क.पुष्पलाल र इटहरीका शुुष्कलालहरु

Newslaya Home

क.पुष्पलाल र इटहरीका शुुष्कलालहरु

मङ्गलबार १७, साउन २०७४

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई नचिन्ने शुुष्कलालहरु अहिले छ्यासछ्यास्ती देखापरेका छन् । यसको अर्थ पुष्पलालको नामै नसुन्नेहरु छैनन् भन्ने कुरा होइन तर वैचारिक, दार्शनिक, गहन अध्ययन, अनुसन्धानात्मक, लेख र प्रकाशन तथा कार्यकर्ता मैत्री जस्ता पुष्पलालका गहन व्यक्तित्वलाई बुझ्ने नेता र कार्यकर्ताहरुको अभाव भने पर्याप्त देखापरेको छ । यहाँ भन्न खोजिएको कुराको चुरो यही हो ।
पुष्पलालले माक्र्सवादलाई गफ गर्ने विषय मात्र कहिल्यै बनाउनु भएन । तर अहिले गफ मात्रै लडाउने शुष्कलालहरुको भीड देखिन्छ । यही विगत स्थानीय चुनावमा कुनै कुनै नेतालाई प्रचारप्रसारको चापले भ्याइनभ्याइ देखियो । आफ्नै गृह नगर र जिल्लामा तिनले मिही तरिकाले घरदैलो झैँ घुमेर स्थानीय पार्टीमा देखापरेका आन्तरिक अन्तविरोध हल गरेरै चुनावी परिणाम आफ्नो पार्टीका पक्षमा हात पारेको देखियो तर तिनै मध्येका कतिपय नेता आफ्नै नगरमा मुखसम्म नदेखाउँदा इनरुवामा न्यून मतले नगर अध्यक्षमा हार व्यहोर्नु प¥यो ।
पुष्पलालले माक्र्सवादलाई व्यावहारिक जीवनमा उतार्न खोज्नु भयो । यसको अर्थ उहाँले माक्र्सवादलाई दैनिक जीवनको संस्कृति र संस्कारसित जोड्न खोज्नु भयो । तर शुष्कलालहरु माक्र्सवाद र जबजलाई जसरी पनि गरिखाने भाँडो र व्यक्तिगत शुभलाभको सिँढी बनाउन आतुर देखिन्छन् । ती मध्ये धेरैमा सेवाको भावना पटक्क देखिन्न ।
धरानमा त्यहाँका सभासद् तथा बौद्धिक व्यक्तित्व कृष्णकुमार राई चुनावमा अत्यन्त मिहेनतपूर्वक लाग्नु भयो र सफलताको उचाइमा पु¥याउन आफैँ सहित परिचालित हुनु भयो तर इटहरीको सभासद्ले चुनावमा लागिपरे झैँ मात्र गरे ।
समय उभारेर इनरुवासम्म गएर पार्टीका पक्षमा मत प्रभावित गर्न र प्रभाव विस्तार गर्न तिर ध्यानै दिएनन् । अहिले शुष्कलालहरु त माक्र्सवाद भट्याउँछन् तर तिनले मृत आत्माको चीरशान्तिको कामना गर्छन् । पुष्पलालले आफ्नो नाममा कहिल्यै जात, थर, धर्म र सम्प्रदाय उल्लेख गर्नु भएन तर अहिले त ब्राम्हण, क्षेत्री खलकका शुष्कलालहरु समेत जात र भातमा रमाउन थालेका छन् ।
पुष्पलालले उपल्लो र माथिल्लो र मझौला तहको पार्टी नेतृत्वलाई आफ्नो पदीय उच्च बौद्धिक र वैचारिक गरिमा कायम गर्न पठन संस्कृतिमा निर्लिप्त हुन निर्देश गर्नु भएको छ तर अहिलेका शुष्कलालहरु पठन संस्कृतिका दृष्टिले निख्लाम देखिन्छन् । त्यसैले अहिले एमाले लगायत पार्टीहरुका नेता र कार्यकर्ताहरुमा बौद्धिक, वैचारिक खासै अन्तर र फरक देखिन्न । पदीय हिसावले नेता र अगुवा कार्यकर्ता होला तर तदनुसारको ज्ञान र गुदी देखिन्न । जब यस खालका नेता बोल्छन् र प्रशिक्षण गर्न थाल्छन्, तिनको पोल त्यहाँ मजाले खुल्छ ।
कालो भादगाउँले टोपी मात्र ढल्काएर मदन भण्डारी हुन सकिन्न । ओली हुन रातको बाह्र बजेसम्म पढ्नुपर्छ र उहाँकै जस्तो अत्यन्त सिर्जनात्मक तीक्ष्ण दिल र दिमाग हुनुपर्छ । साँच्चो कम्युनिष्ट नेता हुन नपढी सुखै छैन । मनको मैलो साबुनले धोएर जाँदैन । गिदीभित्र जमेर रहेको पश्चगामी र अधोगामी लिदी सफा गर्ने अद्भूूत साबुन पठन, पठन र पुनः पठन नै हो ।

