबाट सहयोग आएको थिएन । ६ महिना मुनीका बच्चा २५ जना भेट्यौं । 
त्यस्ता बच्चालाई हप्ता दिन पनि पौष्टिक तत्व नखुवाउँदा स्वास्थ्यमा समस्या हुन्छ भनेर आफ्नै पहलमा लायन्स क्लब इटहरी सिटीको सहयोगमा रकम जुटाएर पुग्न सक्ने ठाउँहरुमा हर्लिक्स, स्यार्लिक्स, फलफूल, जुस पुर्यायौं । खनारमा एक जना बच्चालाई निमोनिया भएको शंका गरेर ल्याएर उपचार गरायौं । अझै पनि धेरै बालबालिकाहरु स्वास्थ्यको जोखिममा छन् ।  
अस्ती भर्खर एक जनालाई नोबेल अस्पतालमा डेलिभरी गराएर फेरी ल्याएर टेन्टमा राख्यौं । टेन्टमा सुत्केरीको बसाई सुरक्षित छँदै थिएन । ती महिला मेरो घरमा पहिले देखि काम गर्ने भएकोले पनि ती सुत्केरीलाई मेरो अफिसको एउटा कोठामा ल्याएर राखेँ । तर त्यस्ता धेरै महिलाहरु निकै सास्तीपूर्वक जीवनयापन गर्न बाध्य छन् ।
जोखिममा रहेका बालबालिकाको रेकर्ड जनप्रतिनिधिहरुसँग माग्यौं । तर रेकर्ड पाउन ढिलो हुँदा पनि हामी आफैं गएर शिविर शिविरमा सोधेर रेकर्ड लियौं र सहयोग गर्यौं । पछिल्लो समयमा सर्वोत्तम पिठो वितरण भयो भनेर सरकारी निकायले भने । तर इटहरीको सन्दर्भमा त्यसरी बाँडिएको थाहा छैन । 
अझै धेरै महिला र बालबालिका टेन्टहरुमा छन् । कति गर्भवती महिलाहरुको आज कि भोलि भएको छ, महिना पुग्न । यस्तो सम्झिरहँदा जब वर्षा हुन्छ, मन चिउँ चिउँ हुन्छ । त्यो पालमा रहेका महिला र बालबालिकाको अवस्था कस्तो होला भनेर ।
हावा चल्दा, पानी पर्दा पालमा कठिनाई छ । हरेक पटक नगरपालिकासँग बसेर पुनस्र्थापना गर्न साना बालबालबालिकालाई के गर्ने भनेर छलफलमा छौं । तर के गर्ने भन्ने टुंगो लागिसकेको छैन । मैले बाहिरबाट आएको सहयोगले गर्भवती र सुत्केरीलाई सहयोग गर्नुपर्छ भनेको छु, तर त्यती थोरै पैसाले केही हुँदैन । 
अझै पनि भदौ असोजमा डेलिभरी हुने केही महिलाहरु छन् । एक महिना मुनीको सुत्केरी सात जना र भर्खर जन्मेको पकली, सुनौलो टोलका र गैरी गाउँका समेत गरेर चार जना हुन्छन् । एउटी आमा र उनीबाट जन्मन खोजिरहेको सानो बच्चालाई ध्यान दिनुपर्ने आवश्यकता छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • Govinda Bhattaraiलेख्नुहुन्छ
  • |
  • बुधबार २१, भदौ २०७४
ती सहयोगी हात लाई हृदय देखि नै सलाम गर्न चाहान्छु । यहि हो बेला एक नेपालिले अर्को नेपाली दाजु भाइ तथा दिदी बहिनी लाई सहयोग गर्ने धन्यवाद छ हजुर लाई दुखी को मर्म बुझेर आवस्यक समग्री बितरन मा सहयोग पुर्याउनु भयेको मा ।