जीवनवादी कविका रुपमा खरेल : अक्षरमा मान्छेभित्र

Newslaya Home

जीवनवादी कविका रुपमा खरेल : अक्षरमा मान्छेभित्र

मङ्गलबार १७, साउन २०७४

पहिरोमा सपना खसे पनि
अडिने गोरेटो बाढीले बगाए पनि
नयाँ राजमार्ग बनाउँछन् स्वप्नदर्शीहरु

प्रस्तुत हरफहरु इटहरीलाई कर्मथलो बनाएर दशकभन्दा बढी समयदेखि लेखन र पत्रकारितामा आफूलाई सर्मिर्पत गरिरहेका रामप्रसाद खरेलको अक्षरमा मान्छे नामक कविता कृतिका हुन् । उनका महान वाणी, रे र रेडियो पत्रकारिता जस्ता फरक विधाका तीन पुस्तकहरु प्रकाशन भइसकेका छन् ।

डिकुरा पब्लिकेसन प्रा.लि. काठमाडौँको प्रकाशनमा आएको चौैथो पुस्तक कविता सङग्रहका रुपमा भने पहिलो कृति हो । सञ्चारका क्षेत्रमा प्रशिक्षक र प्रशासक दुवै रुपमा परीक्षित उनी दर्शन र सकारात्मक सोच फैलाउने अभियन्ताका रुपमा समेत परिचित भइ सकेका छन् । कविका रुपमा भने उनी यही कृति मार्फत परीक्षित हँुदै छन् । र, विचारपक्ष तथा विचार अभिव्यक्तिको पक्ष साथै कविताहरुमा व्यक्त शब्दचित्र र चरित्रलगायतका सबै पाटालाई समग्रमा हेर्दा भने उनी यस कसीमा सफल हुने सङकेतहरु देखिएका छन् ।
जीवनलाई केन्द्रमा राखी त्यससँग प्रेम, विद्रोह, ऊर्जा र भोगाइ गरी चार खण्डमा विभक्त उनको यस सङ्ग्रहको जीवन र प्रेम खण्डमा ११, जीवन र विद्रोह खण्डमा ९, जीवन र ऊर्जा खण्डमा ६ तथा जीवन र भोगाइ खण्डमा ८ ओटा गरी जम्मा ३४ ओटा कविताहरु सङगृहीत छन् । प्रायः यी सबै कवितामा कवि आशावादी जीवनप्रति सकारात्मक देखिन्छन् अर्थात् उनी जीवनवादी कविका रुपमा यथार्थको धरातलमा उभिएका छन् ।
पहिलो खण्डका उनका कविताहरुमा आफ्नो बुवाको मृत्युपछि एउटा छोरामा परेको शोकमा रचिन पुगेको आफ्नो वियोगान्त जीवनकथादेखि लिएर जीवन/बैँसको गतिशीलता परिवर्तनशीलता र क्षणभङ्गुर अवस्थाको चित्रण पनि पाइन्छ । आत्मिक प्रेमको आकाङक्षा, शान्ति, स्वतन्त्रता, लोकतन्त्र र स्वाभिमानप्रतिको सम्मान, प्रेयशी/पत्नीसँगको मिलनले सिर्जना गरेको आनन्द, सफल र सकारात्मक जीवन बँचाइका लागि कसैको सहयोगको अपेक्षा समेत प्रस्तुत गरिएको छ । कुनै पनि चीजको रुपभन्दा गुणलाई महत्त्व दिनु पर्ने कुरा पनि अगाडि सारिएको छ । समग्रमा यस खण्डका कविताहरु आशा, निराशा, संयोग, वियोग, प्रेम र जीवनदर्शनमा आधारित छन् ।
दोसो्र खण्डका कविताहरुमा मानिसको यथास्थितिवादी यथार्थप्रति व्यङ्ग्य मात्र गरिएको छैन, समतामूलक समाजको स्थापनासहितको क्रान्तियोद्धाको सपना पनि प्रस्तुत गरीएको छ स जस्तैः
उसले देखेको सपना यति हो
सन्ततिले पढ्ने अक्षरहरुमा
सबैको कथा भेटोस्
समाजको तस्वीरमा
आफूलाई पनि देखोस्
सङगीतका धुनहरुमा
विभेदरहित सबैका भाषा सुनोस्
(क्रान्ति योद्धा पृ.४१) ।

सपना बाँड्ने तर तिनलाई सम्भव तुल्याउन कुनै प्रयत्न नगर्ने नेपालका नेतृत्वकर्ताहरुमाथि मात्र नभएर शक्तिशालीहरुले शक्तिहीनहरुलाई हेप्ने वास्तविकताप्रति पनि आक्रोश व्यक्त गरीएको छ । धर्मका नाममा हुने ज्यादतीपुर्ण, देखावटी र आडम्बरी कार्यहरुप्रति असहमति प्रकट गर्दै विभेदकारी परम्पराको विरोध सहित वैज्ञानीकताको सर्मथनलाई अगाडि सारिएको छ । सिर्जनात्मक स्वरुपको शान्तिको कामनासहित युद्धको समाप्तिको अपेक्षा प्रस्तुत गरिएको छ । संसारकै शरणार्थीहरु र त्यसमा पनि नेपालमा शरण लिइरहेका बखत धेरै हदसम्म जबर्जस्ती तेस्रो मुलुकमा पुनर्वासका लागि पठाइएका भूटानी शरणार्थीहरुको बिथोलिएको मन र मुक्तिका लगि एक हुन गरिएको प्रयत्न पनि यहाँ अघि सारिएको छ । यसका साथै पढाइलेखाइबाट वा शिक्षादीक्षा पाउनबाट बञ्चित भए भने के हुन्छ भन्ने सन्दर्भ सुन्दर ढङ्गले यसरी अघि सारिएको छ –