अझ त्यसमा पनि कला, साहित्य, संगीतको अध्ययन, श्रवण र यस सम्बन्धी सैद्धान्तिक ज्ञानको सूक्ष्म अगुवा नेतामा अपरिहार्य हुन्छ तर यस विषयको जानकारी र अभिरुचि शुष्कलालहरुमा शून्यप्राय देखिन्छ । साहित्यिक गोष्ठीमा बस्दा शुष्कलालहरुलाई हाइ आउँछ, पट्यार लाग्छ, वाक्क र दिक्क लाग्छ । समाजलाई गुणात्मक रुपमा फेर्ने कला, साहित्य र संगीतप्रतिको यो हदसम्मको वितृष्णाले किमार्थ समाज अगाडि बढ्दैन । यसरी पुष्पलाललाई चिनेको ठहर्छ ?
पूर्वको प्रमुख आकर्षणको केन्द्र इटहरीमा केशव बस्नेत र खेम काफ्ले लगायत इमान्दार एमाले कार्यकर्ताहरुको पहलमा इटहरी वार्ड नं ८ मा पुष्पलालको प्रतिमा स्थापना गरेका छन् । तिनले गरेको यही पुनीत कामले गर्दा यहाँको इज्जत धानिएको देखिन्छ । याम सुब्बा इटहरी नगर पार्टी अध्यक्ष हुँदा पार्टीको थातथलो बनेकाले यहाँका एमालेले गतिलो ओत पाएका छन् । नत्र ती अहिले पनि सुकुम्बासी नै हुने थिए । गर्नेभन्दा गराउने ठूलो हो । विगतमा इटहरी आसपासका केही ठाउँमा पार्टी भवन र कलाकार संस्थाको थातथलोका लागि जग्गा हेरीकोरी गरे पनि बेवास्ताका कारण सपनाहरु तुहेर गए । अर्थात् क.पुष्पलालका इटहरीका शुष्कलालहरुले आफ्नो क्षमता अनुसार काम गरेको देखिन्न । अझै पनि समय छ जननेता मदन भण्डारीको प्रतिमा स्थापना गर्ने दूरदर्शी सोच अहिलेको इटहरीको नगर नेतृत्वले बेलैमा सोचे हुने हो । व्याजै मात्र खाएर बस्न त सजिलै छ । साउँ आर्जन गर्न निक्कै मिहेनत पर्छ ।
इटहरीमा युवा, विद्यार्थी, वुद्धिजीवी, शिक्षक, प्राध्यापक, सर्जक, नेता, नेतृ लगायत व्यक्ति र व्यक्तित्वहरु मनग्गे छन् तर तिनको राप, ताप र प्रताप भने दिउँसै राँको बालेर खोज्नु पर्ने खालको देखिन्छ । इटहरीको यसपालिको निर्वाचनमा मुस्किलले बचेको पहिचानमा लक्ष्मणलाल चौधरी, कुलदीप पेस्कर, मलेछी चौधरी, प्रेमबहादुर कार्की, प्रमोद श्रेष्ठ, शेरबहादुर अम्बरहरुको पनि भरथेग रहेको छ । अहिले पनि त्यसै बेलाका प्रतिबद्ध नेता कार्यकर्ता रमेश बिस्ट र ओम कोइराला र सर्वध्वज साँवा जीवित साक्षी छन् भने लेखनी मार्फत् त्यसबेलादेखि अहिलेसम्म पनि आन्दोलनको हितका लागि घोटिइरहने ऋतु आसिक उर्फ ऋतुवर्ण पराजुली विराटनगरमा बसे पनि इटहरीलाई अघोर माया गरिरहन्छन् । तर पुराना धार, आधार बिर्सँदै जाँदा आन्दोलन कमजोर हुँदै जान्छ । विगत निर्वाचनमा खासै वास्ता नगरिएका यस नगर पार्टीका पूर्व सचिव तथा अध्यक्ष काजी फुयाँल, सोमराज पोखरेल, केशव बिस्टहरुको उपयुक्त हार्दिक पहल गराउन सकेको भए अझै जाती हुन्थ्यो । हार्रहुर्रमै चलेको यो निर्वाचन धन्न सफल भयो भन्छन् कार्यकर्ताहरु । यी सबै कुराहरु पुष्पलालबाट सिक्नु पर्ने सबालहरु हुन् ।
पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणा पत्र, पार्टीको पहिलो पर्चा, नेपाली इतिहास, कला, साहित्य र संस्कृतिको गहन अध्ययन गर्नुभयो । उहाँको यो अध्ययनले केही मौलिक प्रस्थापनाहरु प्नि गरेको छ । उहाँको अध्ययन ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणका आधारमा रहेको देखिन्छ । त्यसैले पुष्पलालले आजको नेपाल, हिजोको इतिहासबाट विकसित भएको हो भन्नु भएको छ । त्यसैले उहाँले हामीले आफूलाई आफ्नै देशको गौरवशाली पूर्व इतिहासबाट अलग गर्नु हुँदैन पनि भन्नु भएको छ । त्यसैले साहित्यिक, राजनैतिक, सामाजिक तथा आर्थिक लगायत नेपाली इतिहासलाई र त्यस कालखण्डका सकारात्मक पक्षलाई जगेर्ना गर्ने कुरा पुष्पलालले बताउनु भएको छ । उहाँले भानुभक्त आचार्य र पृथ्वीनारायण शाहको योगदानको कदर पनि गर्नु भएको छ । इतिहास, वर्तमान र भविष्य बोध गरेर मात्र सही बाटो फेला पर्छ । पठन र लेखन संस्कृतिमा डुब्नुपर्छ अनि मात्र आफूलाई अन्तहृदयदेखि फेर्न सकिन्छ ।
पुष्पलालले कम्युनिष्टहरु वर्ग पक्षधर दृढ पनि हुन्छन् र सोकल्ड कम्युनिष्ट पनि हुन्छ्न् भन्नु भएको छ । उहाँले पार्टीमा कम्युनिष्ट भनाउँदाहरु पनि हुन्छन् भन्नु भएको छ । उहाँले पार्टी भन्नाले सैद्धान्तिक रुपले सबभन्दा चेतनशील अगुवा, दस्ता, संगठित र अनुशासनबद्ध मजदुर वर्गको प्रतिनिधिहरुको दल हो भन्नु भएको छ । तर अहिले त लबीगत निकृष्ट गुटका लागि संगठित सदस्यको संख्या बढाउने मात्र ध्याउन्ना देखिन्छ । पुष्पलालले पार्टी दस्तावेजमा नेता कार्यकर्ताहरुलाई घमण्डी नहुन सल्लाह दिनुभएको छ ।
तर शुष्कलालहरु बोलीवचन, व्यवहार, अनुहार, इसारा र आकृति आदि हरेक दृष्टिले शुष्क, ठुष्क र भुक्क फुलेका देखिन्छन् । हजार सिद्धान्त भन्दा एक व्यवहार ठूलो र प्रभावकारी हुन्छ भनेझैँ त्यही व्यवहारले धेरै ठाउँमा अन्य पार्टीका प्रमुख लगायतका पदका उम्मेदरवारले एमालेलाई पछारे । अझ जनताको मन जितेर राजकीय र राजनीतिक नेतृत्व हाँसिल गर्नुपर्छ भन्ने नीति नेता र अगुवा कार्यकर्ताको व्यवहारमा पूरै उल्टो परेको छ । पुष्पलालले नेताहरुलाई सिद्धान्तनिष्ठ, अनुशासनबद्ध र हुनुपर्ने बताउनु भएको छ तर यही साउन ५ गतेको कान्तिपुर हेडलाइनमा एमाले नेता सुरेन्द्र पाण्डेले एमाले पार्टी र यसको प्रमुख नेतृत्वलाई आर्थिक अनियमिततामा घुमाउरो रुपमा पत्रकारले मुछेकामा सही थाप्दै थिए ।
प्रसंग नेपालमा अहिले चलिरहेको अनेक भ्रष्टाचार र कालीगण्डकी ठेक्का प्रकरणको विरोध एमाले पार्टीले किन नगरेको हो भन्ने सबाल वार्तामा उठेको थियो । यस्ता विषयमा स्पष्ट जवाफ दिनुपर्दैन ? खै कोनि, के हो, हो कि यही हो नेताको अनुशासन ? यस खालका विषय जुन नेताले पनि उठाउँदा अपराध हुन्छ र ?
जस जति सबै आफैँ लिने अनि सारा अपजस अरुको थाप्लोमा भिराउने नियतले कहीँ पुगिँदैन । त्यसमा पनि अहिलेको स्थानीय निर्वाचनको जुन लहर एमालेमा आएको छ त्यो त प्रमुख नेतृत्वको हो भन्ने कुरा आम जनताले बुझेको कुरा हो नि । ढाँटेको कुरा काटे मिल्दैन क्या ? पुष्पलालले पार्टीका नेता र अगुवा कार्यकर्ताले आम कार्यकर्ताका जिज्ञाषा, सुझाव र आलोचना राम्ररी सुन्नुपर्छ भन्नु भएको छ तर के अहिले यस खालको व्यवहार पार्टीका नेता र अगुवा कार्यकर्तामा छ ?