मैले देखेको 'अन्तरघात' र अबको बाटो

Newslaya Home

मैले देखेको 'अन्तरघात' र अबको बाटो

मङ्गलबार १७, साउन २०७४

चुनाव हुन्छ कि हुँदैन भन्ने शंका–उपशंकाको बिचमा तीन चरणमा नै भएपनि पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । अब तेस्रो चरणको निर्वाचन पनि राम्रो तरिकाले सम्पन्न हुँदैछ । दुवै चरणको निर्वाचन सम्पन्न भएको ठाउँमा धमाधम स्थानीय सरकार बन्दै छन् । वर्षौंदेखि थन्किएका जनताका कामहरु, विकासका कामहरु सुरु हुन थालेका छन् ।
देशै भरीको चुनावी परिणाममा नेकपा एमाले पहिलो पार्टी भएको छ । आइतबार अध्यक्ष निवास बालकोटमा बसेको स्थायी समितिको बैठकले केक काटेर खुसियालीसमेत मनाएको छ । पार्टीको गरिमा सगरमाथाको उचाइमा पुगेको बेला पनि चुनावमा सोचेजति परिणाम आउन सकेन । त्यसका विभिन्न कारणहरु छन् ।
लामो समय निर्वाचनमा भाग लिन नपाएका र उम्मेदवार हुने इच्छा राखेका सबैको इच्छा पुरा हुन नसक्नुले, गुटबन्दी गर्न हुँदैन भन्नेका नाममा गुटबन्दी गर्नाले यो पटकको निर्वाचनमा अन्तर्घातको सामना नेकपा एमालेले गर्नुपर्यो । जसको कारण एमालेको आफ्नो पकड रहेको लालकिल्ला भनेर नामाकरण भएको ठाउँमासमेत अर्कैको किल्ला स्थापित भएका छन् । आफू र आफ्नो गुटका बाहेक अरुको अस्तित्व नदेख्ने फटाहा चस्माको कारण आफ्नैलाई हराउने अनि हारमा रमाउने खेल भएको छ ।
कतिपय निर्वाचित नगरका वडाहरुमा बहुमत अध्यक्ष नआए पनि सदस्य बहुमत आएका छन् । यस्ता मुडकट्टा जितिएका वार्डहरुको बारेमा बैठक बसेर अन्तरघात गर्न अहोरात्र खटिनुहुने प्रिय कमरेडहरुलाई पार्टीले अप्रिय हुने गरि कठोर कार्वाही गर्नुपर्छ । १२ मतले पराजित भएको वार्डमा २७३ वटा मतपत्र मा अध्यक्षलाई बिगारेर अरुलाई दिइएको भेटिएको छ । सात सूर्यमा एक अन्त हुन्छ ? ‘आठ सूर्य सात छाप नेकपा एमाले जिन्दावाद’ नारालाई ‘आठ सुर्य छ छाप’ भएको देखियो । मियो भएर बसेका नेतृत्व निष्क्रिय भैदिँदा पनि कार्यकर्ताबिच नैराश्यता छायो ।
एमालेको नाममा जो उठाए पनि जित्छ भन्ने सोचेर आफ्नो अनुकुल हुने व्यक्ति, आफ्नो प्रिय पात्रलाई उठाउन खोजियो, जुन अहिलेका सचेत कार्यकर्ता पंक्तिले रुचाएनन् । यसलाई जनताको तहमा छताछुल्ल पार्ने प्रयासमा अन्तरघातको रुप प्रस्तुत भयो । दिन भरी पार्टी को आधिकारिक सूर्य ध्वजाबाहक उम्मेदवार सँग हजारौंको संख्यामा घर दैलो कार्यक्रममा सरीक हुने अनि अध्याँरोमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्धको आवाजलाई बुलन्द पार्ने काम भएको प्रमाणित छ ।
गुटबन्दी गर्न हुँदैन भन्ने नाममा अझै धेरै गुटबन्दी हुन थाल्यो । हामी कहाँ उम्मेदवार चयनमा कमि कमजोरीहरु भएका छन् । भएका उम्मेदवारहरु को प्रस्तुतिले कतिपय ठाउँमा असर गरेको पाइन्छ । उम्मेदवारको दम्भ शैलीमा सुधार नहुँदा पनि जनताको मन विपक्षीले जिते । निर्वाचनमा खटिने टिमबिच आन्तरिक सहकार्य नभै टिमवर्क फितलो हुनु पनि हाम्रो कमजोरी थियो ।
अर्को हाम्रो भुल छिमेकी जिल्लामा रहेका आफ्ना मतदातालाई मतदान स्थलमा उपस्थित गराउन नसक्नु पनि हो । आफ्ना मतदातालाई मत को अस्तित्व बारेमा सचेत गराउन नसक्नु, युवा परिचालनमा कमि कमजोरी हुनु र यो ठाउँ त हाम्रो लालकिल्ला हो, अरु त कोहि आउन सक्दैनन् भन्ने दम्भको चरम रुपलाई पनि जनताले नियालेको पाइयो ।
