महिनावारीको समय छलेर घरमा आउने गर्थें

Newslaya Home

महिनावारीको समय छलेर घरमा आउने गर्थें

मङ्गलबार १७, साउन २०७४

एक साँझ मैले हिन्दी फिल्म ‘बेगम जान’ हेर्दै थिएँ । फिल्मको बिचतिर बिद्या बालनको एउटा संवादले चसक्क घोच्यो, ‘हमे महिने गिन्ना आता हे साप, हर बार साला ‘लाल’ करके जाता हे’ (हामीलाई महिना गन्न आउँछ साहेब, हरेक पटक आउँछ र ‘रातै’ बनाएर जान्छ) । यो वाक्य मेरो जिन्दगी थियो । अझौं भनौं, यसले मेरो जीवनको ठूलो हिस्सा एउटै वाक्यमा भन्यो । मैले सानोमा स्कुल पढ्दै गर्दा सुदूरपश्चिमको ‘छाउपडी प्रथा’को विषयमा धेरैपल्ट सुनें र पढें । तर, शहर र विकसित भनिने नेपालको अन्य भागमा पनि महिनावारीका विषयमा त्यो भन्दा जड कु–प्रथा रहेको बुझ्न म किशोरी हुनुपर्यो ।
म पहिलोपल्ट महिनावारी हुँदाको पीडा र त्यो भन्दा धेरै डर सम्झिएर अझै पनि निसास्सिन्छु । मलाई याद छ, पहिलोपल्ट महिनावारी हुँदा म आफ्नै घरमा बस्न पाइनँ । भोलिपल्ट परीक्षा थियो । महिनावारी भएको थाहा भएपछि मध्यरातमै घरबाट निस्कनु पर्यो । मैले आफ्नो घरको धुरी र बुवा एवं दाईको अनुहार हेर्नु हुँदैन थियो । यदी हेरेँ भने, मेरो घर, परिवार र समाजको आँखामा त्यो सबैभन्दा ठूलो पाप थियो । त्यो पापको परिभाषा मैले अहिलेसम्म बुझ्न सकेकी छैन । एउटा किशोरी मनमा यति नराम्रोसँग त्यो कुरा गाढियो कि डरको चँगुलबाट बाहिर निस्किन मलाई बर्षाैं कुर्नुपर्यो ।
जव म नर्सिङ पढ्न सुरु गरें । मैले बल्ल आफूलाई बिश्वास दिलाउन सकेँ कि महिनावारी प्राकृतिक कारण हो । यो कुनै पाप र सँस्कारसँग जोडिएको कुरा होइन । पहिले महिनावारिको समय छलेर घरमा आउने गर्थें, ता कि महिनावारीबाट आफूलाई छल्न पाइयोस् । तर, विस्तारै बिद्रोह गर्दै गएँ ।
मैले भोगेको समाजमा समस्या हामी नारी भित्रै छ । मेरो बुवालाई भन्दा समस्या मेरी आमाहरुलाई थियो । शायद उहाँले मैले भन्दा सयौँ गुणा कठोर जिन्दगी जिउनु भएको थियो । तर, त्यो पीडाले उहाँहरुलाई बिद्रोह र परिवर्तनको चेतना भन्दा पनि दिमागमा अन्धबिश्वासको जरो गाडिदियो । एउटा युग सकियो । परिवर्तन त आयो तर जति आउनुपर्ने थियो त्यति आउन सकेन ।
मैले अझै पहिलेदेखि आफूलाई पापको भ्रमबाट मुक्त गर्न सक्थेँ होला, यदि यसको विषयमा जानकारी चाँडै पाएकी हुन्थें भने । मलाई यत्रो वर्ष कुर्नु पर्थेन आफूलाई ‘पापको’ चँगुलबाट मुक्त गर्न । अहिले सबैको सहयोग छ । मैले आफूलाई कतै रोक्नु पर्दैन । भान्छा कोठा, पूजा कोठा, आफ्नो दैनिक जिन्दगी सबै । मलाई धर्म र संस्कार सिकाउने समाज भन्दा अगाडि मलाई सहयोग र साथ दिने परिवार र जीवनसाथी छ । अझ सबैभन्दा अगाडि मेरो आफ्नो आत्मबिश्वास छ । मेरो नजरमा महिनावारीको बेला शारीरिक, मानसिक र सामजिक हिसाबले जुन यातना दिइन्छ त्यो नै पाप हो ।
महिनावारी र महिला स्वास्थको कुरालाई स्कुल शिक्षाबाटै अझ प्रभावकारी बनाउन आवश्यक छ । कमसे कम स्कुलमा हामीले यसको बिषयमा खुलेर बहस गर्न सक्ने अवस्था आएको भए, आँखामा त्राश बोकेर स्कुलको बेन्चको कुनामा च्यापिएर बस्नुपर्ने थिएन । पछिल्लो समय बहसमा आएको ‘स्कुल नर्स’ पनि यो समस्याको समाधानका लागि एउटा महत्वपूर्ण बाटो बन्न सक्छ ।
मैले कति धेरै पढेको र महिला स्वास्थ्यमा बहस गर्ने शिक्षित दिदिहरु देखेको छु । जसले आफ्नो घरमा महिनावारी बार्नु हुन्छ । मैले उहाँहरुलाई यसविषयमा सोद्धा, ‘हामी धेरै बार्दैनौँ, अलिअलि मात्रै बार्छौँ भन्नुहुन्छ ।’ तर बिडम्वना मैले त्यो ‘अलिअलिको’ परिभाषा आजसम्म बुझ्न सकेकी छैन, न त वहाँहरुले नै बुझाउन सक्नु भएको छ ।
मैले कति धेरै साथीहरु देखेकी छु, जो नेपाल बाहिर बस्छन् । बाहिर उनीहरु महिनावारी बार्दैनन् । उनीहरु यो प्राकृतिक बिषय हो भन्ने कुरामा बिश्वस्त छन । तर, बिडम्वना नेपाल फर्किएको बेला उनीहरु भित्र लुकेको ‘पाप’को पीर फेरि फर्किएर आउँछ र महिनावारी बार्न थाल्छन् । कमसेकम घरमा बहस गर्नु र परिवर्तन गराउनु । होइन भने किन आफूले मानेर भर्खर हुर्किंदै गरेका किशोरीहरुको दिमागमा गलत नजिर स्थापित गर्नु ?
अन्त्यमा, महिनावारी भएर ऋषी पञ्चमीमा आफूलाई शुद्ध गराउने गरी हामीले कुनै पाप गरेका छैनौं । पहिले सुरुमा आफूसँगै बिद्रोह गरौँ, त्यसपछि आफ्नो परिवारसँग । समाज परिवर्तनशील छ, किनकी हामी आफैं पनि समाजको हिस्सा हौं ।