अण्डाको पहेँलो भाग खाने कि फाल्ने ?

Newslaya Home

अण्डाको पहेँलो भाग खाने कि फाल्ने ?

मङ्गलबार १७, साउन २०७४

शारीरिक सुगठनका लागि कठोर व्यायाम गर्ने व्यक्तिहरु आफ्नो शरीरमा मांसपेशी बढाउन प्रोटिन चाहिने हुनाले दिनहुँजसो अन्डा खान्छन् तर अन्डाको पहेँलो भाग फ्याँक्छन् ।
उसो त उमेर बढ्दै गएपछि रोगको डरले पनि केही मानिस अन्डाको पहेँलो भाग खाँदैनन् । स्वास्थ्यप्रति संवेदनशील कतिपय बाबुआमाले आफैं पनि नानीहरुलाई पहेँलो भाग खान दिँदैनन् ।
अन्डाको पहेँलो भाग फाल्ने यी सबैको एउटै बुझाइ छ, त्यसमा कोलेस्ट्रोलको मात्रा बढी हुन्छ । विज्ञहरुका अनुसार कोलेस्ट्रोल बढी भएका खानेकुरा खाएमा हाम्रो शरीरमा पनि कोलेस्ट्रोल बढ्छ । यसले हाम्रो शरीरमा रक्तसञ्चार प्रणालीको प्रवाहलाई असर गर्छ र हृदयरोगको सम्भावना बढाउँछ। तर पछिल्लो अनुसन्धानले भने अन्डाको पहेँलो भागप्रतिको अहिलेसम्मको बुझाइ गलत भएको निष्कर्ष निकालेको छ ।
टाइम म्यागेजिनले अनुसन्धान उद्धृत गर्दै लेखेको छ, ‘अत्यधिक कोलेस्ट्रोल भएका खानेकुरा खाँदैमा हाम्रो रगतमा कोलेस्ट्रोल बढ्छ भन्ने तर्क गलत हो। बरु शरीरमा कोलेस्ट्रोल बढी छ भने अन्डाको सम्पूर्ण भाग खाए त्यसले फाइदा पुग्न सक्छ ।’
अन्डाको पहेँलो भागमा स्वस्थ र अस्वस्थ चिल्लोपदार्थको मिश्रण हुन्छ। त्यसमा ‘भिटामिन ई’ को मात्रा पनि हुन्छ । अन्डाको पहेँलो भागको वास्तविक फाइदा भनेको त्यसमा ‘कारोटेनोइड’ भन्ने तत्व पाइनु हो । ‘कारोटेनोइड’ त्यस्तो पौष्टिक तत्व हो जुन वनस्पति र बोसोमा पाइन्छ । ‘कारोटेनोइड’ कै कारण अन्डाको केन्द्रीय भाग र वनस्पतिको रंग पहेँलो भएको हो । अन्डाको पहेँलो भागमा ‘कारोटेनोइड लुटेन’ र ‘जिक्सानथिन’ प्रशस्त हुन्छ, जसले आँखालाई स्वस्थ राख्न र शरीरमा पीडा हुनबाट बचाउन सहयोग गर्छ । अन्डामा पाइने कारोटेनोइड खाँदा विशेष फाइदा हुन्छ। त्यसैले, अन्डाको पूर्ण भाग स्वस्थकर खाद्य पदार्थको प्याकेज नै हो भन्ने अनुसन्धानको निष्कर्ष छ ।
दुईवटा ठूलो आकारको अन्डामा १४२ क्यालोरी शक्ति, १३ ग्राम प्रोटिन र १० ग्राम चिल्लोपदार्थ हुन्छ । अन्डालाई अन्य खानेकुरासँग खाँदा राम्रो हुन्छ । अनुसन्धानकर्ता जंग इयुन किमका अनुसार अन्डाको पहेँलो भाग सागपातसहित खाने हो भने त्यसबाट शरीरलाई आवश्यक पौष्टिक पदार्थ प्राप्त हुन्छ ।