रक्सीमा इनर्जी ड्रिंक्स मिसाउन नहुने

Newslaya Home

रक्सीमा इनर्जी ड्रिंक्स मिसाउन नहुने

मङ्गलबार १७, साउन २०७४

हालै क्यानाडामा गरिएको अनुसन्धानले रक्सीमा इनर्जी ड्रिंक्स मिसाएर पिउनु स्वास्थका लागि खतरनाक भएको देखाएको छ । इनर्जी ड्रिंक्समा रहेको क्याफेनको कारण मानिसहरुलाई नशा चढेको महसुस नहुने र तिनीहरुले सामान्य अवस्थामा भन्दा बढी रक्सी पिउने बताइएको छ । यसबाट दुर्घटना हुने संभावना बढी रहेको छ।
अनुसन्धानकर्ताहरुले यसको कारण सुत्नमा पनि समस्या आउने र मुटुको स्पन्दन बढाउने बताएका छन् । अहिले पब, क्लब र घरमै पनि रक्सीसंग रेडबुल र मोन्स्टरजस्ता इनर्जी ड्रिंक्स मिसाएर पिउने चलन निकै लोकप्रिय हुँदै गइरहेको छ । तर हालै सम्पन्न अनुसन्धानले अन्य चिजसँग मिसाएर वा केही नमिसाई रक्सी पिउनुभन्दा इनर्जी ड्रिंक्स मिसाउनु धेरै खतरनाक हुने बताएको छ ।
सन् १९८१ देखि २०१६ सम्म क्यानाडाको युनिभर्सिटी अफ भिक्टोरियामा गरिएका यससम्बन्धी १३ वटा अध्ययनलाई पुनरावलोकन गरिंदा इनर्जी ड्रिंक्ससँग रक्सी पिउँदा दुर्घटना हुने खतरा बढी रहेको पाइएको छ । २ सय ५० मिलिलिटर इनर्जी ड्रिंक्समा करिब ८० मिलिग्राम क्याफेन हुन्छ। जबकी ३ सय ३० मिलिलिटर कोकाकोलामा ३२ र डाइट कोकमा ४२ मिलिग्राम क्याफेन हुन्छ।
क्याफेन बढी मात्रामा सेवन गरेमा चिन्ता लाग्ने, अत्तालिने र रक्तचाप बढ्ने जस्ता लक्षण देखिन थाल्छन् । गर्भवती र स्तनपान गराउने महिलाहरुलाई दिनमा २ सय मिलिग्रामभन्दा बढी क्याफेन सेवन गर्ननहुने बताइएको छ ।