भोट माग्न जाने क्रममा ती त जमाना देखि एमाले हुन् भन्दै वास्ता नगर्नु र इतर पार्टीको मतदाता बिच पुग्न नसक्नु पनि कारक हुन् । यसैगरी, पार्टी कमिटीभित्र जिम्मेवारी लिन तयार हुने रहर गर्ने, तर कार्यान्वयन बेला पन्छिने प्रवृत्तीले पनि एमालेलाई निकै ठूलो असर गर्यो ।
उम्मेदवार तथा नेतृत्वको दम्भ शैलीले पनि मतदातालाई विकर्षण गर्यो । नमस्ते गर्ने भन्दा पनि खाने मनोभावना बोक्नु अनि कसैले नमस्ते भनिदिँदा पनि वेवास्ता शैलीमा ‘नमस्ते नमस्ते’ भन्नुलाई मतदाताले मन पराएनन् । गौरवशाली पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुले आगामी दिनमा यी कुराहरु सच्याउनु जरुरी छ ।
चुनावपछि पार्टीको स्थायी समितिको बैठक बसेको छ । अब जिल्ला तहको बैठक बस्दा पार्टीलाई सुधृढिकरण गर्न र साँच्चिकै कम्युनिस्ट पार्टी बनाउन हामी कहाँ हराउँदै गएको आलोचना–आत्मालोचना भन्ने शीर्षकलाई पुनः जीवन दिइनुपर्छ । हिजो चुनावी अभियानमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध अन्तरघात गर्नेहरुका विरुद्ध पार्टी नेतृत्व गम्भीर हुनैपर्छ । अब बस्ने बैठकमा एउटा एजेन्डा अन्तरघात बनिनुपर्छ र अन्तरघात गर्नेहरुलाई कडा कारवाही गरीनुपर्छ । दिनभरी पार्टीको आधिकारिक उम्मेदवारसँग घर दैलो कार्यक्रममा भोट माग्न हिड्ने र साँझ परेपछि विपक्षीको लागि भोट माग्ने कसरी आफ्नो पार्टीको संगठित सदस्य बन्न सक्छ ?
जे होस्, अब नेकपा एमाले पहिलो पार्टी भएको नाताले पनि देशैभरी जनताको प्यारो पार्टी बन्नुपर्छ । नारामा मात्रै होइन, यथार्थमा नै जनताको मत र मनको प्रतिनिधित्व गर्नुपर्छ । संविधानले अहिलेको स्थानीय तहलाई मेयर, उपमेयर, वडा अध्यक्षलाई छुट्टाछुट्टै अधिकार दिएको छ । अहिलेको स्थानीय तह साँच्चिकै स्थानीय सरकार नै हो । अब २० वर्षदेखि ब्रेक लागेर थन्किएको विकासका कामहरुलाई एक पछी अर्को प्राथमिकताको आधारमा दौडाउनु पर्छ । नत्र स्थानीय निकायमा भएका काम कर्तव्य र अधिकार प्रदेश र केन्द्रमै फर्कन सक्छ । पुनः सिंहदरबार तिर फर्कन सक्छ ।
त्यसैले आफू र आफ्नो व्यक्तिगत सुविधाभन्दा अलि पर बसेर जनताको काम गर्नपर्छ । हिजोसम्म पार्टीको नेता तथा कार्यकर्ता आज जनताको प्रतिनिधि बनेको पार्टीको कारणले हो, त्यसैले पार्टीको उचाईलाई थप उचाइमा पुर्याएर समाजमा उदाहरणीय व्यक्ति बन्नुपर्छ । पार्टीलाई अझै श्रेष्ठतामा राख्ने गरि काम भए आगामी दुई नम्बर प्रदेशको स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र केन्द्रको निर्वाचनमा पनि हामी पहिलो पार्टी बन्ने सुनिश्चित छ ।
यसका लागि पार्टी अनि पार्टी नेतृत्वविरुद्ध फिँजाइएका भ्रम र आलोचनाहरुलाई जनताको बीचमा स्पष्ट पारी आम जनताको अधिकारलाई प्रयोग गराउदै स्थानीय तहलाई बलशाली बनाउनु पर्छ । यानिकी सबैखाले आधिकारमा आम जनताको पहुँच होस्, आम जनताले स्थानीय सरकारको प्रत्याभूत गर्न सकुन् ।
(केन्द्रिय सदस्य, नेकपा एमाले युवा तथा खेलकुद विभाग)