कथम्कदाचित
अक्षरहरु बोल्न छाडे भने
वा
अक्षरहरुको जुलुस बन्द भयो भने
सम्झनू
संसारका मान्छेहरु
दास हुने छन्
केही मान्छेहरुको पिंजडामा
(अक्षरहरुको जुलुस, पृ.५७) ।

सङग्रहको तेस्रो खण्डमा जीवनमा लक्ष्यहरु प्राप्तिमा अनेक बाधा आइ पर्ने तर तिनलाई छिचोलेर निरन्तर सङघर्ष गर्दै अगाडि बढ्नु पर्ने ऊर्जाशील र आशावादी जीवनदर्शन अघि सारिएको छ । नवीन सभ्यताको खोजी गर्दैै वैज्ञानिक युगसँगै बाँच्ने चाहना पनि प्रस्तुत गरिएको छ । समयको गतिशीलता र परिवर्तनशीलतालाई आत्मसात गर्नु पर्ने सन्देश दिन खोजिएको छ । त्यस्तै स्वतन्त्र जीवनको तीव्र आकांक्षा चराहरुको उडान शीर्षकको कवितामा यसरी व्यक्त गरिएको छ –

मेरो निजत्व चरा हुन चाहन्छ
पूर्ण स्वतन्त्र मान्छे
मेरो समयको माग हो
उडन सकूँ स्वतन्त्रताको भाका बोकेर
जहाँ जहाँ उड्न चाहन्छु
(पृ.७१) ।

सङ्ग्रहको चौथो खण्डमा आफ्नै देश तथा आमा बाबु चिन्न नसक्नेहरुप्रति व्यंग्य गरिएको छ । देशभित्रै देश नभेटेका सीमान्तकृत व्यक्तिहरुको पीडा प्रस्तुत गरिएको छ । जीवनमा जीवन भर्न सक्ने लयबद्ध जीवनगीतको अपेक्षा गरिएको छ । सन्तान प्राप्तिमा आमाले संसारकै कठिनतम् प्रसव वेदना र उच्चतम् सुखानुभुति दुबैको बोध गरे पनि बाबुले ती दुबै गर्न नसकेको र त्यसमा बाबुलाई पीडा भएको कुरा मर्मस्पर्शी रुपमा प्रस्तुत भएको छ । मानव समाजको जबर्जस्तीको एकताभन्दा विविधताको स्वीकार्यतासहितको एकता उचित हुने वास्तविकता पनि व्यक्त गरिएको छ । जन्मदिनलाई मृत्युको नजिक पुगेको अवस्थाका रुपमा मात्र नबुझी जीवन र मृत्युलाई शास्वत सत्यका रुपमा स्वीकार्नुपर्ने जीवन दर्शनसमेत अघि सारिएको छ । काम र माम तथा परिवारका सदस्यहरुको मुस्कानको खोजीका लागि परदेशी हुन बाध्यहरुको पीडाबोधको प्रस्तुति झन मार्मिक देखिन्छ स जस्तै :–

जीवन खियाउँदै
हाँसोहरु बटुल्दै छु
गुँडका साना बचेराहरुका लागि
आफ्नो देशभन्दा धेरै पर
(आफ्नो देशभन्दा धेरै पर , पृ.८९)।

प्रस्तुतीकरणको शैलीमा खासै फरक नभए पनि र कतिपय कविताको भाव झण्डै उस्तै भए पनि समग्रमा यिनका कविताको विषयवस्तु विविध खालको देखिन्छ अनि यिनी प्रेम, जीवनदर्शन, मनोविज्ञान, राजनीति, विद्रोह, शान्ति, सम्मृद्धि, स्वाभिमान, स्वतन्त्रता, चेतना र दुरदर्शीता जस्ता विषयक्षेत्रको प्रस्तुतिसहित समाज परिवर्तनको अपेक्षा राख्ने प्रवृक्तिगत विशेषता भएका कविका रुपमा देखिन्छन् ।

अन्त्यमा रामप्रसाद खरेल नेपाली गद्य कविताका क्षेत्रमा यथार्थवादी धाराका समसामयिक कविका रुपमा थपिएका छन् । यिनका केही कविताहरुले अलिक उच्च स्तरका पाठकको अपेक्षा गरे पनि समग्रमा सुबोध नै छन् । सबै कविताहरु एकनाशले खिरिला र खँदिला नभए पनि ती विषयवस्तु र प्रस्तुति साथै बिम्ब र प्रतीक विधानका हिसाबले सबल र पाठकको मन जित्ने खालका देखिन्छन् । प्रायः कविताहरु आशावादी जीवनसँग सम्बन्धित छन् ।
९०ं५ पृष्ठको यस कृतिमा रहेका करिब डेढ दर्जन वर्ण्विन्यासीय त्रुटिहरुलाई आगामी संस्करणमा सच्याउन सके कृति अझ परिष्कृत हुने देखिन्छ । जे होस् नेपाली गद्य कविताका क्षेत्रमा उनको सम्भावना सबल देखिन्छ । समग्रमा प्रस्तुत कृति पठनीय छ भन्दा अत्युक्ति हुने छैन ।
...
(समिक्षक उपप्राध्यापक बराल त्रिवि पाठ्यक्रम विकास केन्द्र अनिवार्य नेपाली बिषय समितिको सदस्य समेत हुनुहुन्छ ।)