जिका भाइरसको जोखिम नेपालमा पनि

Newslaya Home

जिका भाइरसको जोखिम नेपालमा पनि

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । विशेषज्ञहरूले छिमेकी राष्ट्र भारतमा जिका भाइरस देखिएकाले नेपालमा समेत यसको जोखिम रहेको बताएका छन् । यसै साता भारतकी स्वास्थ्य एवं परिवार कल्याण राज्यमन्त्री अनुप्रिया पटेलले लोकसभामा बोल्दै सन् २०१७ को जनवरीमा अहमदाबादमा प्रयोगशाला प्रमाणित जिका भाइरस फेला परेको बताएकी थिइन् । जिका भाइरस बढी गर्मी हुने ठाउँमा संक्रमित एडिस लामखुट्टेको टोकाइले मान्छेमा सर्छ । यो लामखुट्टे दक्षिण एसियाका अन्य मुलुकसँगै नेपालमा समेत प्रशस्त भएको भन्दै विज्ञहरूले संक्रमणको जोखिम रहेको बताएका हुन् ।

जिका भाइरस सार्ने लामखुट्टेले चिकनगुनिया, डेंगु, येलो फिभरसमेत सार्छ । यो लामखुट्टेले मुख्य रूपमा बिहान र साँझ टोक्ने गर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म जिका भाइरस ८४ मुलुकमा विस्तार भइसकेको छ । एडिस एजेप्टी लामखुट्टेले सार्ने जिका भाइरस १९४७ मा पत्ता लागेको हो । तर धेरै वर्षसम्म अफ्रिका र दक्षिणी एसियामा यसको फाट्टफुट्ट संक्रमण मात्र देखिएको थियो । सन् २०१३ देखि जिकाको केस र प्रकोप अमेरिका, पश्चिमी प्रशान्त क्षेत्र र अफ्रिकामा देखिन थालेको हो ।

जिका भाइरस रोग गर्भवती महिलाबाट गर्भमा रहेको शिशुमा समेत सर्छ । रिपोर्टहरूअनुसार गर्भावस्थामा जिका भाइरसको संक्रमण देखिएका महिलाहरूको सन्तानमा मस्तिष्कसम्बन्धी जन्मजात दोष माइक्रोसिफली देखिन्छ ।